१६ कात्तिक, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
२३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी भएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्ती नेतृत्वको टोली खटिएको थियो ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया 4