+
+
Shares

एमाले बैठकमा प्रश्न- निर्वाचन क्षेत्र एउटै व्यक्तिको पेवा जस्तै भए, अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ ?

बैठकमा ठाकुर गैरे, अरबिन्द सिंह, ईश्वरी जीएम र उषाकिरण तिम्सेनालगायतका नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक कमजोरी र जनतामाझ घट्दो विश्वास लगायतका विषयमा केन्द्रित रहेर धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा जारी नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्न आग्रह गरेका छन्।
  • उषाकिरण तिम्सेनाले ओलीको ११ वर्षे नेतृत्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताउँदै नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने धारणा राखिन्।
  • अरबिन्द सिंहले भ्रष्टाचारमा मुछिएका नेताहरूलाई कारबाही नगरेको भन्दै जिम्मेवारी हस्तान्तरण नै पार्टीको भविष्य सुरक्षित गर्ने उपाय भएको बताए।

३१ असोज, काठमाडौं। ललितपुरमा जारी नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरूले केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको रूपान्तरण र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

बैठकमा ठाकुर गैरे, अरबिन्द सिंह, ईश्वरी जीएम र उषाकिरण तिम्सेनालगायतका नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक कमजोरी र जनतामाझ घट्दो विश्वास लगायतका विषयमा केन्द्रित रहेर धारणा राखेका छन् ।

उनीहरुले आत्मालोचनाको समय सकिएको भन्दै अब रूपान्तरणको निर्णय गर्नुपर्ने साझा धारणा राखेका छन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी भित्रको वैचारिक र संगठनात्मक स्थिति ‘ध्वस्त’ अवस्थामा पुगेको भन्दै नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा नबुझ्न उनले अनुरोध गरे ।

गैरेले भने, ‘सबै कुरा ध्वस्त भएको छ । कम्युनिष्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निस्कर्ष निकालौं । हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौं । हामीसँग ठोस निर्णय थिएन ।

वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो । यस्तो समयमा पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा बुझ्न हुन्न । म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।’

उषाकिरणको प्रश्न– ओलीको नेतृत्वले वाम आन्दोलनलाई कता पुर्‍यो ?

यसैगरी उषाकिरण तिम्सेनाले केपी शर्मा ओलीको नेतृत्वमा व्यापक आत्ममूल्यांकनको माग गरिन् । अध्यक्ष केपी शर्मा ओली ११ वर्षदेखि पार्टीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएको टिप्पणी उनले गरिन् ।

‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई कता पुर्‍यायो ?’ उनको प्रश्न छ, ‘नेकपा गठन एउटा महत्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता–कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौं ? एकपल्ट सम्झिऊँ ।’

उनले संविधान संकटमा परेको र सरकार कामचलाउ रहेको अवस्थामा नेकपा एमाले नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने धारणा राखिन् ।

तिम्सेनाले पार्टी कार्यालय पुनर्निर्माणका व्यापारिक व्यक्तिको सहयोग स्वीकार्न नहुने बताइन् । दुर्गा प्रसाईँजस्ता पात्रहरूलाई पार्टीमा भित्राइएको निर्णयलाई घातक भन्दै त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्ने माग गरिन् ।

‘एकपल्ट यो पनि सम्झिऊँ सूर्य चिह्नमा चुनाव कोको र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईँजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्रायो ?’ उनले प्रश्न गरिन्, ‘तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईँलाई भित्राउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसका बारे यहाँ कसैले–कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?’

सतही विश्लेषणले संकटमा पुर्‍यो : अरविन्द सिंह

केन्द्रीय सदस्य अरविन्द सिंहले पार्टीले पछिल्ला घटनाहरूमा वस्तुनिष्ठ विश्लेषण गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘भदौ २२ गतेको प्रतिवेदन २४ घण्टा नपुग्दै फेल भयो । सतही विश्लेषणले हामीलाई अझै गहिरो संकटमा पुर्‍याउँछ ।’

सिंहले भ्रष्टाचार र व्यभिचारमा मुछिएका नेताहरूलाई कारबाही नगरेर पार्टीले नैतिक बल गुमाएको उल्लेख गर्दै भने, ‘भ्रष्टाचारमा संलग्नहरू यहीँ छन् । छानबिन र कारबाहीबारे पार्टीले कहिले बोल्ने ?’

