+
+
Shares

माओवादी युद्धकालमा आँखा गुमाएका व्यक्तिबाट जेनजी आन्दोलनमा असईको हत्या

२४ भदौमा असई मिलन रायलाई कुटीकुटी हत्या गर्नेमध्ये एक व्यक्ति माओवादी युद्धकालमा प्रहरीको कुटाइबाट आँखा फुटेका र अर्का बस काउन्टरमा काम गर्ने व्यक्ति रहेको खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ कात्तिक २ गते १४:३७

२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको कुटीकुटी हत्या भयो । रायको हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक माओवादी युद्धका क्रममा आँखा गुमाएका र अर्का बस काउन्टरमा काम गर्ने व्यक्ति भएको खुलेको छ ।

राय हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ७ असोजमा सिन्धुपाल्चोकका होम पौडेललाई पक्राउ गरेको थियो । ६२ वर्षीय पौडेलले युद्धको समयमा आफूलाई प्रहरीले आँखा फुटाइदिएको प्रहरी देख्ने बित्तिकै रिस उठ्ने भएकाले प्रहरीमाथि आक्रमण गरेको बताएका छन् ।

असई राय हत्या आरोपमा पौडेलसँगै उदयपुर घर भई नयाँबसपार्कमा काउन्टरमा काम गर्ने २८ वर्षीय टीकाराम विकविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपरधिक उपद्रवको कसुरमा मुद्दा दायर गरेका हो ।

प्रहरी अनुसन्धानका क्रममा पौडेलले आफू प्रहरीबाट पीडित भएको व्यक्ति रहेको बताएका छन् । २०५७ सालमा बाटो हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेर आफूलाई माओवादी भन्दै कुटपिट गरेको बताएका छन् ।

‘माओवादी भन्दै प्रहरीले बन्दुकको नालले हिर्काए । मेरो दाहिने आँखा फुट्यो । अहिले पनि त्यो आँखा देख्दिनँ,’ पौडेलले भनेका छन् ।

त्यति बेलादेखि नै प्रहरी देख्यो कि रिस उठ्ने उनले बताएका छन् । २०६२ सालमा वैदेशिक रोजगारीका लागि उनी मलेसिया गएका थिए । ३ वर्ष मलेसिया बसेर आएपछि उनी २०६५ सालदेखि धुम्बाराहीमा बस्दै आएका छन् ।

पछिल्लो समय उनी धुम्बाराहीमै आफ्नो भतिजो सुदीपको किराना पसलमा काम गर्दै आएका थिए । उनै पौडेलले भुइँमा लडेका असई रायको टाउकामा काठको लौरोले क्षतविक्षप्त हुने गरी हानेका थिए । जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कुटीकुटी हत्या गरेपछि रायको मुखमा पिसाबसमेत गरिएको थियो । घटनाका दिन २४ भदौमा असई राय १२:४६ बजेदेखि १३:५५ बजेसम्म धुम्बाराही, बुढानीलकण्ठ एरियामै रहेको उनको मोबाइल लोकेसनले समेत देखाएको छ ।

राय हत्या आरोपमा मुद्दा चलाइएका अर्का व्यक्ति विक भने काठमाडौं-उदयपुर चल्ने रुटको टिकट काउन्टरमा काम गर्ने (टिकट काट्ने) व्यक्ति हुन् । अघिल्लो दिन विद्यार्थी मारिएको खबर सुनेपछि आक्रोशित भएर आफू पनि आन्दोलनमा गएको उनले बताएका छन् । उनले पनि असई रायमाथि आक्रमण गरेका थिए । आक्रमण गरी घाइते बनाएर छाडेर हिँडेको उनले बताएका छन् ।

विक १२:४६ बजे धुम्बाराही-बुढानीलकण्ठ एरियामा देखिएका थिए । १३ बजेदेखि १५ बजेसम्म उनी नारायणगोपाल चोक क्षेत्रमा देखिएका थिए ।

बेलुका १७ बजेदेखि २१ बजेसम्म प्रगति टोल,नारायणगोपाल, धुम्बाराही एरियामा देखिएका थिए ।

१८ बजेदेखि २१:३७ बजेसम्म उनी बाँसबारी एरियामा देखिएको अनुसन्धानबाट खुलेको छ । राय हत्यामा यी दुई जनाको मुख्य भूमिका देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने देखिएकोले मुद्दा दर्ता हुनेगरी अभियोगपत्र दर्ता गरिएको छ ।

