+
+
Shares

गोकर्ण र योगेशले राजीनामा मागेपछि ओलीले भने- मैले किन छाड्ने ?

‘अब तपाईले सम्मानजनक निकास दिएर पुनर्गठनको बातावरण निर्माण गर्नुपर्छ भन्ने मत दुवै जनाले राख्नुभयो,’ बैठक स्रोतले भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २२:०९

२६ असोज, काठमाडौं । नेकपा एमालेका सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा सचिवद्वय विष्ट र भट्टराईले जेनजी पुस्ताको आन्दोलनपछि विकसित परिस्थितिमा ओलीले अध्यक्षबाट राजीनामा गर्नुपर्ने बताएका हुन् ।

‘अब तपाईले सम्मानजनक निकास दिएर पुनर्गठनको बातावरण निर्माण गर्नुपर्छ भन्ने मत दुवै जनाले राख्नुभयो,’ बैठक स्रोतले भन्यो । अध्यक्षबाट राजीनामा गर्दा ओली र पार्टीको पनि हित हुने विष्टले तर्क गरेका थिए । ‘सम्मानजनक निकासले तपाईंलाई पनि हित गर्छ, पार्टीको पनि हित हुन्छ । यो बुझ्नुपर्छ,’ विष्टले भनेका थिए ।

जेनजी पुस्ताको विद्रोहलाई विदेशी षडयन्त्र भनेर भाग्न नमिल्ने उनको तर्क थियो । ‘बाहिरी शक्तिहरूले हाम्रो जस्तो मुलुकमा खेल्न खोजिरहेकै हुन्छन् । उनीहरुले पटकपटक अस्थिरता पैदा गर्न खोज्छन्,’ विष्टले बैठकमा भने, ‘तर त्यस्तो चलखेलबाट जोगिने कामको नेतृत्व सरकारले गर्नुपर्ने हो, त्यसो हुन सकेन ।’

सडकबाट सत्ता पलट हुने तहको घटनाबारे सूचना लिन नसक्नु, सावधानी अपनाउन नसक्नु शासकीय अयोग्यता रहेको बिष्टले तर्क गरेका थिए ।

गोकर्ण विष्टजस्तै योगेश भट्टराईले पनि ओलीको राजीनामा स्वयं उनकै हितमा रहेको तर्क गरेका थिए । भट्टराईले ओलीलाई ‘लिडर अफ रिकन्सिलेसन’ बन्न पनि आग्रह गरेका थिए ।

ओलीले इतिहासमा केही मानक निर्माण गरेको र त्यसलाई स्थापित गराउन पनि सम्मानजनक निकासको मार्ग प्रशस्त गर्नुपर्ने भट्टराईको तर्क थियो । ‘तपाईंले केही मानक निर्माण निर्माण गर्नुभएको छ । राष्ट्रियताको अडानमा, मेघा पूर्वाधारहरूमा, अन्तर्राष्ट्रिय मञ्चहरूको प्रतिनिधित्वहरूमा तपाईंले मानक निर्माण गर्नुभयो,’ भट्टराईले भनेका थिए, ‘अब तपाईं आफ्नो भूमिका बदल्ने टर्निङ प्याइन्टमा हुनुहुन्छ ।’

माओवादी द्वन्द्वबाट उत्पन्न समस्याहरू अझै हल हुन बाँकी रहेको, देशभित्रै राष्ट्रिय एकताका निम्ति काम गर्नुपर्ने गर्नपर्ने जस्तो आवश्यकता औल्याउँदै ओलीलाई ‘लिडर अफ रिकन्सिलेसन’ बन्न भट्टराईले आग्रह गरेका थिए ।

तर पार्टीको नेतृत्व भने छोड्न उनको आग्रह थियो । ‘पार्टीको नेतृत्व हामीलाई छोडिदिनुस्, हामी चलाउँछौं । तपाईँको सल्लाह लिएरै चलाउछौं,’ भट्टराईको माग थियो ।

जवाफमा ओलीले आफूले कुनै कमजोरी नगरेकाले राजीनामा नदिने अडान लिएका थिए । ‘दुई जनाले राजीनामा माग्नुभयो, मैले किन छोड्नेुपर्ने ?,’ ओलीले राजीनामा नगर्ने जवाफ दिएका थिए । पार्टी नेतृत्वको निर्णय महाधिवेशनबाट हुने ओलीले बताएका थिए ।

‘जेन गर्नुपर्ने हो, त्यो महाधिवेशनबाट हुन्छ,’ ओलीले भने, ‘मैले कमजोरी पनि गरेको छैन, अहिले छोड्नुपर्नेगरी ।’

बैठक स्रोतका अनुसार, गोकर्ण र योगेश बाहेक अरु सचिवहरूले भने महाधिवेशनबाट पार्टी पुनर्गठन गर्न सकिने पक्षमा मत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?