News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानमा थप बहस र नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन्।
- पोखरेलले भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशा तय गर्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने उल्लेख गरेका छन्।
- उनले मंसिर १३ मा हुने महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सदस्यहरूलाई उत्साह र निर्भयताका साथ सहभागी हुन अपिल गरेका छन्।
२८ कात्तिक, काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै पोखरेलले जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भई नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने उल्लेख गरेका छन्।
‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।’
उनले आगामी १३ मंसिरमा एकै दिन देशभर हुने महाधिवेशन प्रतिनिधिहरूको छनोटमा संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ सहभागी बन्न पार्टी सदस्यहरूलाई अपिल गरेका छन्।
यस्तो छ विज्ञप्ति
वक्तव्य
———-
भदौ २३ गते भएको ‘नव-युवा पुस्ता ‘ (जेन्जी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौं । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदैछ । अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमश: सामान्य हुंँदै गए जस्तो देखिए पनि राजनीतिक अन्योलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्तगरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।
यो महत्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिवद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू विचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरूरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधीनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण राख्न सक्छौं । यसबीच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकांक्षा, आशा , असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि । त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरूरी छ । सोही अनुसार हाम्रो विचार, कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरूरी छ ।
राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौं । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत अडान , अहंकारलाई त्यागेर नयां विश्वास र नयाँ आशा निर्माण गर्न सक्नुपर्छ । आन्दोलन र विध्वंसको पक्ष / विपक्ष वा वादी / प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन ।
इतिहासका हरेक राष्ट्रिय संकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गांसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहान्छु । स्कूले विद्यार्थी हुँदादेखि , को-अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि ; भूमिगत जीवन, जेलजीवन, निरंकुश पन्चायती शासनकाल, त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसावले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी, दुईपटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यसक्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु । आगामी दिनमा पनि मेरो यो प्रतिवद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमूदाय, जेन्जी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एकपटक अभूतपूर्व एकताका लागि अपील गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचित हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु ।
मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनले (२७-२९ मंसिर २०८२, काठमाडौं) सबैको ध्यान तानेको छ । गत २०-२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्तावेजहरू पारित गरिएको थियो । भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ ।
भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ , आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसीर १३ गते देशभर एकै दिन हुँदैछ । जबजको संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु ।
प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा ( एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मंसिर ६ गते राजधानी काठमाडौंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु ।
– ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष
नेकपा ( एमाले)
२०८२/७/२८
प्रतिक्रिया 4