२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले शीर्ष नेताहरूले क्रियाशील सदस्यता टुंगो लगाउन मद्धत नगरेको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पार्टी सदस्यता व्यवस्थापन समितिका सदस्य समेत रहेका रसाइलीले शीर्ष तहका नेताहरूले आफ्नै स्थानको क्रियाशील सदस्यता टुंगो लगाउन समेत तदरुकता नलिएको बताए ।
‘तपाईंहरूको जिल्लामा क्रियाशीलको अवस्था के छ ? क्षेत्रीय र वडा सभापति तपाईंकै मान्छे छन् । कसैले क्रियाशील सदस्यता नवीकरण नगरे कारबाही गर्ने अधिकार हाम्रो समितिलाई छ र ?’ रसाइलीले नेताहरूलाई प्रश्न गरे, ‘महामन्त्री र समिति सदस्यले गरेनन् भनेर हुन्छ ? ३६ पटक ताकेता गरिएको छ ।’
रसाइलीले सहमहामन्त्री महेन्द्र यादवले अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा उल्लेखित विषयमा समेत आलोचना गरेका थिए ।
‘आजका दिनमा क्रियाशील सदस्यता ७२ प्रतिशत नवीकरण भएको छ । ६ लाख क्रियाशील सदस्यता वडाबाट माथि गइसकेको छ,’ रसाइलीले भने, ‘ महेन्द्र दाइ तपाईंको क्षेत्रमा किन नवीकरणको काम सकिएन ? महामन्त्री मन्त्री गगन थापा गएर गर्ने हो कि प्रकाश स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी गएर गरिदिने हो ?’ झापामा कृष्ण सिटौला र विश्वप्रकाश दाइले जवाफ दिनुपर्दछ ।’
रसाइलीले नेता विमलेन्द्र निधिले व्यक्त गरेको विचारमा समेत आपत्ति जनाए ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिको म्याद सकिएको भनि निधिले दिएको बोलीको रसाइलीले आपत्ति जनाए ।
‘डेमोक्रेसीमा बहुमतले शासन चलाउने होला नि ! अल्पमतले चलाउन पाइन्छ ?’ रसाइलीको प्रश्न थियो ।
५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको हुँदा उनीहरूको माग सम्बोधन हुनुपर्ने रसाइलीको भनाइ छ ।
प्रतिक्रिया 4