+
+
Shares

कोशी प्रदेश सभा बैठक तरकारी बजारको भवनबाट सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:४१
फाइल तस्वीर

२४ कात्तिक, विराटनगर । विराटनगरको तरकारी बजार ‘गुद्री’ लाई सार्न निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेश सभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका–१ मा रहेको कृषि बजारको भवन र संरचनामा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले आगजनी गर्दा प्रदेश सभा भवन र सचिवालय ध्वस्त भएको थियो ।

मन्त्रिपरिषद् बैठकले कृषि बजारमा प्रदेश सभा बैठक र सचिवालय सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार सचिवालय र प्रदेश सभाका लागि आवश्यक संरचना भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गर्नेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्‌घाटन गरेको तरकारी बजारको संरचना प्रयोगविहीन थियो ।

विराटनगरको गुद्री बजारका व्यापारी जान नपानेपछि प्रयोगविहीन भएको संरचना बाहिर साप्ताहिक हाटबजार लाग्दै आएको छ ।

बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

सहसचिव कोषहरि निरौलालाई आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्करप्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?