
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीमा वर्षौं बाँझो जमिनमा भविन्द्र घर्तिमगरले व्यावसायिक फूल खेती सुरु गरी टनेलभित्र दुई हजारभन्दा बढी सयपत्रीका बिरुवा फुलेका छन्।
- स्थानीय तहले कृत्रिम फूल निषेध गरेपछि फूलको माग बढेको छ र गुल्मीमा करिब १०० रोपनी क्षेत्रमा फूल खेती भएको छ।
- भविन्द्रले तरकारी खेती र माछापालन गर्दै रेसुङ्गा एग्रो बिजनेस कन्सर्नमार्फत तरकारी संकलन केन्द्र स्थापना गरी रोजगारी र आत्मनिर्भरता बढाएका छन्।
२९ असोज, गुल्मी । गुल्मीमा वर्षौंसम्म बाँझो रहेको जमिन अहिले ढकमक्क फूलले ढाकिएको छ । रेसुङ्गा नगरपालिका–३ स्थित गुठको जग्गा धुर्कोट गाउँपालिका–३ का कृषक भविन्द्र घर्तिमगरले सुरु गरेको व्यावसायिक फूल खेतीले ढकमक्क छ ।
तिहारको मुखमा उनका खेतभरि रंगीचंगी सयपत्री फूलहरू फुलेका छन्, जसले वरपरको वातावरणको रूप नै फेरिएको छ ।
भविन्द्रले केही वर्षयता जग्गा भाडामा लिएर तरकारी र फूल खेती गर्दै आएका छन् । तिहार नजिकिँदै गर्दा फूलको माग बढ्ने भएकाले यस वर्ष उनले सयपत्री फूल उत्पादनमा विशेष ध्यान दिएको उनले बताए ।
गत वर्ष टनेलभित्र र बाहिर गरेर करिब तीन हजार फूल उत्पादन गरेका उनले यसपटक सबै फूल टनेलभित्रै लगाएका छन्, किनभने बाहिर लगाइएका फूल छिट्टै कुहिने उनको अनुभव छ । ‘अहिले टनेलभित्र करिब दुई हजारभन्दा बढी सयपत्रीका बिरुवा फुलिरहेका छन् । माघ–फागुनसम्म फूल उत्पादन गर्न सकिन्छ होला,’ उनले भने ।
उनका अनुसार अहिले बजारमा फूल प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भइरहेको छ । जिल्लाका केही स्थानीय तहले मेला र पर्वमा कृत्रिम फूलका माला निषेध गरेका कारण यस वर्ष स्थानीय उत्पादनको माग बढेको छ । यसले जिल्लामै व्यावसायिक फूल खेतीको सम्भावना देखाएको घर्तिमगर बताउँछन् ।
गुल्मी जिल्लामा उत्पादित फूलहरू अहिले तम्घास बजारमा बिक्री हुँदै आएका छन् । तिहार, विवाह, पूजाआजा तथा अन्य धार्मिक र सामाजिक कार्यक्रमहरूमा फूलको माग उच्च हुने भएकाले किसानलाई बजारको चिन्ता खासै छैन । पहिले गाउँघरमा वरपर मागेर माला बनाउने चलन थियो, तर अहिले व्यावसायिक फूल खेती बढेसँगै त्यो अभ्यास क्रमश: व्यवसायीक रुपमा परिणत भएको छ ।
गत वर्ष जिल्लामा करिब १०० रोपनी क्षेत्रमा फूल खेती भएको तथ्यांक कृषि ज्ञान केन्द्रमा छ । तर, अघिल्लो वर्ष उत्पादन बढी र बिक्री कम भएपछि यस वर्ष केही किसानले मात्र फूल खेती गरेको केन्द्रले जनाएको छ ।
भविन्द्रले विगत केही वर्षदेखि जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती र माछापालन पनि गर्दै आएका छन् । उनका अनुसार, उनले करिब २५ टनेल र खुला खेतमा गोलभेंडा, काँक्रो, बोडी, फूलगोभी, बन्दा, धान, मकै लगायत मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् ।
२०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्सर्न नामक कम्पनीमार्फत उनले तम्घासमा तरकारी संकलन केन्द्र स्थापना गरेका छन्, जसले उत्पादनसँगै बजारीकरणलाई सहज बनाएको छ । यसले स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यावसायिक सोच विकास गर्न प्रेरणा दिएको छ ।
उनको कठिन परिश्रमले स्थानीय स्तरमा रोजगारी, आम्दानी र आत्मनिर्भरतालाई बल पुर्याएको छ । अहिले भविन्द्रको फार्ममा दैनिक चार जनाले स्थायी रूपमा रोजगारी पाएका छन् । कहिलेकाहिँ आवश्यकताअनुसार थप जनशक्तिलाई पनि काममा लगाउने गरेको उनले बताए ।
भविन्द्र घर्तिमगरको परिश्रम गाउँमै आत्मनिर्भरताको उदाहरण पनि बनेको छ ।
प्रतिक्रिया 4