२६ कात्तिक, काठमाडौं । ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ । लुटपाटको योजना बनाएर दुर्घटना गराई ११ लाख बराबरको सिक्री लुटिएको पाइएको छ ।
५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो छ । उक्त स्कुटरमा बाग्लुङ घर भएकी ३७ वर्षीय भीमकुमारी सिर्पाली सवार थिइन् ।
उक्त स्कुटरलाई बा९३प ३७६७ नम्बरको अर्को स्कुटर र नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा सवार व्यक्तिले ठक्कर दिएर लडाएका थिए ।
सिर्पालीको स्कुटरलाई दुर्घटना गराएर लडाइ उनले गलामा लगाएको ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री त्यो समूहले लुट्यो ।
दुर्घटना गराएर आफ्नो सिक्री लुटिएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिइन् । ठक्कर दिने नम्बर खुलेको भनिएको स्कुटरमाथि अनुसन्धान गर्दा सोमबार प्रहरीले एक जनालाई पक्राउ गर्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय ललितपुरको टोलीले काभ्रेको रोशी गाउँपालिका-७ का ३० वर्षीय गंगेबहादुर तामाङलाई पक्राउ गर्यो ।
उनीमाथि अनुसन्धान गर्दा अन्य चार जनाको योजनामा यो काम भएको बताएका छन् । बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
उनीबाट प्रहरीले ठक्कर दिन प्रयोग भएको बा९३प ३७६७ नम्बरको स्कुटर पनि बरामद गरेको छ ।
प्रतिक्रिया 4