News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्सले दोस्रो संस्करणका लागि अनुभवी कप्तान सोमपाल कामीसहित सात खेलाडी र मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ।
- कर्णालीले पहिलो सिजनमा ७ मध्ये ४ खेल जितेर तेस्रो स्थान हासिल गरेको थियो ।
- कर्णालीले नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड, स्कटल्याण्डका मार्क वाट र भारतीय प्रियांक पान्चाललाई अनुबन्ध गरेको छ।
२७ कात्तिक, काठमाडौं । भारतीय स्टार ब्याटर शिखर धवनलाई अनुबन्ध गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा तहल्का मच्चाएको थियो ।
मैदानमा धवनको प्रदर्शन ठिकठाक भएपनि मैदान बाहिर भने उनको आगमनले चर्चा धेरै भयो । कर्णाली याक्सबाट धवनले टीयू मैदानमा एनपीएल खेल्दा विश्वभर यसको व्यापक चर्चा भयो । भारतमा पनि एनपीएलका समर्थकहरू बढेको थियो भने कर्णाली याक्स र एनपीएलसँगै नेपाली क्रिकेटको चर्चा पनि बढ्यो ।
एनपीएललाई नेपाल भन्दा बाहिर चर्चा गराउने एक कारण र माध्यन उनै धवन बनेका थिए ।
मैदानमा पनि कर्णालीको प्रदर्शन औसत रह्यो । लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको कर्णाली क्वालिफायर दुईमा पराजित हुँदा फाइनल भने पुग्न सकेन । ८ टिम सहभागी एनपीएलमा कर्णाली तेस्रो स्थानमा रह्यो ।

नेपाली राष्ट्रिय टिमकै सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीको कप्तानीमा कर्णालीले पहिलो सिजन लिग चरणमा ७ मध्ये ४ खेल जितेको थियो ।
दोस्रो संस्करणका लागि कर्णालीले कोर समूहलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिएको छ ।
कर्णालीले सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश विक्रम ठकुरीलाई रिटेन गरेको थियो ।
यसमा सोमपाल, गुल्सन र नन्दन राष्ट्रिय टिमको सदस्य छन् भने बाँकी चार खेलाडी कर्णाली प्रदेशभित्रकै छन् । त्यसमा पनि कर्णालीले पहिलो सिजन ट्यालेन्ट हन्टबाटै छनोट गरेर चम्किएका विपिन शर्मालाई पनि रिटेन गरेको छ ।
यस्तै कर्णालीले अक्सनबाट अलराउण्डर पवन सर्राफ, स्पीनर युवराज खत्री, दिपक डुम्रे र इमरान शेखलाई अनुबन्ध गरेको छ ।
बोसिस्टोको निरन्तरता, म्याक्स ओ’डाउडको आगमन
पहिलो सिजन धवनको बगमनले कर्णालीको अन्य विदेशी खेलाडी केही छायामा परेका थिए । त्यसमा पनि अष्ट्रेलियन अलराउण्डर विलियम बोसिस्टोले राम्रो प्रदर्शन गरेका थिए । कर्णालीलाई प्लेअफ पुर्याउन बोसिस्टोले अलराउण्ड प्रदर्शन गरेका थिए ।
दोस्रो संस्करणमा पनि कर्णालीले पहिलो सिजन खेलेका अष्ट्रेलियन यू-१९ टिमका पूर्व कप्तान बोसिस्टोलाई निरन्तरता दिएको छ ।

यस्तै कर्णालीले नेदरल्याण्ड्सका आक्रमक ब्याटर म्याक्स ओ’डाउड र स्कटल्याण्डका स्पीनर मार्क वाटलाई अनुबन्ध गरेको छ । यस्तै कर्णालीले चौथो विदेशी खेलाडीको रुपमा भारती खेलाडी प्रियांक पान्चाललाई अनुबन्ध गरेको छ ।
३५ वर्षीय प्रियांकले केही दिनअघि हङकङ सिक्सेस टुर्नामेन्ट खेलेका थिए । गुजरात बाट रणजी ट्रफी समेत खेलेका उनले ओपनिङ गर्दै आएका छन् । प्रियांकलाई अनुबन्ध गर्दै ब्याटिङ बलियो बनाएको कर्णाली याक्सले जनाएको छ ।
कर्णालीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा दुई जना ब्याटर छन् भने एक जना अलराउण्डर र अर्का स्पीनर छन् ।
कर्णालीको टप अर्डर र मिडल अर्डरमा विदेशी खेलाडीमै निर्भर रहनुपर्नेछ । ओपनर म्याक्स ओ’डाउडसँगै प्रियांक पान्चल र विलियम बोसिस्टोले कर्णालीको ब्याटिङ सम्हाल्नेछन् ।
बोसिस्टोले मिडर हर्डरमा जुनसुकै स्थानमा खेल्न सक्छन् । आवश्यकता अनुसार बोसिस्टोले नम्बर ४ र ५ मा खेल्न सक्छन् ।
विलियम बोसिस्टोले आवश्यकता अनुसार मिडल अर्डरमा ब्याटिङ गर्न सक्छन् । अलराउण्डर धेरै भएकोले कर्णालीका लागि नम्बर पाँच भन्दा तलको पोजिसनमा खासै समस्या देखिँदैन । तर टप अर्डरमा भने कर्णालीसँग विकल्प थोरै छ ।
अक्सनमा नेपालका अनुभवी ब्याटर भित्र्याउन नसकेको कर्णालीले इमरान शेखलाई अनुबन्ध गरेको थियो ।
अक्सनमा अनुबन्ध भएका पवन सर्राफ अलराउण्डर हुन् । उनी स्पीन बलिङ गर्छन् । टी२० मा ओपनिङ समेत गर्न सक्ने पवन लोअर अर्डरमा हार्ड हिटरका रुपमा चिनिन्छन् । तर चोटका कारण पहिलो संस्करण गुमाएका पवन पहिलो पटक एनपीएल खेल्दैछन् ।

