+
+
Shares

नबिल बैंकको एसएसई फेलोसिप, सामाजिक प्रभाव पारेका उद्यमलाई आवेदन खुल्यो

नबिल बैंकको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रमले छैटौं चरणको फेलोसिप आह्वान गरेको छ । फेलोसिप ६ महिनाको आवासीय कार्यक्रम हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले छैटौं चरणको नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप फेलोसिपका लागि कात्तिक २८ गतेसम्म आवेदन आह्वान गरेको छ।
  • यस फेलोसिपले गरिबी निवारण र समावेशी विकासमा केन्द्रित २० सामाजिक उद्यमीलाई ६ महिनाको आवासीय तालिम र परामर्श प्रदान गर्नेछ।
  • फेलोसिपबाट ७६ उद्यमीले सहयोग पाएका छन् जसले ६२ उद्यम स्थापना गरी एक हजार एक सय ७२ प्रत्यक्ष र १३ हजार २ सय ९५ अप्रत्यक्ष रोजगारी सृजना गरेका छन्।

१६ कात्तिक, काठमाडौं । नबिल बैंकको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रमले छैटौं चरणको फेलोसिप आह्वान गरेको छ । बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिबी निवारण र समावेशीलाई दिगो गर्ने उद्यमीहरू सहभागी गराउने गरी यो संस्करण सुरु गरेको हो ।

बैंकले यसभन्दा अघि ५ वटा फेलोसिप कार्यक्रममा सञ्चालन गरिसकेको छ । उक्त कार्यक्रमबाट ७६ उद्यमीले आवश्यक वित्तीय तथा प्राविधिक सहयोग पाएको बैंकले जनाएको छ ।

छैटौं संस्करणका लागि कात्तिक २८ गतेसम्मको समय प्रदान गर्दै इच्छुक उद्यमीबाट आवेदन माग गरिएको छ । बैंकले हरेक पटक २० उद्यमीलाई फेलोसिप प्रदान गर्दै आएको छ । सोही अनुसार यो पटकका लागि पनि आवेदन माग गरेको हो ।

यो कार्यक्रम नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (एनएसएस) को प्रमुख पहल हो । ‘यस कार्यक्रमले सामाजिक प्रभाव सिर्जना गरिसकेका छन् वा गर्ने सम्भावना राख्छन् जसले गरिब, बिपन्न र पिछडिएका समुदायका व्यक्तिहरूको जीवनस्तर प्रत्यक्ष रूपमा उकास्ने उद्यमलाई प्राथमिता दिन्छ’ बैंकले भनेको छ ।

फेलोसिप कार्यक्रममा नेपालका सामाजिक उद्यमीहरूले आवेदन दिन सक्छन् । ती उद्यम सामाजिक समस्या समाधान गर्न तथा गरिबी घटाउन प्रतिबद्ध भएको हुनुपर्ने छ । महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका र दुर्गम क्षेत्रका आवेदकहरूलाई प्राथमिकता दिइने पनि बैंकले जनाएको छ । साथै अन्य प्रभावकारी विचार भएका व्यक्तिले पनि आवेदन दिन सक्ने छन् ।

यो कार्यक्रम कार्य–आधारित सिकाइमा केन्द्रित हो । यसले गराइद्वारा सिकाइ विधिबाट उद्यमशील सीप, व्यापारिक बुझाइ र सामाजिक प्रभाव क्षमताको विकासमा जोड दिने बैंकको भनाइ छ । गरिबी सम्बोधन गर्ने तथा नवप्रवर्तनात्मक विचारहरूको लागि मञ्च प्रदान गर्ने उद्देश्य लिइएको बैंकले जनाएको छ । सामाजिक उद्यमीलाई नेतृत्व प्रदान गर्दै समस्या समाधानमा केन्द्रित हुने लक्ष्य लिइएको छ ।

बैंकका अनुसार यो कार्यक्रमले दिगो रोजगारी सृजना गर्ने र गरिब तथा वञ्चित समुदायलाई सशक्त बनाउने समावेशी उद्यमहरूलाई समर्थन गर्नेछ । फेलोहरूले छ महिनाको समग्र शैक्षिक अनुभवका साथ एक वर्षको व्यक्तिगत परामर्श पाउने बैंकले जनानएको छ ।

कार्यक्रममा कार्यशाला, नेटवर्किङ कार्यक्रम र व्यावहारिक सत्रहरू समावेश गरिनेछ । यसले उद्यमीहरूको विचारलाई प्रभावकारी सामाजिक उद्यममा रूपान्तरण गर्न सहयोग पुर्‍याउने बैंकको दाबी छ ।

फेलोसिप ६ महिनाको आवासीय कार्यक्रम हो । फेलोहरूले निःशुल्क बसोबास र सबै कार्यक्रम–स्रोतहरूमा पहुँच पाउने बकैंकले जनाएको छ । सहभागीले व्यवहारिक तालिम र फिल्ड भिजिट, अनुभवी सामाजिक उद्यमीहरूबाट परामर्श, विज्ञहरूको नेटवर्कमा पहुँच, सह–सिकाइको अवसर, वित्तीय पहुँचको अवसर पाउने छन्।

