९ कात्तिक, काठमाडौं । सिरहा र रौतहटमा पोखरी र नदीमा डुबेर आइतबार एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहामा २ र रौतहटमा २ गरी चार जनाको मृत्यु भएको हो ।
सिरहाको अर्नमा गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ पछवारीका ८० वर्षीय फुसयाही यादव रहेका छन् । धोबियाही पोखरीमा डुबेर यादवको आइतबार बिहान मृत्यु भएको हो ।
यसैगरी सिरहाको सिरहा नगरपालिका-५ मानपुरस्थित कमला खोलामा डुबेर अर्का एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १९ वर्षीय निसान गोहीवार रहेका छन् । खोलामा डुबेर गम्भीर भएका निसानको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ८ वर्षीय बालक अनिश बैठा रहेका छन् ।
खोलामा डुबेर गम्भीर भएका अनिशलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी रौतहटको बौधिमाई नगरपालिका-८ इनरवा पुलस्थित लाल बकैया खोलामा डुबेर आइतबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया बालिका सकुन्तलाकुमारी साह रहेकी छन् ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4