+
+
Shares

गुल्मीका गाउँ-गाउँमा मौलिक देउसीभैलो, शहरमा आधुनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते ९:२३

५ कात्तिक, गुल्मी । यमपञ्चक जारी छ । गाउँ–सहरमा देउसीभैलो, प्रज्वलित दीप र बिजुली बत्तीको उज्यालोले रौनकता थपिएको छ ।

तिहार मनाउने चलन जीवित भए पनि संस्कृतिमा भने केही बदलाव आएको छ । तिहारमा खेलिने देउसीभैलो बदलिएको छ ।

गुल्मीका ग्रामीण बस्तीहरूमा परम्परागत मौलिकता झल्कने देउसीभैलो अझै पनि देखिन्छ । सहरमा भने यहाँ पनि आधुनिक र व्यवसायिक बनिसकेको छ ।

पप संगीत, र्‍याप, फिल्मी शैलीको प्रस्तुति र प्रायोजित टोलीहरू देउसीभैलोमा देखिन्छ । अब यो सामान्य भइसकेको छ । कतिपय ठाउँमा मौलिकता नभइ भड्किलोपन पनि देखिन्छ ।

ग्रामीण क्षेत्रमा भने देउसी अझै ‘लोकसंस्कृति’ को रूपमा जगेर्ना गरिएको छ । परम्परागत वेषभूषा, नाटकीय शैली र मेलमिलाप झल्किने गीतहरूले देउसीको मूल मर्म बोकेका छन् ।

देउसीभैलो ग्रामीण क्षेत्रमा बालबालिका र युवाको कुरा मात्र होइन । प्रौढ, वृद्ध, आमा समूह, शिक्षकदेखि कृषकसम्म देउसी टोलीमा सहभागी हुन्छन् ।

यसले समुदायबीच एकता, आपसी सद्भाव र संस्कार हस्तान्तरणको सन्देश दिन्छ । गुल्मी जिल्लाका कतिपय ग्रामीण बस्तीहरू मौलिक देउसी भैलो संस्कृति जोगाउन सकृय देखिएका छन् ।

नेपालीहरुमा दोस्रो ठूलो महान पर्व तिहार एक विशेष चाड हो । जसको प्रमुख आकर्षणमध्ये एक हो देउसीभैलो ।

पछिल्ला वर्षहरूमा शहर बजारमा यसको मौलिक स्वरूप ओझेलमा पर्दै गएको छ । तर, गुल्मीका विभिन्न गाउँ–बस्तीमा भने यो परम्परा अझै पनि जीवन्त देखिन्छ ।

ग्रामीण क्षेत्रका मगर र अन्य समुदायमा देउसीभैलोको मौलिक स्वरूप यथावत् रूपमा जोगिएको छ । यहाँका बालबालिका, युवा, प्रौढदेखि वृद्धसम्म सबै उमेर समूहका मानिसहरू देउसी भैलो खेल्न एकजुट हुन्छन् ।

रेसुङ्गा–४ का स्थानीय ८१ वर्षीय तुल्सी बिकले देउसीको पुरानो शैली सम्झँदै भने, ‘सानैदेखि नाच्थ्यौं, गाउँथ्यौं, सन्देश दिइन्थ्यो गीतभित्र । आजकाल पैसा माग्ने मात्रै भयो । तर, हाम्रो गाउँमा अझै पुरानै लयमा नाचिन्छ, त्यो नै त साँचो तिहार हो ।’

त्यस्तै इस्मा–२ का कपिलमणि पन्थीले शहरमा देउसीभैलो पैसा संकलनको माध्यम मात्र बनेको बताए । ‘गीतमा सन्देश छैन, संस्कार छैन । तर, गाउँमा अझै पनि देउसीको पुरानोपन बचाएर राखिएको छ । यो जगेर्ना हुनु हाम्रो गर्व हो’, पन्थीले भने ।

देउसी भैलोको उत्पत्ति बलिराजाको समयदेखि भएको जनविश्वास पाइन्छ । देउसी गीतहरूमा बलिलाई सम्झने, दान र धर्मको चर्चा गर्ने, घरधनीको मन दरिलो छ भन्ने प्रशंसा गर्ने परम्परा छ ।

यो परम्परालाई अहिले कतिपय ठाउँमा विस्थापित गर्दै आधुनिक गीत, चलचित्रका संवाद र लोकप्रिय संगीत मिश्रण गरिँदैछ । यसले देउसी भैलोको मौलिकता मेटिँदै गएको चिन्ता संस्कृतिप्रेमीहरूमा बढ्दो छ ।

तर गुल्मीका गाउँघरमा भने देउसी टोलीले अझै परम्परागत लय, वेषभूषा र प्रस्तुति शैली अपनाउने गरेका छन् । टोली नाइकेले लय हाल्ने, अन्य सदस्यहरूले भैलो भन्दै तालमा नाच्ने, छाना, धान, दान, मिठा परिकारका प्रसङ्ग गीतमा उल्लेख गर्ने चलन अझै कायम छ ।

अहिलेका युवाहरूले पनि मौलिक देउसी भैलोप्रति चासो देखाउँदै परम्परागत शैलीमा नयाँ रचनाहरू सिर्जना गर्न थालेका छन् । इस्मा-२ को पालुखा माविले तिहार अवसरमा विद्यार्थीलाई तिहारसम्बन्धीत देउसी भैलो समेत कार्यक्रम गरेको थियो ।

विद्यार्थीहरुलाई मौलिक संस्कृत जोखाउने उद्देश्यले यस्ता कार्यक्रम गर्न थालिएको छ । यसले युवालाई संस्कृति प्रतिको मोह जगाउन थप मद्दत पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?