
३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान आठ बजेदेखि सुरु हुँदै छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।
धारणा राख्न हरेक केन्द्रीय सदस्यहरुलाई ३ मिनेटको समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोतिर (ज्ञ बाट) पालो मिलाइएको छ । सबैले बोलेर सकियो भने अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने छन् ।
हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया 4