+
+
Shares
सुन तस्करी प्रकरण :

संगठित अपराधसहित तीन कसुरमा हुनेछ पूर्वसभामुख महरामाथि अनुसन्धान

माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख महरा दोस्रोपटक पक्राउ

महरामाथि भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज २६ गते २१:१५

२६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गर्‍यो ।

रोल्पा घर भएका ६८ वर्षीय महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ ।

सीआईबीका निर्देशक तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार भेपमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न महरालाई पक्राउ गरिएको हो ।

अब उनीमाथि मुख्यगरी तीन वटा कसुरमा अनुसन्धान हुनेछ । जसमा भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ बताउँछन् ।

महरा १० पुस २०७९ मा दुबईबाट हवाईमार्ग हुँदै भेपको स्वरूपमा काठमाडौं भित्रिएर गायब भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक ली हानसोङले २ वटा सुटकेस ल्याएका थिए ।

उक्त सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप थिए । दुई वटा सुटकेस शंकास्पद देखिएपछि जाँच गर्दा भेप देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपको स्वरूपमा सुन भित्रिएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । तर सुन भने भेटिएको थिएन । यही सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भन्दै अहिले महरा पक्राउ परेका हुन् ।

यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटेका थिए ।

महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अदालतले उपचार गराउन आदेश दिएको थियो । त्यसपछि सरकारी वकिलसँगको छलफलपछि महरा हाजिरी जमानीमा छुटेका थिए । त्यतिबेला भने महराविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता भएन ।

महरामाथिको अनुसन्धान फाइल सीआईबीमै रोकिएको थियो । अहिले सोही प्रकरणमा उनी हाजिरी जमानीमा छुटेको दुई वर्षपछि फेरि महरा पक्राउ परेका छन् । एउटै मुद्दामा दोस्रो पटक किन पक्राउ परे भन्ने प्रश्नमा सीआईबीका अधिकारी भने थप केही प्रमाण देखिएको दाबी गर्छन् ।

यसअघि सुन तस्करी जाँचबुझ आयोगले समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएको र केही विषयहरू थप खुलेको दाबी सीआईबीको छ ।

सुरुवाती अनुसन्धानको क्रममा महरा अनुसन्धानको राडरमा थिएनन् । भन्सारमा रोकिएको सुन छुटाउन फोन गर्दै दबाब दिएको भन्ने विषय सार्वजनिक भएपछि महरालाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग भने महरालाई मुद्दा चलाउनुपर्ने भनेर सिफारिस नै गरेको थियो । १ चैत २०८० आचार्य नेतृत्वको आयोगले प्रतिवेदन बुझाएपछि महरा ५ चैतमा पक्राउ परेका थिए । एउटै कसुरमा दोस्रो पटक पक्राउ परेका महराको मुद्दा अब कसरी अघि बढ्छ भन्ने चासोका साथ हेरिएको छ ।

भन्सारले बारमद गरेको भेप लिलामी गरिदिन भन्दै पूर्वसभामुख महराले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई फोन गरेका थिए । लिलामीबारे छोरा राहुल कुरा गर्न आउने भन्दै ताकेता गरेको भन्सारका कर्मचारीहरूले प्रहरीसमक्ष बताएका थिए ।

त्यसपछि शंका लागेर हेर्दा भेप साटफेर भइसकेको खुलेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । राजस्वबाट यो सुन तस्करीको अनुसन्धान सीआईबीलाई दिइएको थियो । सीआईबीको अनुसन्धानमा प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वमा आयोग बनाएर भेप र ६० किलो सुनको छानबिन गर्न कार्यादेश दिइएको थियो । त्यसपछि आयोगले कृष्णबहादुर महरा र केही चिनियाँहरूको सुन तस्करीमा लगानी गरेको दाबी गरेको थियो ।

आयोगले चिनियाँ नागरिक दावाजिन वाङले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवन गुरुङको नाममा रहेको डस्टर गाडी सुन तस्करीमा प्रयोग भएको उल्लेख गरेको थियो । पछि उनै गुरुङले महरालाई दिएको आयोगले उल्लेख गरेको थियो ।

छोरा छुटे, बाबु समातिए

महरा मात्रै होइन, यही भेपको सुन तस्करी प्रकरणका उनका छोरा राहुल पनि जोडिएका थिए । १३ भदौ २०८० मा सीआईबीले राहुललाई पक्राउ गरेको थियो ।

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावासँग राहुलको पटकपटक टेलिफोन सम्पर्क भएको देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

भेप प्रकरणको पहिलो मुद्दामा राहुल महरा सुन किन्ने समूहमा रहेको खुलेको छ । उनीहरूले कुराकानी गर्ने जी-लिंक च्याटमा राहुल सुन किन्ने समूहमा रहेको देखिएका थिए ।

भन्सार कार्यालयका कर्मचारीहरू मुक्तिप्रसाद श्रेष्ठ र अरुण पोखरेलले आफूहरूलाई राहुल महराले भेप छुटाउन दबाब दिएको भनी मौकाको कागज गरेका थिए । कल डिटेल्स विवरणमा पनि राहुलले भन्सारका कर्मचारीलाई फोन गरेको भेटिएको थियो ।

२६ असोज २०८० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । पछि उनी यो मुद्दामा दोषीसमेत ठहर भए । राहुललाई १४ महिना कैद सजाय सुनाइएको थियो ।

सजाय भुक्तान गरेर १३ कात्तिक २०८१ मा उनी केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका थिए । छोरा रिहा भएको एक वर्ष पूरा हुनै लाग्दा त्यही मुद्दामा फेरि बाबु कृष्णबहादुर पक्राउ परेका छन् ।

भेप प्रकरणमा सम्पत्ति शुद्धीकरणको पनि मुद्दा

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा सीआईबीले सुरुमा २९ असार २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

भन्सार ऐन, २०६४ अन्तर्गतको कसुर, आपराधिक लाभ र संगठित अपराधको कसुरमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

नासु खड्कासँगै विमानस्थलका सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी साहेब राव पाण्डुराम मगरले र वेदप्रसाद अग्रवालविरुद्ध मुद्दा दायर गरिएको थियो । त्यतिबेला अमृत साधारण तारेखमा रिहा भएका थिए भने बाँकी पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

१६ भदौ २०८१ मा काठमाडौं जिल्ला अदालतले फैसला गर्दै खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यस्तै, वेदप्रकाश र साहेब रावलाई जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो ।

राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो । भेपमार्फत आएको सुन बेचेर जग्गा खरिद गरेको खुलेपछि उक्त जग्गा जफतको फैसला भएको थियो ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले गत पुसमा नासु खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मगरले, राहुल महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । यो मुद्दा अहिले पनि विचाराधीन अवस्था छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?