+
+
Shares

तीन उद्योगले तिर्न थाले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौताको किस्ता

ऊर्जा मन्त्रालयका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता किस्ता तिर्न सुरु गरेका छन्।
  • सम्राट सिमेन्टले ३ करोड ७७ लाख रुपैयाँको बक्यौता २८ किस्तामा तिर्न स्वीकृति लिएको थियो र जेठसम्मको किस्ता चुक्ता भएको छ।
  • रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पनि क्रमशः ९९ लाख १२ हजार र १ लाख २३ हजार रुपैयाँ बक्यौता किस्ता तिरेका छन्।

३० असोज, काठमाडौं । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीन वटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए ।

सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत थप महसुलको कुल ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो ।

उद्योगले चार किस्ता बुझाएपछि गत वैशाखदेखि किस्ता बुझाउन छाडेको थियो । उसले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ ।

स्वीकृत किस्ता सुविधा बमोजिम गत असारदेखि असोजसम्म ११ किस्ता बुझाउनुपर्नेमा सात किस्तामात्र बुझाएको पाइएको छ । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित तिर्ने बताएको प्राधिकरणको प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।

यसैगरी रोल्पा सिमेन्टको ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँ एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो ।
६ किस्ता तिरेपछि उद्योगले तिर्न छाडेको थियो । उद्योगले पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ । अब उद्योगको १७ किस्ता तिर्न बाँकी छ ।

त्यस्तै नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?