+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares
पोखरामा पोखियो राप्रपाको अन्तरद्वन्द्व :

नेतृत्व र महाधिवेशन विवादले लिङ्देन र राणाबीच छेडखानी

राणाले राप्रपा एक्लैले एजेण्डा स्थापित गर्न नसक्ने भनाइ राखेपछि लिङ्देन कड्किए, ‘बर्बाद छ पार्टीमा, नेता-नेता लडेर खत्तम छ, कमल थापा पनि मिलाएन, केशर विष्ट पनि मिलाएन, मिश्र (रवीन्द्र मिश्र), दुर्गा प्रसाईं पनि मिलाएन भन्ने । बाँधेर ल्याएर मिलाउने हो ? हँ ?,’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ मंसिर २ गते ९:२५

२ मंसिर, पोखरा । पार्टीभित्र लामो समयदेखि देखिएको अन्तरद्वन्द्व र विवादले केन्द्रीय समितिको बैठकसमेत सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व र महाधिवेशन विवाद फेरि उत्कर्षमा पुगेको छ । पोखरा महानगर कार्यसमितिको अधिवेशनमा राप्रपाभित्रको विवाद छताछुल्ल भयो । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले सवाल–जवाफ र एकअर्काप्रति छेडखानी गरेका छन् ।

करिब ३ वर्ष अघिदेखि सुरु भएको मतभेदले फुटकै संघारमा पुगेर रोकिएको राप्रपामा जेनजी आन्दोलनपछि नेतृत्व र महाधिवेशनको विवादले फेरि तल्लो तहसम्मै विभाजित गरेको छ । पहिलेदेखि नै असहमति राख्दै नेतृत्वविरुद्ध समूह नै बनाएर संघर्ष गरिरहेका महामन्त्री धवलशमशेर राणाले चुनाव अगाडि नै महाधिवेशन गर्न माग गरिरहेका छन् ।

जेनजी आन्दोलन र त्योभन्दा पछाडि पार्टीको एजेण्डा स्थापित गर्न लिङ्देन नेतृत्व असफल भएको बताउँदै आइरहेका छन् भने दुर्गा प्रसाईं, कमल थापा, केशरबहादुर विष्टलगायतलाई समेटेर राजावादी–राष्ट्रवादीलाई गोलबद्ध गराएर सडक संघर्ष गर्दै एजेण्डा स्थापित गर्न नेतृत्व चुकेको राणाले बताएका छन् ।

राणाले पोखरा नगर अधिवेशनमा पनि अध्यक्ष लिङ्देनप्रति प्रश्नमात्रै उठाएनन्, अहिलेकै नेतृत्व चुनावमा गए केही हात नलाग्ने सवालसमेत उठाए । अध्यक्ष लिङ्दनले महामन्त्री राणाले गरेको प्रश्नको कडा प्रतिवाद गरे भने छुट्टै बैठक, निर्णय र वक्तव्यबाजी गर्ने, मैले भनेको हुनैपर्छ भनेर पार्टीलाई अनिर्णयको बन्दी गराएर राख्ने चेष्टा नगर्न चेतावनीसमेत दिए ।

पोखरामा भएको महाधिवेशनमा पनि राप्रपाभित्रको अन्तरद्वन्द्व र विवादले तल्लो तहसम्मै कार्यकर्तालाई विभाजित गराएको देखिएको छ । अध्यक्ष लिङ्देन र महामन्त्री राणा दुबैलाई एकै मञ्चमा राखेर एकताको सन्देश दिन खोजिए पनि अधिवेशनमाथि नै अध्यक्ष्य लिङ्देनलेसमेत संशय व्यक्त गरे ।

उनले ठिक ढंगले संगठन बनाउने प्रयत्नसमेत भइरहेको जिकीर गरे । निम्न उपस्थितिका बीच पोखरा अधिवेशन भइरहेको थियो भने पोखरामा महामन्त्री राणा पक्षले हस्तक्षेप गरिरहेको नेताहरुले नै बताइरहेका थिए ।

२०७९ पुसमा नेकपा एमालेसहितको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्नेबाट राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र सुरु भएको विवादको सिलसिला उत्कर्षमा पुग्दै यहाँसम्म आइपुगेको हो । गत साल असोजमा लिङ्देनले संगठन विभाग प्रमुखबाटै राणालाई हटाएर बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।

