
३० असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने पनि बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ ।
‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरूलाई सकभर सम्झाइबुझाइ नै गर्ने हो,’ गृहमन्त्री अर्यालले भने, ‘त्यो एलिमेन्टहरूले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’
वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले उहाँले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी समेत गरे ।
‘निर्वाचनको लागी सबै संवादमा आउन पर्यो । स्टेक होल्डरहरू संवादमा आउनुपर्यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद शुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन,’ उनले भने ।
प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको उनले जिकिर गरे ।
प्रतिक्रिया 4