मुचुल्का सकेर कार्यालय पुग्दा मारिएका थिए राय

असई राय २४ भदौ मध्याह्न न्युरो अस्पताल पुगेका थिए । प्रहरी वृत्त महाराजगञ्जमा क्राइम सिन अफिसर (सोको) का रूपमा कार्यरत राय एक व्यक्तिको मृत्यु भएको खबर आएपछि मुचुल्का गर्ने सहायक लिएर न्युरो अस्पताल पुगेका थिए ।

सहायकले मुचुल्काको काम गरे । रायले क्राइन सिनको काम गरे । काम सकेर उनी कार्यालय फर्किए । त्यतिन्जेलसम्म महाराजगञ्ज वृत्त वरपर ठूलो मात्रामा जेनजी प्रदर्शनकारीको भिड जम्मा भइसकेको थियो ।

प्रधानमन्त्रीदेखि प्रहरी विरुद्धसमेत नाजाबाजी गर्दै सडकमा तोडफोड भइरहेको थियो । असई राय कार्यालय छिरे । र, ग्राउन्ड फ्लोरकै बाहिरतर्फको कुर्सीमा बसे ।

उग्र बनेका प्रदर्शनकारीले सरकारी तथा प्रहरीका भवनमा तोडफोड र आगजनी गर्न थाले । प्रहरी नै असुरक्षित हुने अवस्था आएकाले हिरासतमा रहेका थुनुवा छाड्दै आफू सुरक्षित हुन काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्कुलर जारी गर्‍यो ।

प्रदर्शन चर्किएर प्रहरी केन्द्रित हुन थालेपछि महाराजगञ्ज वृत्तले पनि आफ्नो हिरासतमा रहेका थुनुवा छाड्यो । यतिन्जेलसम्म असई राय सुरक्षित थिए । सोको अफिसर सिभिल पोशाकमै हुने भएकाले उनलाई प्रदर्शनकारीले प्रहरी भनेर चिनेका थिएनन् ।

तर, जब हिरासतमा रहेका थुनुवा छाडियो, त्यसपछि भने राय आक्रमणको निसानामा परे । थुनुवा नछोड्दासम्म प्रदर्शनकारीले उनलाई प्रहरी हो भनेर नचिन्नु र आक्रमण नगर्नु तर थुनुवालाई छाड्ने बित्तिकै आक्रमण हुनुले धेरै आशंका जन्माएको प्रहरीको बुझाइ छ ।

रायमाथि अन्धाधुन्ध प्रहार भयो । कार्यालयबाट घिसार्दै सडकमा ल्याएर भिडले आक्रमण गर्‍यो । भाँटाले हानियो । अनुहार चिन्न नसक्ने गरी रगताम्मे भयो । हत्या गरिसक्दा पनि भिड रोकिएन । शवमाथि नै पिसाब फेर्नेसम्मको काम भयो ।

राय २०७४ सालमा असईमा भर्ना भएका व्यक्ति हुन् । उनको दरबन्दी इलाका प्रहरी कार्यालय रामेछापमा थियो । तर उनी पछिल्लो समय महाराजगञ्जमा कार्यरत थिए ।

२०८० को २१ फागुनमा उनले मंगला श्रेष्ठसँग विवाह गरेका थिए । श्रीमती मंगला गत वैशाखमा मात्रै वर्किङ भिसामा जापान गएकी थिइन् । श्रीमान्‌को हत्या हुँदा उनी जापानमै थिइन् । त्यसपछि उनी नेपाल फर्किन् ।

३१ असोजमा प्रहरी प्रधान कार्यालयमा भएको प्रहरी दिवसको अवसरमा अमर शहीदको रूपमा रायलाई सम्मान गरिएको थियो । श्रीमती मंगलाले सम्मानपत्र थापेकी थिइन् ।

सिन्धुलीको दुधौली नगरपालिका-८ खोरभञ्ज्याङ घर भएका रायले डेढ वर्षकै उमेरमा बुवा गुमाएका थिए । ब्लड क्यान्सरका कारण बुवा बितेपछि उनी आमाकै रेखदेखमा हुर्किए ।

पठनपाठनमा भने काका केशवले सहयोग गरे । गाउँबाटै एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए, प्लस टु पास गरे । त्यसपछि असईमा भर्ना भए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?