सरकारमा जाने कि संघीय व्यवस्थाविरुद्ध आन्दोलन गर्ने भन्ने विवाद बढ्दै जाँदा गत चैत १५ गते भएको ३ कुने घटनामा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री राणालगायत हिरासतमै परे । तर, नेतृत्वले असहयोग गरेको भन्दै झनै तिक्तता बढेको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनले  वरिष्ठ उपाध्यक्ष मिश्रसँगै राप्रपामा प्रवेश गरेका ४० नेताको नाम निर्वाचन आयोगमा अध्यावधिक नगरिएको भन्दै अदालतदेखि पार्टीमा शक्तिसंघर्ष गरिरहेको राणाको समूहले जेनजी आन्दोलनपछि तत्काल महाधिवेशनको मिति तोक्न दबाब दिइरहेको छ । महामन्त्री राणाले अध्यक्षको उम्मेदवार हुने घोषणा गरिसकेका छन् र उनले कमल थापादेखि दुर्गा प्रसाईंसम्मलाई पार्टीमा समेट्ने वा मोर्चा बनाएर जाने बताइरहेका छन् । नेतृत्वकै कारण राष्ट्रवादी र राजावादीलाई समेटेर एजेण्डा स्थापित गर्न खोजिरहेका छन् । लिङ्देनले मंसिर २७ र २८ गते हुने केन्द्रीय समितिको बैठकबाटै टुंगो लगाउने बताइरहेका छन् ।

अध्यक्ष लिङ्देनले राणाको भनाइप्रति प्रतिवाद गर्दै पार्टीमा निराशा नछर्न चेतावनीमात्रै दिएनन्, राप्रपालाई पहिलो पार्टी बनाउने दाबीसमेत गरे ।

पोखरा अधिवेशनमा अध्यक्ष लिङ्देन र महामन्त्री राणा दुबैले निश्पक्ष महाधिवेशन हुनेमा भने एकअर्काप्रति आशंका व्यक्त गरे । ‘महाधिवेशनमा जाऔं, निश्पक्ष रुपमा महाधिवेशन हुनुपर्छ । एकतर्फी रुपले महाधिवेशन भयो भने कसैले स्वीकार्न सक्ने अवस्था छैन, निश्पक्ष रुपमा अभिमत हाल्ने परिस्थिति बनाउने जिम्मा पार्टीको अध्यक्षको हो,’ राणाले भने, ‘निश्पक्ष रुपमा महाधिवेशन गराउनुस्, सहज रुपले गइन्छ । चुनावमा सहभागी हुन्छ । जिते पार्टी चलाउँला नजिते सहयोगै गरौंला ।’

राणालाई जवाफ दिँदै अध्यक्ष लिङ्देनले एक दिन, एकछिन पनि महाधिवेशन लम्ब्याउने चाहना नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । तर, महाधिवेशनका लाति तल्लो तहको पहिले अधिवेशन सम्पन्न गर्नुपर्ने लिङदेनको भनाइ थियो ।

अघिल्लो सालको वैशाखदेखि नै सार्दै सार्दै ल्याइएको र यो अन्तिम पटकको म्याद थपाइ भएको लिङ्देनले बताए । ‘महाधिवेशनहरु पहिलेजस्तो लट्पटिएर आउनु भएन । त्यो आफूलाई धोका हो, पार्टीलाई धोका हो, पार्टीले बोकेको एजेण्डालाई धोका हो,’ लिङ्देनले भने, ‘नक्कली काम गर्नुभएन, कसैले पनि ।’

अध्यक्ष राणाले मंसिर १५ गते केन्द्रीय कार्यसमितिको कार्यकाल सकिने भएकाले महाधिवेशनको मिति तोक्ने र चुनावभन्दा अगाडि नै महाधिवेशन हुनुपर्ने जिकीर गरेका थिए । ‘नयाँ म्याण्डेट लिएर चुनावमा जानुपर्छ,’ लिङ्देन नेतृत्वप्रति प्रश्न उठाउँदै राणाले भने, ‘अहिलेको परिस्थितिमा हामी चुनावमा गयौं भने त्यो पार्टीको र हाम्रो अहिलेको परिस्थितिमा गाह्रै होला, त्योभन्दा बढी नभनौं ।’

अध्यक्ष लिङ्देनले राणाको भनाइप्रति प्रतिवाद गर्दै पार्टीमा निराशा नछर्न चेतावनीमात्रै दिएनन्, राप्रपालाई पहिलो पार्टी बनाउने दाबीसमेत गरे । ‘अब यस्तैमा चुनावमा गइयो भने त एक सिट पनि जितिँदैन भन्छ । माइक बल्ल पाएको छ, पहिल्यै त्यही कुरा भन्छ,’ लिङ्देनले भने, ‘म पार्टीको अध्यक्ष हो । म गौरवका साथ भन्छु, दृढतापूर्वक भन्छु, यही अवस्थामा चुनाव गयो भने हामीले राम्रो मिहिनेत गर्‍यौं भने राप्रपा पहिलो पार्टी बन्छ ।’

