२१ कात्तिक, काठमाडौं । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूले फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लीक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ । उनीहरूले पठाएको लिंक क्लीक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
‘बोनस प्राप्त गर्न भनेर लिंक पठाउने, त्यो लिंकमा क्लीक गरेपछि पीडितको रकम आफ्नो खातामा यो गिरोहले ल्याउने गरेको देखियो’ एसपी अवस्थीले भने ।
ठमेलको छाँया सेन्टरबाट पक्राउ परेका आदित्य कुमारबाट क्यासिनो कार्ड, भारतीय एटीएम समेत बरामद भएको छ । यसरी अनलाइन ठगी गरेको रकम उनले क्यासिनोमा जुवा खेल्ने गरेको आशंका प्रहरीको छ ।
प्रतिक्रिया 4