सत्रहरू उद्यमशीलता, वित्त, सामाजिक प्रभाव र सामुदायिक विकासका क्षेत्रमा विशेषज्ञ, विज्ञ, र शैक्षिक व्यक्तिहरूद्वारा सञ्चालन हुनेछ । हालसम्म यस कार्यक्रमले ७६ जना सामाजिक उद्यमीलाई तालिम दिएको छ, जसबाट ६२ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ ।

यी उद्यमहरूले एक हजार एक सय ७२ प्रत्यक्ष र १३ हजार २ सय ९५ अप्रत्यक्ष रोजगारी सृजना गरेको बैंकको दाबी छ । हाल सञ्चालनमा रहेको पाँचौ ब्याचमा २० जना उद्यमी सहभागी छन् । बैंकका अनुसार उक्त फेलोसिपमा सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन वा गुगल फारम डाउनलोड गरी इमेल गर्न सक्ने छन्।

यो फेलोसिप कार्यक्रम समावेशी विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका उद्यमीहरूका लागि खुला छ । जस्तैः कृषि र भ्यालु–चेन उद्यमहरू, हस्तकला र परम्परागत उद्योग, हरित ऊर्जा र वातावरणीय समाधान, सूचना प्रविधि, डिजिटल नवप्रवर्तन र सामाजिक प्रविधि, सीप विकास र रोजगारी सृजना, सांस्कृतिक पर्यटन र स्थानीय उद्यम प्रवर्द्धन गर्ने उद्यमी सहभागी हुन सक्छन् । योग्य फेलोहरूले बैंक तथा सरकार र साझेदार संस्थाहरूले प्रदान गर्ने लगानी अवसरमार्फत वित्तीय सहयोग पाउने छन्।

‘नबिल एसएसइ फेलोसिप रणनीति लक्ष्य हासिल गर्न उपयोगी’ 

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित नबिल एसएसइ फेलोसिपको पाँचौ संस्करणमा अध्ययन गरिरहेका सचिन चापागाइँले आफ्नो संस्थाको रणनीति लक्ष्य हासिल गर्न यो निकै उपयोगी भएको बताउँछन् । उक्त फेलोसिप पाउनुभन्दा अघि संस्था स्थापना गर्ने योजना बनाएको भए पनि आइडिया मात्रै प्रस्तुत गर्दा पनि छनोट भएको उनको भनाइ छ ।

‘फेलोसिप पाएको करिब १५ देखि २० दिनमा मेरो स्टार्ट अप लन्च भएको हो,’ चापागाइँले भने,‘फेलोसिपमा कुनै पनि व्यवसायको सुरुवातका लागि नभइ नहुने आधारभूत पक्षहरूको विषयमा राम्रो ज्ञान मिल्छ ।’

उक्त कार्यक्रममा सहभागी हुनका लागि शैक्षिक सीमा नभएको हुनाले पनि सामाजिक हितमा काम गर्ने उद्यम वा उद्यम सञ्चालन गर्ने आइडिया भए छनोट हुन सकिने उनको भनाइ छ । उक्त कार्यक्रममा स्थापित सँगसँगै आइडिया मात्रै भएका उद्यमी पनि आउने भएकाले अनुभव आदान प्रदानले धेरै परिपक्क बनाउने उनको बुझाइ छ ।

यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम भएकाले एक वर्षमा करिब २ वटा चरण अर्थात ६ महिनाको एउटा कोर्स तयार हुन्छ । यस कार्यक्रममा छनोट भएको खण्डमा नेटवर्किङ, मार्केटिङ, रणनीति, योजना, टार्गेट लगायतका आधारभुत ज्ञान सिक्ने अवसर मिल्ने उनको भनाइ छ ।

उक्त फेलोसिपमा हेल्थ टेक स्टार्ट अप प्रस्तुत गरेर छनोट भएको चापागाइँले बताए । ‘मेरो फार्मेसी म्यानेजमेन्ट एप हो, नेपालकै पहिलो फार्मेसी म्यानेजमेन्ट यो एपमा हालसम्म एक हजार एक सय फार्मेसी आवद्ध छन्, उनीहरू यसलाई निशुल्क प्रयोग गर्छन्,’ उनले भने,‘ सुरु गर्दा रहरले गरेको भएपनि यो फेलोसिप पछि छुट्टै आत्मविश्वास आएको छ ।’

सुरुवातमा प्रयोगकर्ताको सम्भावित संख्या, प्रयोगकर्ताका लागि सहज एपको डिजाइन, एप आवश्यक छ/छैन भन्ने विषलाई ख्याल नै नगरी सञ्चालन गरेको उनले बताए । हाल भने एपलाई थप स्तरोन्नति गरेर मोनिटाइज्ड गर्ने योजनामा रहेको उनले बताए । ‘उक्त फेलोसिप पछि बल्ल थाहा पाएँ कि आफूले पहिले अपरिपक्व तरिकाले स्टार्र्टअप थालेको रहेछु’ उनले भने ।

फेलोसिप पछि विगतको भन्दा राम्रो नेटवर्किङ भएको बताउँदै चापागाइँले भने,‘ लगानीकर्तासँग सम्पर्क, स्थापित उद्योगी व्यवसायीबाट मेन्टरसिप लगायतका पक्षहरूले व्यवसायलाई अघि बढाउन निकै मद्दत भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?