उनले अध्यक्षमाथि जनताको आक्रोश बढेको भन्दै जिम्मेवारी हस्तान्तरण नै पार्टीको भविष्य सुरक्षित गर्ने उपाय भएको बताए ।

उनले पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण गरेर पुनः सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिए ।

भदौ २३ र २४ को नैतिक जिम्मेवारी स्वीकार्नैपर्छ : ईश्वरी जीएम

यसैगरी ईश्वरी जीएमले प्रतिनिधिसभा पुनस्र्थापना र आन्दोलनबीचको द्वन्द्वलाई सम्बाद र निर्वाचन तयारीद्वारा सुल्झाउन सुझाव दिइन् । उनले आगामी महाधिवेशनमा नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिंदै भनिन् ‘टिके संस्कृतिले पार्टी बलियो हुँदैन । निर्वाचनमार्फत नयाँ नेतृत्व ल्याउनुपर्छ ।’

उनले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनको घटनामा सरकारको असफलता स्वीकार गर्दै छानबिन माग गरिन् । ‘युवा विद्यार्थीमाथि गोली प्रहार भएको पीडादायक घटना हो । यसको राजनीतिक र नैतिक जिम्मेवारी स्वीकार्नैपर्छ,’ उनले भनिन् ।

जीएमले पार्टीभित्र समावेशी प्रणालीको दुरुपयोग रोक्न र समान अवसरका लागि स्पष्ट नीति बनाउन पनि माग गरिन् ।

बुँदागत रूपमा पढ्नुहोस् उनीहरूका भनाइ

ठाकुर गैरे

प्रस्तुत प्रस्ताव पूर्ण गरौँ । सबै कुरा ध्वस्त भएको छ । कम्युनिष्ट आन्दोलन कति बलो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निस्कर्ष निकालौँ । हामीले संबिधान संशोधनको कुरा गरिरहेका थियौँ । हामीसँग ठोस निर्णय थिएन । वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम-लोकतान्त्रिक सरकार पनि ढल्यो ।, यस्तो समयमा पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा बुझ्न हु्न्न । म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।

अरबिन्द सिंह

१. भदौ २२ गतेको “जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको” राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घन्टा नपुग्दै फेल भयो । फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरु वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदै, सक्किने बाटोमा लैजान्छ।

२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौं ।

३. २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।

४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरुमा आरोपितहरु हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने ? कि बोल्दै नबोल्ने ?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।

६. युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ट ढंगले विश्लेषण गर्न जरुरी छ।

७. जनसंगठनहरु कसरी चल्दैछन भन्ने एउटा उदाहरण- टंक कार्कीदेखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी ?

८. चार वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हिनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरुले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन ।

९. दुई-दुई पटक हामी आफैंले संसद विघटन गरेकोले संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौं । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

१०. विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।

ईश्वरी जीएम

१. विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुठभेड नहुने गरी सडक आन्दोलन भन्दा कानुनी र दलहरुबिचको राजनीतिक संबादबाट खोजौँ । निर्वाचनको पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निरास भएका जनता, कार्यकर्ता र पार्टी पंक्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गरौँ ।

२. पार्टीको आसन्न एघारौं महाधिवेशनमा जेनजी पुस्ता सहित युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनौटदेखि कमिटीमा समावेश हुने गरी मापदण्ड र निती तय गरौँ । साथै महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिलाई दिँदा उत्तम हुन्छ। टिके प्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन् कमजोर हुन्छ भन्ने कुरा बुझौँ । पछिल्लो समय नेकपा एमाले र नेताहरुप्रति आम नागरिकको बुझाइ कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालका कमेन्टहरु, सार्वजनिक स्थलमा गरिने टिप्पणीहरुलाई समेत मनन् गर्दै अघि बढ्न म अपिल गर्दछु।

३. भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारको फितलो सुरक्षा व्यवस्था र युवा विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार दुखदायी थियो। २४ गतेको घटनामा लामो तयारी सहितको सुनियोजित थियो भन्ने कुरा अध्यक्ष ज्युको प्रतिवेदनमै आएको देखिँदा प्रधानमन्त्री कार्यालयकै मातहतका सुरक्षा निकायहरुले किन रोक्न उदासीन भए ? विचारणीय छ। यस सम्बन्धमा सुक्ष्म छानबिन हुन आवश्यक छ।