कर्णाली चर्चित नेपाली खेलाडीहरू अलराउण्डर भएकोले ब्याटिङको विकल्पमा विकेटकिपर अर्जुन घर्ती, इमरान शेख र दीपक डुम्रे मात्र छन् । तर सबैले पहिलो रोजाइमा खेल्नेमा शंका छ । पहिलो सिजन अर्जुनले भने सुरुवातबाटै खेल्ने अवसर पाएका थिए ।
कर्णालीको टिममा नेपाली अलराउण्डर मिडियम पेसर र स्पीनरहरू धेरै छन् ।
कर्णालीले अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । अलराउण्डर पवन सर्राफ र ब्याटर इमरान शेखले पनि ओपनिङ गर्न सक्छन् । म्याक्स ओ‘डाउडसँग एक नेपाली खेलाडीले ओपनिङ गर्ने सम्भावना छ । यदी ओ’डाउडसँग प्रियांक पान्चलले ओपनिङ गरेमा मिडल अर्डरमा कर्णालीका लागि विकल्प थपिनेछ ।
जसमा बोसिस्टोले मिडल अर्डरमा खेल्ने पक्का छ । यस बाहेक दिपक डुम्रे, अर्जुन घर्ती, इमरान शेख, पवन सर्राफ जस्ता खेलाडीबाट मिडल अर्डरमा कर्णालीले ३ खेलाडी खेलाउन सक्छ । त्यसपछि कर्णालीको मिडियम पेस बलिङ गर्ने अलराउण्डरहरू गुल्सन झा, सोमपाल कामी र नन्दन यादवले पेस बलिङ सम्हाल्नेछन् । स्पीनमा मार्क वाट हुनेछन् भने उनलाई नेपाली स्पीनर विपिन शर्माले साथ दिने सम्भावना धेरै छ । यस्तै युवा स्पीनरहरू दिपेन्द्र रावत र युनिश सिंह ठकुरी पनि विकल्पमा छन् ।
पहिलो सिजनको प्रदर्शन
पहिलो सिजन कर्णाली याक्स तेस्रो भएको थियो । लिग चरणमा ७ मध्ये ४ खेल जित्दै कर्णाली चौथो स्थानमा रहेको थियो । चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गोर्खाजले समान ८ अंक जोडेका थिए । तर चितवन र कर्णाली रनरेटमा अघि रहँदै भाग्यमानी बनेर शीर्ष चारमा रहेका थिए । यी दुईले प्लेअफ खेल्दा काठमान्डु अभागी बनेको थियो ।
पहिलो संस्करणमा कर्णालीले सुरुवाती दुई खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजसँग हार व्यहोर्दै खराब सुरुवात गरेको थियो । तर त्यसपछि लगातार चार खेलमा चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र लुम्बिनी लायन्सलाई हराएको थियो । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोएल्ससँग पराजित भएपनि कर्णाली लिगमा चौथो भयो । त्यसपछि एलिमिनेटरमा कर्णालीले चितवनलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको जनकपुर बोल्ट्सले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
कर्णाली याक्सका लागि पहिलो सिजन ट्यालेन्ट हन्टबाट उदाएका युवा स्पीनर विपिन प्रसाद शर्मा चम्किए । १६ वर्षकै उमेरमा उनले ठूला ठूला खेलाडीको विकेट लिए । उनले लिगमा कूल १३ विकेट लिएर सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहे । यस्तै जिसाद मक्सुदले १० तथा बोसिस्टो, कप्तान सोमपाल कामी र नन्दन यादवले समान ९ विकेट लिएका थिए ।
यस्तै ब्याटिङमा बोसिस्टोले नै कर्णालीका लागि सर्वाधिक १९४ रन बनाएका थिए भने चाडविक वाल्टनले १८३ रन जोडेका थिए । सर्वाधिक रन बनाउनेमा उनीहरू क्रमश: ११औं र १२औं स्थानमा थिए ।
कर्णाली याक्स टिम
रिटेन खेलाडी : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश सिंह ठकुरी
अक्सनमा अनुबन्ध खेलाडी : पवन सर्राफ, युवराज खत्री, इमरान शेख, दिपक डुम्रे
विदेशी खेलाडी : विलयम बोसिस्टो, मार्क वाट, म्याक्स ओ’डाउड
मुख्य प्रशिक्षक : ज्ञानेन्द्र मल्ल
कन्सलट्यान्ट प्रशिक्षक : राजु बस्न्यात
प्रतिक्रिया 4