+
+
Shares

रुग्ण ठेक्का व्यवस्थापनमा सरकार सकारात्मक : रवि सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरूको व्यवस्थापनमा सरकार सकारात्मक देखिएको बताए।
  • अध्यक्ष सिंहले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा ठेक्का अन्त्य गर्ने प्रावधान निलम्बन वा खारेज गर्न सुझाव दिएका छन्।
  • अर्थमन्त्री खनालले सरोकारवालासँग छलफलपछि ठेक्का अन्त्यबारे विवेकपूर्ण निर्णय लिने आश्वासन दिएका छन्।

१३ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरूको व्यवस्थापनमा सरकार सकारात्मक देखिएको बताएका छन् । बिहीबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटपछि उनले यस विषयमा सरकार सकारात्मक देखिएको बताएका हुन् ।

अध्यक्ष सिंहले रुग्ण ठेक्काहरूमा निर्माण व्यवसायीहरूले चाहेर पनि काम गर्न नसकिरहेको बताए ।

विभिन्न ऐन, कानुन र नियमहरूले बाधा पुर्‍याएको, राष्ट्र बैंकको ऐनअनुसार खाता सञ्चालनमा समस्या र कालोसूचीमा परेका जेभी पार्टनरहरूको कारणले रुग्ण ठेक्काहरूमा समस्या उत्पन्न भएको बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

उनका अनुसार हाल विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूले ठेक्का अन्त्य गर्ने आशयका सूचना जारी गरिरहेका छन् । यसले आर्थिक क्षेत्रलाई गम्भीर असर पार्ने भएकाले तत्काल समाधान खोज्न पनि आग्रह गरिएको उनले बताए ।

उनले सार्वजनिक खरिद ऐनको दफा ५९ ९८० अन्तर्गत ठेक्का अन्त्य गर्ने प्रावधानलाई निलम्बन वा खारेज गर्नुपर्ने सुझाव दिएको बताए ।

अध्यक्ष सिंहका अनुसार अर्थमन्त्री खनालले निर्माण क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिँदै ठेक्का अन्त्यका विषयमा सरोकारवालाहरूसँगको छलफलपश्चात विवेकपूर्ण निर्णय लिने आश्वासन दिए ।

बैंक तथा वित्तीय संस्थाहरूले ग्यारेन्टी क्लेम बुझाउन नसक्ने अवस्था आउन नदिन, सार्वजनिक निक्षेप सुरक्षित राख्न र आर्थिक गतिविधि अवरुद्ध हुन नदिन पनि पहल गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष सिंहको भनाइ छ ।

सरकारले हाल लामो समयसम्म अलपत्र रहेका आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । ठेक्का तोड्दा रुग्ण आयोजनाहरूमा निर्माण व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने महासंघले माग राख्दै आएको छ। यस्तै निर्माण सम्पन्न हुन लागेका आयोजनाहरूमा एक पटकलाई म्याद थप गर्नुपर्ने महासंघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?