+
+
Shares

राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज ३० गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत राखेर जेनजी प्रतिनिधिहरूसँग बिहीबार चार बजेपछि वार्ता गरेका थिए।
  • वार्तामा राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी आन्दोलनको प्रशंसा गर्दै निर्वाचनलाई महाअभियानका रूपमा सफल बनाउन आग्रह गरेका थिए।
  • जेनजी प्रतिनिधिले लिखित सम्झौताको माग राखेका थिए र प्रधानमन्त्रीले सम्झौताको ड्राफ्ट तयार गर्ने सहमति जनाएकी थिइन्।

बिहीबार दिउँसो चार बजेसम्म जेनजी प्रतिनिधिहरूलाई राष्ट्रपतिसँगको वार्ताको छनक थिएन । तर, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अगाडि राखेर जेन–जी प्रतिनिधिहरूका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने तयारी गरिसकेका थिए । त्यही तयारी स्वरूप चार बजेपछि जेनजी प्रतिनिधिका मोबाइल फोनमा प्रधानमन्त्री कार्यायलयबाट घण्टी बज्न थाल्यो ।

छलफलका एजेन्डाबारे जानकारी नदिएकाले आफूलाई किन बोलाइएको भन्ने थाहा नभए पनि उनीहरू हताहतार राष्ट्रपति कार्यालय पुगे ।

गत शनिबार जेनजी प्रतिनिधिलाई वार्ताको लागि भनेर राष्ट्रपति कार्यालय बोलाइएको थियो । तर, एकाएक राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्रीसँग अनौपचारिक छलफल गरेर उनीहरू निस्किएका थिए । त्यसबेला सोमबार राष्ट्रपतिसँग पुन: छलफलको समय तोकिएको थियो । तर, राष्ट्रपतिलाई पूर्ण स्वास्थ्यलाभ नभएकाले सोमबार पनि वार्ता हुन सकेन ।

स्थगित हुँदै आएको सोही छलफल राष्ट्रपति कार्यालयले बिहीबारका लागि तय गरेको थियो । राष्ट्रपति कार्यालय पुग्दा शनिबार बोलाइएका भन्दा फरक–फरक जेनजी प्रतिनिधि त्यहाँ जम्मा भएका थिए । सुधन गुरुङ संयोजक रहेर बनाइएको कमिटीका प्रदेश संयोजकहरू पनि थपिएका थिए । स्वयं सुधन भने उपस्थित थिएनन् ।

युजन राजभण्डारी, रक्षा बमलगायतका जेनजी अनुहार पनि बिहीबारको वार्तामा छुटे । छुटेकासँग सम्पर्क गर्दा आफूहरूलाई किन नबोलाइएन भन्ने नै थाहा नभएको उनीहरूले बताए ।

‘तपाईंहरूलाई आजको वार्तामा छुटाइएछ नि,’ शनिबार बोलाइएका तर बिहीबार छुटेका केही प्रतिनिधिलाई सोध्दा उनीहरूको जवाफ थियो, ‘खै !

राष्ट्रपति कार्यालयमा वार्ता हुँदैछ भनेर हामीले तपाईंहरूको समाचार हेरेर थाहा पाएका हौं। किन बोलाइएन, जानकारी भएन ।’

जेनजीका प्रतिनिधि विभिन्न समूहमा छरिएकाले पटकपटक गरेर छलफल गर्न खोजिएको हुनसक्ने उनीहरूको बुझाइ छ । छलफलका लागि नाम भने राष्ट्रपति कार्यालयले नभई प्रधानमन्त्री कार्यालयले छनोट गर्ने गरेको छ ।

एजेन्डाको जानकारी बिनै पुगेका जेन–जी प्रतिनिधिसँग बिहीबार मूलत: तीन विषयमा छलफल भयो ।

सहभागी एक प्रतिनिधिका अनुसार परिचय कार्यक्रमपछि राष्ट्रपतिका सल्लाहकारले छलफलको एजेन्डा प्रस्तुत गरे । त्यसपछि राष्ट्रपतिले आफ्ना कुरा राखे ।

आन्दोलनकारी जेन–जीको प्रशंसा गर्दै राष्ट्रपतिले भने, ‘ठूलो बलिदानपछि आएको यो परिवर्तनलाई खेर जान दिइनेछैन, गलत फाइदा लिन खोज्नेहरू अहिले पनि सक्रिय छन् । तिनलाई रोक्न म तपाईंहरूकै साथमा छु ।’

भूमिकासहित राष्ट्रपतिको भनाइको मर्म थियो, ‘परिवर्तनलाई संस्थागत गर्न र आफ्ना एजेन्डा पूरा गराउन जेनजी पुस्ताले निर्वाचनलाई महाअभियानका रूपमा लिएर सम्पूर्ण रूपले सफल बनाउन लागोस् ।

‘आन्दोलनको चाहना देश भ्रष्टाचार, नातावाद र कृपावादबाट मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भन्ने नै हो । त्यसैलाई पूरा गर्न नयाँ चुनावको घोषणा गरिएको हो । यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्नुस्,’ जेनजी प्रतिनिधिलाई राष्ट्रपतिको भनाइ थियो ।

उनले निर्वाचनबाट असल र इमान्दार जनप्रतिनिधि चयन गरे देश भ्रष्ट र बदमासहरूको चंगुलबाट बाहिर निस्कने बताएका थिए । ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमासले जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन्,’ राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । तथा, युवाहरू बाध्याताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’

छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीले एकअर्काको प्रशंसा गरेका थिए ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गरेकी थिइन् ।

उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्क नेता पनि भएको उल्लेख गरिनु । राष्ट्रपतिको भनाइलाई अन्तष्करणको आवाजका रुपमा लिन उनले जेनजीहरुलाई आग्रह गरिन् ।

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए । उनीरूले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै तर त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका मागहरू पूरा हुनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार राष्ट्रपतिले पहिलो महिला न्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बन्ने क्रममा सुशीला कार्कीले भोगेका चुनौती साझा गर्दै उनको तरिफ गरेका थिए । ठूलो चुनौती सामना गर्दै मुलुकलाई निकास दिन प्रधानमन्त्री अघि सरेको भन्दै चर्चा गरेका थिए । यस्तै उनले आफू संविधानको रक्षकको भूमिकामा मात्र रहेको भन्दै सरकारको कामलाई विश्वास गरेर सहयोग गर्न पनि जेनजी प्रतिनिधिलाई भनेका थिए ।

‘म कार्यकारी भूमिकामा छैन, संविधानको रक्षा गरेको छु । त्यसैले अब प्रधानमन्त्रीमार्फत अघि बढ्नुपर्छ,’ राष्ट्रपतिले आफूले आजको लागि सहजीकरण मात्र गरिदिएको बताएको ती प्रतिनिधिले बताए ।

राष्ट्रपतिले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री कार्कीले बैठक अघि बढाइन् । जेन–जी प्रतिनिधिहरूले आन्दोलनपछिको अवस्थामा राज्यसँग कुनै खालको पनि सम्झौता नगरिएको भन्दै लिखित सम्झौताको माग गरे ।

विशेषत: आन्दोलनमा सहभागी भएकाहरूलाई तोडफोड, आगजनी, लुटपाट लगायतका अपराधिक क्रियाकलापका अभियोग लगाएर प्रहरी प्रशासनले अभियोजन गर्न सक्नेतर्फ उनीहरूको चिन्ता थियो । आगामी निर्वाचनमा सहभागी हुन चाहने जेनजी प्रतिनिधिको मनोनयन यही कारण खारेज हुनसक्ने चिन्ता उनीहरूको थियो ।

पछिल्लो समय आन्दोलनकारीमाथि विभिन्न जाहेरीहरू परिरहेका छन् । त्यसैले आन्दोलनलाई संस्थागत नगर्दा यसलाई अपराधिकरण गर्ने जोखिम रहेको तर्क उनीहरूको थियो ।

यो विषयमा प्रधानमन्त्री कार्की सहमत भइन् । तर, के–के विषय राखेर सम्झौता गर्ने र कस्ता कुरा समेट्ने भन्ने बुँदाको ड्राफ्ट प्रधानमन्त्रीले कार्यालयले तयार गर्ने र त्यसमा छलफल गरेर सहमति गर्ने भद्र सहमति भयो ।

जेनजी प्रतिनिधिले पनि सम्झौता गर्ने अन्तिम समयसीमा तोक्नुपर्ने माग राखे । यसरी जेनजीहरूले प्रश्न उठाएपछि राष्ट्रपतिले पनि ‘प्रधानमन्त्रीले ल्याएका कुरामा सही गर्छु, मेरो काम त्यही हो’ भन्दै आश्वासन दिए ।

उक्त छलफलमा सहिद परिवारबाट भोजबहादुर थापा पनि उपस्थित थिए । उनले घाइते र सहिद परिवारका लागि स्थायी आयोग गठनको प्रस्ताव गरे । प्रधानमन्त्री कार्यालयले योसँगै अन्य सम्झौताका विषयमा गृहकार्य गरेर जानकारी दिने बताएको अर्का जेनजी प्रतिनिधिले जानकारी दिए ।

‘राष्ट्रपतिले आफूलाई ‘म तपाईंहरूकै मान्छे हो’ भन्दै छलफलबाट टाढा भाग्दिन भनेर विश्वस्त बनाउनु भयो । उहाँ र प्रधानमन्त्री, मन्त्री सबैले आन्दोलनकारीको विश्वास डग्मगाउन नदिने बताउनुभयो,’ ती प्रतिनिधिले भने, ‘आज पहिलाभन्दा एकदमै सार्थक छलफल भयो ।’

त्यस्तै, तोकिएको मितिमा चुनाव हुनेमा ढुक्क रहन पनि प्रधानमन्त्रीले आश्वस्त पारिन् ।

छलफलमा सहभागीकाअनुसार बिहीबार मन्त्रीहरू भने त्यति बोलेनन्् । ‘उहाँहरू जेनजीसँग पहिलोपटक यति राम्रो वार्ता भयो भन्दै खुसी हुनुहुन्थ्यो । यसैगरी प्रस्तुत हुन फिडब्याक दिनुभयो,’ छलफलमा सहभागी ती सदस्यले भने ।

बैठकमा सहभागी अर्का एक जेनजीका अनुसार आन्दोलनकारी, राष्ट्रपति र सरकारका प्रतिनिधिबीच  आन्दोलनलाई संस्थागत गर्नै लिखित सहमति गर्ने मोटामोटी छलफल भयो । त्यस्तै, घाइते र सहिद परिवारका सदस्यको उचित सम्बोधन गर्नको लागि आयोग बनाउने विषयमा पनि सकारात्मक छलफल भएको त्यहाँ सहभागी जेनजी अगुवा खेमराज साउदले बताए ।

साउदकाअनुसार चुनावी माहोल कसरी बनाउने भन्ने विषयमा पनि छलफल भयो । चुनावको प्रसंग कोटिएपछि प्रधानमन्त्रीले समयमा चुनाव हुनेमा ढुक्क रहनमा आग्रह गरिन् ।

जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?