+
+
Shares

जेनजी आन्दोलनयता ४ दल दर्ता, प्रक्रियामा २८ पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले गत २४ कात्तिकसम्म चार वटा दललाई आधिकारिकता दिइसकेको छ जसमा गतिशील लोकतान्त्रिक पार्टी पनि छ।
  • जेनजी आन्दोलनपछि १९ दल दर्ताको प्रक्रियामा छन् भने जेनजी अघि ९ दलले पनि आधिकारिकता पाउन सकेका छैनन्।
  • निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने र मंसिर १ देखि १० गतेसम्म दल दर्ताको कार्यक्रम रहेको बताएको छ।

२४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनयता निर्वाचन आयोगमा चार वटा दल दर्ता भएका छन् ।

सोमबार गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो सँगै २३ र २४ भदौ यता दल दर्ताको निवेदन दिएर आधिकारिता पाउने दलको संख्या चार पुगेको हो ।

दिनेश प्रसाईं अध्यक्ष र पियुषप्रसाद कायस्थ महासचिव रहेको गतिशील लोकतान्त्रिक पार्टीले गत ३० असोजमा दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार दर्ता प्रक्रिया पूरा गरेर आधिकारिता पाएको हो ।

यो पार्टीको चुनाव चिह्न दिपज्योति रहेको छ ।

यसअघि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको थियो । यो पार्टीका अध्यक्ष साम्पाङ धरानका मेयर हुन् ।

साम्पाङले १२ असोजमा दल दर्ताको निवेदन दिएका थिए । १६ कात्तिकमा दल दर्ताको प्रमाणपत्र पाए । श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी पनि दर्ता भएका छन् । केशव बहादुर थापा मगर अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले २४ असोजमा दल दर्ताको प्रमाणपत्र पाएको हो । दीपक कुमार साह नेतृत्वको जनस्वराज पार्टी २८ असोजमा दर्ता भएको हो ।

अरू दलहरू पनि दल दर्ताको प्रक्रियामा छन् । आयोगका अनुसार जेनजी आन्दोलनपछि दल दर्ताका पुगेका १९ वटा दल दर्ताको प्रक्रियामा छ । जेनजी आन्दोलन अगाडि नै दर्ता प्रक्रियामा सहभागी भएका ९ दलले पनि आधिकारिता पाउन सकेका छैनन् । यसरी २८ वटा पार्टी दल दर्ता प्रक्रियामा रहेका हुन् ।

ज्ञान बहादुर तामाङको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ता प्रक्रियामा छ । यो पार्टीको चुनाव चिह्न बलेको चीम छ ।

बाँसुरी चुनाव चिह्न राखेर अजय कुमार राईले राष्ट्रिय परिवर्तन पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् ।

गोपीलाल न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न सिक्का प्रस्तावित छ ।

हिरा प्रसाद सेतीले क्रस खुकुरी चुनाव चिह्न राखेर राष्ट्रिय जेनजी पार्टी नेपाल नामक दल दर्ताको निवेदन दिएका छन् ।

नेत्रविक्रम चन्द विप्लव कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । कविर सोपको नेतृत्वमा जनयुग पार्टी नामक दल दर्ताको निवेदन प्रक्रियामा छ ।

अभियन्ता खगेन्द्र सुनारले हाम्रो नेपाल पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् । यो पार्टीको प्रस्तावित चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।

हिमालय बहादुर चन्द नेपाल राष्ट्रिय युवा पार्टी नामक दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् । उनले पार्टीको चुनाव चिह्न गोलो घडीभित्र कलमको लेख्ने टुप्पो सुइको रूपमा रहने प्रस्ताव गरेका छन् ।

चापाकल चुनाव चिह्न प्रस्ताव गरेर योगेन्द्र मण्डल राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

चन्द्रप्रकाश सुवेदी नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी, रत्न प्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नामक दल दर्ताको निवेदन प्रक्रियामा छ ।

सुन्दर नेपाल निर्माण पार्टीको चुनाव चिह्न फलेको केराको बोट प्रस्तावित छ । राष्ट्र निर्माण पाटीको चुनाव चिह्न तीन पात, नागरिक सर्वोच्चता पार्टी नेपालको चुनाव चिह्न मुठ्ठीमा धानको बाला रहेको छ ।

रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् । उनले चुनाव चिह्न मुठ्ठी वा डोजर प्रस्ताव गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), आवाज पार्टी, सार्वभौम नागरिक पार्टी, नागरिक बचाउ दल र राष्ट्र निर्माण दल नेपाल पनि दर्ता प्रक्रियामा रहेका छन् । तर, यी मध्ये कतिपय दलले आवश्यक कागजात निर्वाचन आयोगमा पुर्‍याएका छैनन् ।

नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) को नेतृत्वमा राजकुमार कक्षपति छन् । आवाज पार्टीको अध्यक्षमा सुन्दर राम बोहरा छन् । आवाज पार्टीले चुनाव चिह्न सुनिरहेको कान मागेको छ ।

नागरिक बचाउ दलको नेतृत्वमा माधवप्रसाद खतिवडा र राष्ट्र निर्माण दलको नेतृत्वमा अकबर खान रहेका छन् ।

सार्वभौम नागरिक पार्टीको अध्यक्षमा गणेशकुमार मण्डल छन् । उनले पार्टीको चुनाव चिह्न चौबिस कोण भएको चक्र प्रस्ताव गरेका छन् ।

कानुनन: दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने हुन्छ । तर, आवश्यक कागजात पुगेको अवस्थामा छिटै पनि दल दर्ताको प्रमाणपत्र दिन सकिने र दिँदै आएको आयोगका अधिकारीहरू बताउँछन् । सनाखत लगायतका प्रक्रिया पुरा भएपछि दल दर्ताको प्रमाणपत्र दिँदै आएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने हुन्छ ।

त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ वजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ । यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि फेरि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?