News Summary
Generated by OK AI. Editorially reviewed.- कोक स्टुडियो पाकिस्तान सन् २००८ मा रोहैल हयातले सुरु गरेका थिए, जसले परम्परागत संगीत र पश्चिमी संगीतको फ्यूजन गरेको छ।
- कोक स्टुडियोले भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धमा सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहन गर्दै दुई देशलाई जोड्ने सेतुको भूमिका खेलेको छ।
पाकिस्तानमा निकै लामो समय चलेको एउटा संगीत सम्बन्धी कार्यक्रम छ– कोक स्टुडियो । पेय पदार्थ कम्पनी कोकाकोलाले निर्माण गरेको यो कार्यक्रम निकै लोकप्रिय थियो । यसमा देशका नामी कलाकारहरू ल्याइन्थे । र, उनीहरूको प्रमुख गीतहरू पुन: रेकर्ड गरिन्थे । जसलाई युट्युबमा प्रशारण गरिन्थ्यो ।
उक्त कार्यक्रममा पपदेखि कव्वालीसम्म, गजलदेखि र्यापसम्मका विधा समेटिन्थे । त्यही विविधता र उत्पादनको गुणस्तरका कार्यक्रम सुरुको शृंखलादेखि नै निकै सफल भयो ।
सन् २००८ मा संगीतकार, किबोर्डवादक र रेकर्ड निर्माता रोहैल हयातले कोक स्टुडियो पाकिस्तानको थालनी गरेका थिए । यो ल्याउनुको मुख्य उद्देश्य नै पश्चिमी संगीत उपकरणसँग परम्परागत पाकिस्तानी संगीत (सूफी, लोक, शास्त्रीय) को फ्यूजन गर्नु थियो । अनि कोक स्टुडियको सफलताको मुख्य कारण पनि त्यही नै हुनगयो ।
तर कोक स्टुडियोको लोकप्रियता देशभित्र मात्र सीमित भएन । छिमेकी देश भारतमा समेत उस्तै प्रभाव रह्यो । जसलाई देखेर निर्माताहरू नैं आश्चर्यमा परेका थिए ।
किनकि साझा इतिहास भए पनि यी दुई देशबीच लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको छ । खराब सम्बन्धले कहिलेकाहीँ सांस्कृतिक आदान-प्रदानमा समेत बाधा पुग्छ । यद्यपि त्यसलाई केही हदसम्म भए पनि कोक स्टुडियोले कम गर्ने काम गर्यो ।
प्रसिद्ध भारतीय संगीतकार शान्तनु मोइत्राले बीबीसीलाई यसैबारे भनेका थिए, ‘कोक स्टुडियो पाकिस्तानले पनि भारतबाट यति धेरै माया पाउँछ भन्ने कल्पना थिएन । यो त भारतको आफ्नै कोक स्टुडियोभन्दा पनि बढी सफल भयो ।’
सीमाका कारण तनावपूर्ण सम्बन्ध आएपनि भारतीय र पाकिस्तानीहरूले सधैं एक-अर्काको कला र संस्कृतिप्रति गहिरो लगाव राख्दै आइरहेका छन् । लाखौं भारतीयहरू गुलाम अली र आबिदा परवीनजस्ता दिग्गज पाकिस्तानी गायकहरूको गीत गुनगुनाउँछन् । पाकिस्तानीहरू समेत भारतीय फिल्महरूको उस्तै पारखी छन् ।
पाकिस्तानमा बलिउडका फिल्महरूले तोडेका बक्सअफिस रेकर्डले पनि त्यसको पुष्टि गर्छ । त्यस्तै दुई देशका कलाकारहरूले प्रायः संगीत र फिल्म परियोजनाहरूमा सहकार्य गर्दै आइरहेका छन् । यद्यपि कहिलेकाहीँ सांस्कृतिक क्षेत्रमा राजनीति प्रवेश गर्दा बलिउडले पाकिस्तानी कलाकारहरूलाई हटाउने र पाकिस्तानले भारतीय फिल्महरूलाई प्रतिबन्ध लगाउने घटना देखिँदै आइरहेको छ ।तर कोक स्टुडियोप्रतिको प्रेम भने कायमै देखिन्छ ।
कोक स्टुडियो स्थापनाको कथा आफैंमा निकै रोचक छ । खासमा कोकाकोला कम्पनीले सन् २००७ तिर ब्राजिलमा आफ्नो उत्पादनका लागि एउटा परियोजना सञ्चलान गरेको थियो । त्यसका लागि कम्पनीले स्थानीय संगीतलाई प्रयोग गर्थ्यो । त्यस परियोजनाको नाम ‘इस्टुडियो कोकाकोला’ नाम दिइएको थियो । त्यसैलाई आधार बनाएर रोहैलले सन् २००८ परीक्षणका रूपमा कोक स्टुडियोको थालेका थिए ।
पहिलो सिजन कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसैले शोमा उनलाई केही गीतहरू मात्र दिइएको थियो । ती गीतहरू असाध्यै लोकप्रिय भए । दर्शक र श्रोताले व्यापक मन पराए । त्यसबाट हौसिएका उनले सिजन २ बाट भने पूर्णरूपमा कार्यक्रमलाई विस्तार गर्ने र आफूले चाहेको सांगीतिक दृष्टिकोण लागू गर्ने काम गरेका थिए ।
कार्यक्रम सुरु भएको थुप्रै वर्ष बित्दा पनि कोक स्टुडियो पाकिस्तानका लाखौं फ्यान छन् । त्यसमाथि भारत र बंगलादेश दुवैले आ-आफ्नै संस्करणहरू बनाएका छन् । ती मध्ये ‘कोक स्टुडियो इन्डिया’ अलि बढी चर्चित जस्तो देखिन्छ । जसमा नेपालका आनी छोइङ डोल्माले समेत प्रस्तुती दिएकी छिन् ।
धेरैले कार्यक्रममा गाइएका गीतहरूले आफूहरूलाई कहिल्यै पनि वाक्क नबनाउने बताउने गरेका छन् । त्यहाँ गाइएका गीतहरूमा अहिले पनि दर्शकहरूले कमेन्ट गरेको देख्न सकिन्छ । त्यसले पनि कार्यक्रमको प्रभाव झल्काउँछ ।
ती सबैभन्दा बढी कार्यक्रमको सफलता प्रतिकूल राजनीतिक परिस्थितिमा भएको थियो । त्यस्तै यसलाई भारत र पाकिस्तानबीच सांस्कृतिक सम्बन्ध पुनर्जीवित गर्ने आशा मान्ने पनि धेरै थिए । जे होस्, यो भारत-पाकिस्तान द्धन्द्ध बिर्साउने एउटा माध्यम बनेको थियो । अनेकन् राजनीतिक मुद्दाभन्दा माथि उठेर संगीत संसार दुई देशलाई जोड्ने सेतु थियो।
प्रतिक्रिया 4