४. अध्यक्ष कमरेड सहित हामी सबैले अब हाम्रो पार्टीको वर्तमान अवस्थाबारेको सत्य र यथार्थतालाई स्विकार्दै अघि बढ्नु आवश्यक छ। जनता भन्दा माथि राजनीतिक दल हुन सक्दैन, दल जनताको उपज हो। स्वयम् संविधान पनि जनताको विश्वास रहेसम्म रहने हो। दल र हाम्रो पार्टी प्रति युवा समूह र आम जनता, कार्यकर्ताले विगतदेखि नै शुद्धीकरणको माग गर्दै आएका हुन्। शुद्धीकरण हुन नसक्दा अनियमितता र भ्रष्टाचार बढ्न गएकाले सुशासनको अवस्था ज्यादै कमजोर देखा पर्न पुग्यो । हामीले विगतदेखि नै हाम्रा व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौं यसैको विस्फोट अहिलेको अवस्था हो भन्ने कुरा हामीले स्विकार्नु पर्दछ। जनताले हामीलाई पटकपटक सत्ता र सरकारमा पुर्याएकै हुन् तर पनि हाम्रो नेतृत्वको ३ तहकै सरकारको नीति, कार्यक्रम र बजेटलाई जबजको मार्गदर्शनमा समाजवादको आधार तयार पार्ने खाले तर्फ केन्द्रित गर्दै पार्टीलाई बलियो बनाउन सकेनौं भन्ने वास्तविकताको सामूहिक आत्मालोचना गर्दै जनता कार्यकर्तामा पुनः विश्वास प्राप्त गर्नेगरी अघि बढ्ने वातावरण बनाऔं ।

५. हाम्रो पार्टीमा समानुपातिक समावेशि शैली संविधानले कल्पना गरे विपरीत व्यापक दुरुपयोग भयो । पार्टी चलाउन जनता कार्यकर्ता चाहिने तर पद र अवसर जति आफन्त, नजिकका र पैसावाललाई दिने प्रवृत्ति रोकौँ। समानुपातिक सांसद दोहोरिएर हुन नपाउने कुरा एकदम ठिक छ तर एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराको पनि नीति बन्न जरुरी छ। निर्वाचन क्षेत्र एउटै व्यक्तिको पेवा जस्तै भए अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ ?

६. कथित सल्लाहकारहरुले हाम्रो पार्टी नेतृत्वलाई सिमित घेराभित्र पार्ने प्रबृत्ति, यथार्थता भन्दा बेग्लै रिपोर्टिङ र गलत सुचना दिई भ्रम फैलाउने कारण पार्टीका इमान्दार र देशभक्त कार्यकर्ताहरुको मनोबल खस्किएको यथार्थतालाई स्विकार्दै नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा नै नेतृत्व प्रतिको विश्वास अभिबृद्वि भई पार्टी बलियो हुने कुरामा हेक्का राख्न सक्नुपर्ने हुन्छ।

उषाकिरण तिम्सेना

१. विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ । उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स- साना नानीहरूको कत्लेआम भयो। खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हबलदारले लिने हो कि प्रहरी आईजीपीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?

२. यतिखेर हामी कुन कन्स्पेरिसीको कुरा गरिरहेका छौँ ? कुन कुन वैदेशिक निकायहरू हुन् नेकपा एमाले विरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?

३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्या्यो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता-कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्यौँ ? एकपल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । मास फ्रस्ट्रेसन छ र थियो, स्विकारौँ ।

४. एकपल्ट यो पनि सम्झिऊँ सूर्य चिह्नमा चुनाव कोको र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईँजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईँलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले-कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?

५. २०७९ को निर्वाचन पछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । आज अस्तिको भदौ २३/२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने नैय हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न ।

६. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।

७. देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ । यो समाजका अधिकांश स्टेकहोल्डरहरुले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरिने छ।

८. अन्यथा नलिनु होला- मिनबहादुर गुरुङको सम्पत्ति माथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग नस्वीकार्ने निर्णय गरौँ ।

९. कमरेडहरु, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४ । त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ । एक जना व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन । यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?