News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्रागिरी हिल्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।
- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले केबुलकार सेवा दुई महिना बन्द भएको थियो।
- कम्पनीको कुल आम्दानी गत आवको पहिलो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँबाट चालु आवमा १३ करोड ८७ लाख रुपैयाँमा घटेको छ।
३० कात्तिक, काठमाडौं । चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी हिल्समा पनि तोडफोड र आगजनी भएका कारण रिसोर्टसहितका सेवा बन्द हुँदा असर परेको कम्पनीले स्पष्ट पारेको छ । बटम स्टेसनमा तोडफोड भएसँगै केबुलकार सेवा करिब २ महिना पूर्ण रुपमा बन्द भएको थियो ।
यसले कम्पनीको सञ्चालन आम्दानी घटेको छ । कुल आम्दानी गत आवको पहिलो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १३ करोड ८७ लाख रुपैयाँ छ ।
बैंक ब्याज घट्दा कम्पनीको वित्तीय लागत पनि घटेको छ । यस्तो लागत पहिले ४ करोड ४९ लाख रुपैयाँ रहेकोमा अहिले ३ करोड ४१ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ०.८१ रुपैयाँ ऋणात्मक छ। १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.८० रुपैयाँ छ ।
प्रतिक्रिया 4