+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

तिहारमा पनि बिक्न छाड्यो मादल, पेसा संकटमा

प्रविधिको विकाससँगै मादलको प्रयोग घट्दै जाँदा सिपमा आधारित यो पेसा संकटमा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:२४

३१ असोज, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार भित्रि नै लागेको छ । तिहारमा देउसी-भैलीसँगै विविध सांस्कृतिक कार्यक्रम हुने गर्दछन् । तिहारमा खेलिने देउसी-भैली लगायत सांस्कृतिक कार्यक्रममा मादल बजाएर मनोरञ्जन लिने गरिन्छ । तिहार पर्वमा विशेष गरी मादलको माग उच्च हुने गर्दछ ।

तर, पछिल्लो समय परम्परागत नेपाली बाजाको प्रयोग कम हुन थालेपछि मादल बनाउने पेसा संकटमा पर्न थालेको छ । मादल बनाउने पेसामा संलग्नहरू भन्छन्- आधुनिक संगीत र प्रविधिको प्रभावले परम्परागत बाजाहरूप्रति आकर्षण घट्दै जाँदा मादल व्यवसाय पनि प्रभावित बन्दै गएको छ । पेसा नै संकटमा पर्ने जोखिम बढेको छ ।

बागलुङको गल्कोटबाट गुल्मीको तम्घासमा वर्षौंदेखि मादल बनाउने पेसामा संलग्न छन्- रामु नेपाली । उनलाई पहिले-पहिले तिहार आउनु केही महिना अगाडि नै नयाँ मादल बनाउने अर्डर आउने गर्थ्यो । पुराना मादल मर्मत गर्नेको पनि भिड नै लाग्थ्यो । तर अहिले त बजार नै छैन । बनाएका मादल पनि बिक्री नभएर थन्किएको उनको गुनासो छ ।

आधुनिकताले विस्थापित गर्दै

तिहार पर्वमा विशेष गरी मादलमा ताल मिलाउँदै देउसी-भैलो खेल्ने परम्परा छ । यस अवसरमा गाउँघरमा विभिन्न स्थानमा आयोजना हुने देउसी-भैलोमा मादलको प्रयोग अनिवार्य जस्तै हुन्थ्यो ।

तर पछिल्लो समय आधुनिक डिजे संगीत, मोबाइल स्पिकर, तथा डिजिटल रेकर्डिङ प्रणालीको प्रयोग बढेसँगै मादलको प्रयोग न्यून हुँदै गएको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय भित्रिएको आधुनिक संस्कृतिले गर्दा तिहार पर्वमा पनि मादल किनमेल हुन छोडेको छ ।

जसले गर्दा नेपाली मौलिक बाजा मादल बनाउनेहरूको पेसा नै संकटमा पर्न थालेको छ । पुर्ख्यौली रूपमा मादलको व्यवसाय गर्दै आएका रामु नेपालीले बिक्री गर्न नै समस्या हुन थालेको बताउँछन् ।

तिहार तिज पर्वमा मादलको अत्यधिक बिक्री हुने समय हो । तर यी पर्वमा मादलको व्यापार घट्दै गएको छ ।

पुस्तान्तरणको प्रयास, तर अनिश्चित भविष्य

रामुले आफ्नो बुबासँग मादल बनाउने सिप सिकेका हुन् । उनका बुबा डिलबहादुर नेपालीले दशकौँसम्म मादल बनाउने काम गरेका थिए । अहिले उनी वृद्ध भइसकेका छन् । परिवार धान्ने जिम्मेवारी  पनि उनकै काँधमा आएको छ ।

अघिल्लो वर्षसम्म डिलबहादुर आफैंले मादल बनाउने गर्दर्थे । यस वर्षदेखि भने उनका छोरा-बुहारीले यो पेसालाई निरन्तरता दिएका छन् । सिप हस्तातरण भए पनि राम्रो बजार व्यवस्थापन नहुनाले उनीहरूले पनि यही पेसालाई निरन्तरता दिनेमा आशंका छ ।

कच्चा सामग्रीको अभाव

मादल बनाउनका लागि आवश्यक पर्ने कच्चा सामग्रीहरू नपाइँदा मादल बनाउन नै समस्या हुँदै जान थालेको छ । मादल बनाउने सामान नेपालमा पाइँदैन । अन्य मुलुकबाट सामग्री ल्याउँदा महँगो पर्ने हुँदा मादलको मूल्य पनि बढ्दै गएको छ ।  जसका कारण किनबेच कम भएको रामु गुनासो गर्छन् ।

मादल बनाउन छाला र काठको समस्या हुने गरेको नेपाली बताउँछन् । यसले पनि पेसालाई थप चुनौती प्रदान गरेको उनको बुझाइ छ ।

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको उनीहरू बताउँछन् । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरूको अनुभव छ ।

व्यापार घट्दो

एक समय वार्षिक ३ सय बढी मादल बिक्री गर्थे डिलबहादुर । तर, अहिले वार्षिक ४०/५० वटा बेच्न पनि मुस्किल परेको उनी सुनाउँछन् । मादल बनाउन लागत बढी हुँदा मूल्य पनि महँगो हुँदै गएको उनको भनाइ छ ।

मादलको सट्टामा विभिन्न साउन्ड स्टिम प्रयोग गरेर कार्यक्रमहरू गर्ने चलनले पनि यसको खपत घट्दो छ ।

एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको समान्यतः २ हजार ५ सयदेखि ७ हजार रुपैयाँसम्म पर्ने नेपाली बताउँछन् ।

तम्घासमा तयार भएका मादल गुल्मीसहित छिमेकी जिल्लाहरूमा पुग्ने गरेको नेपालीले बताए । उनका अनुसार तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ ।

मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति बेवास्ता गरेको नेपाली सुनाउँछन् । प्रविधिको विकाससँगै मादलको प्रयोग घट्दै जाँदा सिपमा आधारित यो पेसा संकटमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?