११ कात्तिक, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतन्त्रको सुन्दर पक्ष भन्ने नै निर्वाचन भएको बताएका छन् ।
नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताको निवेदन लिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘लोकतन्त्रको सुन्दर पक्ष भन्ने नै निर्वाचन अर्थात स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धतिलाई मानिन्छ,’ उनले भने ।
आगामी २१ फागुनको प्रतिनिधिसभाको चुनावको मिति तय भएको छ । चुनावमा भाग नलिए चुनावमार्फत मुलुकमा गर्न सकिने योगदानबाट बन्चित हुने भन्दै उनले यसमा सबै जिम्मेवार हुनुपर्ने बताए ।
निर्वाचन आयोगले निर्वाचन गराउने दायित्व पूरा गर्ने गरी कार्यतालिका बनाएर अगाडि बढिसकेको उनले बताए । चुनौतीलाई अवसरको रूपमा प्रयोग गरेर अगाडि बढिरहेको पनि उनले बताए ।
मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिस्पर्धामा सहभागी नहुने दलहरू लक्ष्मणरेखाभन्दा बाहिर रहने टिप्पणी गरे ।
उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरूलाई आग्रह गरे ।
‘…अहिले आएको दायित्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरू प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौं । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ । यहाँहरूलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु,’ भण्डारीले भने ।
उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरे ।
प्रतिक्रिया 4