
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सभाका सांसदहरूले अभिव्यक्तिको माध्यम गीतलाई रोज्दै साउन महिनामा तीन पटक गीतमार्फत आफ्नो विचार राखेका छन्।
- नेकपा एकीकृत समाजवादीकी विद्या चाम्लिङ राईले बहुविवाह सम्बन्धी संघीय सरकारको तयारीप्रति व्यङ्ग्य गर्दै गीतमार्फत प्रश्न उठाएकी छन्।
- माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले भ्रष्टाचार र अन्य समस्यामा गहिरो पीडा व्यक्त गर्दै सदनमा गीत गाएका छन् र त्यो सन्देश संघीय सरकारसम्म पुगेको बताएका छन्।
२३ साउन, विराटनगर । अभिव्यक्तिका विभिन्न माध्यमहरूमध्ये शसक्त माध्यम मानिन्छ गीत संगीतलाई ।
भूमिगतकालीन समयमा राजनीतिक दलहरूले जब केही कुरा स्पष्ट र सीधासीधा भन्न सक्दैनथे गीत गाएरै राज्यलाई खबरदारी गर्थे ।
मनोरञ्जन दिँदै जनतालाई जागरूक बनाउन पर्यो भने पनि नेताहरू गीतलाई नै माध्यम बनाउथे । आन्दोलनहरूदेखि चुनावी मोर्चासम्म राजनीतिक दल र नेताहरूले गीत गाएरै जनतालाई जुरूक्कै उचालेका पनि छन् भोट मागेका पनि छन् ।
तर अहिले समय यस्तो छ, आफूलाई चित्त बुझेन भने समाज सीधै गालीगलौजमा उत्रिन्छ ।
यस्तो दृष्य संसदभित्र पनि देखिन्छ बाहिर पनि । कोशी प्रदेश सभा भने यो मामिलामा अपवाद देखिएको छ । पछिल्लो समय कोशी प्रदेश सभाका सदस्यहरूले अभिव्यक्तिको माध्यम गीतलाई बनाएका छन् ।
प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्नका लागि सांसदले गीतलाई माध्ययम बनाएका हुन् । साउनमै ३ जना सांसदले गीत मार्फत आफ्नो अभिव्यक्ति राखेका छन् ।
शुक्रबारको प्रदेश सभा बैठकमा नेकपा एकीकृत सामाजवादी पार्टीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले बहुविवाह सम्बन्धी संशोधन गर्न संघीय सरकारले गरेको तयारीप्रति व्यङ्ग्य गर्दै गीत सुनाइन् ।
पुरुषलाई ‘कान्छी उपहार’ दिनेगरी कानुन संशोधन गर्न खोजेको विरोधमा उनले संघीय सरकारले गति छोडेको भन्दै गीत मार्फत प्रश्न गरिन् ।
‘……कस्तो हो यो जनताको सरकार ?
भ्रष्टलाई छपक्कै लुकाउने,
विकृतिलाई विधेयक बनाइ देखाउने
कस्तो हो यो जनताको सरकार ?’
यो गीत गाउनुअघि उनले भनेकी थिइन्, ‘म कलाकार त होइन तर भित्रको पीडा पोख्नका लागि यहाँ गीत गाउँछु ।’ उनको भनाइबाट पनि पुष्टि हुन्छ सांसदहरुले आफ्ना कुरामा सभाको ध्यानाकर्षण गराउन गीतको माध्यम रोजिरहेका हुन् ।
चाम्लिङले पीडा भएका कारण गीत मार्फत व्यक्त गरेको बताइन् । ‘सरकारलाई दुख्ला तर जुन औलामा विष पर्छु त्यो औला खस्छ,’ गीत गाउँदा उनले भनिन्,‘ म कलाकार त होइन तर अति भित्रको पीडा पोख्न गीत सुनाउँदैछु ।’
संसद्मा आफ्नो भनाइ राख्दा गीतलाई माध्यम बनाउनेमा अगाडि छन् माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा । प्रदेशसभा बैठकमा गीत गाएकै कारण उनी पटक-पटक चर्चामा आइरहेका छन् ।
१३ साउनको प्रदेश सभा बैठकमा शेर्पाले ‘नालीमै मुख गाड्छौ किन हो सरकार ? घुसखोरी, भ्रष्टाचार गर्यौ अत्याचार, कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, भ्रष्ट पालेर, दलाल पालेर तिमी भ्रष्ट बनेर, तिमी दलाल बनेर जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा’ भन्दै गीत गाएका थिए ।
सांसद शेर्पा गहिरो गरी पीडा भएका विषयलाई गीत मार्फत सदनमा राख्ने गरेको बताउँछन् । यसरी राखेका विषय संघीय सरकारसम्म पुगेको उनको अनुभव छ । उनले सदनमा गाएका दुई वटा गीत भाइरल पनि भएका थिए । ‘म कलाकार त होइन, तर आफूलाई गहिरोगरी अनुभूति भएको विषयमा गाउने हो, गहिरो पीडा र असन्तुष्टि जुन विषयमा हुन्छ त्यो विषयमा गीत गाउन मन लाग्छ,’ उनले भने, ‘ भनेर नसुन्ने सरकारलाई गीतको माध्ययमबाट भन्दा फरक ढंगले मुटुमा घोच्ने हिसाबले पनि हो ।’
यसरी गाएको गीत सरकारसम्म पुगेको उनले बताए । ‘मैले गीत गाएर दिएको सन्देश प्रदेश सरकारसम्म त पुग्छ नै, संघीय सरकारसम्म पनि पुगेको छ विभिन्न माध्ययमबाट,’ उनले भने ।
११ साउनमा विशेष समय लिएर बोल्दा वन, पर्यटन तथा वातावरण सदानन्द मण्डलले पनि नवीन के भट्टराईले गाएको ‘खाँदै नखाएको विषले ज्युँदै मार्यो बोलको गीत गाएका थिए ।
प्रतिक्रिया 4