
२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गरेकी थिइन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए ।
आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए ।
‘२ दिन अगाडि मैले निर्वाचन आयुक्तलाई बोलाएको थिएँ । कुराकानी, छलफल गरियो । निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ । उनीहरुले आफ्नो कार्यतालिका भित्र राखिसके । अब सरकारसँग समन्वय गरेर, तपाईंसँग समन्वय गरेर अघि बढ्ने भन्नेसम्मको कुरा भएको छ’ अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष राखेका छन् ।
आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसकारण माघ दोस्रो साताभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यतामा निर्वाचन आयोग छ ।
अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गर्ने कुरामा प्रधानमन्त्री कार्की सकारात्मक छन् । दाहालका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राखेकी थिइन् ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् । यो व्यवस्थामा जेनजीले मतदान गर्न पाउने भन्ने छैन । अध्यक्ष दाहालले निर्वाचनको मतदाताबारे राजनीतिक दलहरूसँग छलफल गर्न सकिने सुझाव दिएका छन् । ‘चुनाव गराउने कुरामा उहाँ (प्रधानमन्त्री) पोजेटिभ नै हुनुभयो । उहाँले निर्वाचन गर्ने हो’, दाहालले भनेका छन्, ‘जेनजी ल्याउने सन्दर्भका कुरा पनि भए । जेनजीको पनि जल्दोबल्दो कुरा छ ।’
भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका सांसदहरू भएकाले थप छलफल राजनीतिक दलहरूसँग कुरा गर्न सकिने सुझाव दिएको दाहालले बताए ।
‘अब राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिँए । त्यसका लागि सरकारले राजनीतिक सहमति गर्नुपर्यो दलहरुसँग । किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन’, दाहालले भनेका छन्, ‘यो बारेमा पनि अलिकति कुरा भयो ।’
निर्वाचनमा जाने र ठूलो अप्ठ्यारो पनि नरहेको उल्लेख गर्दै उनले असुरक्षाको विषय नरहेको बताए । ‘सात वटा प्रदेशमा गर्ने कुरा भएको हुनाले निर्वाचन गर्ने भन्नेकुरा भयो’, अध्यक्ष दाहालले भने ।
आगामी फागुन २० मा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल सकिंदैछ । राष्ट्रपतिबाट मनोनीत सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनीत गर्छन् ।
बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाकै अध्यक्ष दाहालसँग छलफल गरेका हुन् ।
आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।
आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।
प्रतिक्रिया 4