महामन्त्री राणाले राप्रपाबाटै फुटेका कमल थापालगायत सबै राष्ट्रवादीलाई समेट्न नसकिएको र जेनजी आन्दोलनमा पार्टी चुकेकोसमेत आरोप लगाए । अध्यक्षले फराकिलो हृदय बनाउने हो भने सबै समेटिने र एकपटक ठूलो संघर्ष गरेर राजा स्थापित गर्ने नत्र त्यही आन्दोलनको बलमा चुनावमा जानुपर्ने धारणा महामन्त्री राणाको थियो । राणाले थापाले वार्ता समिति बनाएर र अब राप्रपाले  वार्ता समिति बनाउन अध्यक्ष लिङ्देनलाई आग्रह गरे ।

‘अध्यक्षज्यूसँग आग्रह हो, हाम्रो पनि एउटा वार्ता समिति बनाएर कमल थापामात्रै होइन, सबै राजावादी, राष्ट्रवादीलाई ठूलो हृदय लिएर ठूलो स्थान दिएर उनको पनि मानमर्यादा दिएर, कसैको केही जाने होइन सबैलाई एक ठाउँमा ल्याएर बल्ल हामी चुनावको मैदानमा सफलताको कुरा गरौंला,’ राणाको भनाइ थियो, ‘तपाईंहरुलाई मेरो बाचा छ, मतिरबाट मिल्न कुनै पनि प्रकारको हलो अड्काइन्न । तर, सबैको मानमर्यादालाई राखेर अगाडि बढ्नुपर्छ ।’

राणाले राप्रपाको एजेण्डालाई पार लगाउन जेनजी आन्दोलनपछि सडकमा देखिनुपर्ने बताएका थिए । तर, परिस्थिति आफ्नै पार्टीभित्र समस्या ग्रस्त अवस्थामा रहेको उनको भनाइ थियो । राप्रपा एक्लैले एजेण्डा स्थापित गर्न नसक्ने राणाको भनाइ थियो ।

नकारात्मक कुरामात्रै गर्ने, चुनाव जितिँदैन भन्ने भन्दै अध्यक्ष लिङ्देन आक्रोसित बने । ‘यस्तो पाराले चल्दैन, कहीँ चुनाव जितिँदैन, सबै नमिलाई हुँदैन । के भनेको त्यस्तो,’ उनले आफू काम नगर्ने तर अरुलाई मात्र दोष दिएर बस्ने बानी छोड्न चेतावनी दिए ।

‘बर्बाद छ पार्टीमा, नेता नेता लडेर खत्तम छ, कमल थापा पनि मिलाएन, केशर विष्ट पनि मिलाएन, मिश्र (रवीन्द्र मिश्र), दुर्गा प्रसाईं पनि मिलाएन, भन्ने । बाँधेर ल्याएर मिलाउने हो ? हँ ?,’ लिङ्देनले प्रश्न गरे, ‘उनीहरु मिलेनन् भनेर राप्रपा नचल्ने हो त ? तपाईंहरुले संगठन नगर्ने हो त ? चुनाव नलड्ने हो त ? हिजो हामी चुनावमा जाँदाखेरि उनीहरु सँगै थिए र ?’

कतिपय मानिसहरु चरित्र र व्यवहारले नै नमिल्ने खालको हुने बताउँदै लिङ्देनले महामन्त्री राणालाई प्रश्न गरे, ‘तपाईं चाहिँ यहाँ त्यही निहुँ बनाएर बसिराख्ने ? त्यही कुरा गरेर बसिराख्ने ?’

अहिले कांग्रेस, एमाले, माओवादीले गाउँमा मुख देखाउन नमिल्ने अवस्थामा पुगेर त्यो पार्टी छोडिराखेको लिङ्देनको भनाइ थियो । निराशाको कुरा गरेर नेता नभइने लिङ्देनले बताए । पार्टी प्रणाली सबैले मान्नुपर्ने लिङ्देनले जिकीर थियो ।

अलग–अलग कार्यालय, अलग–अलग बैठक चलाएपछि कसैले नमान्ने लिङ्देनले बताए । ‘अलग–अलग नै वक्तव्य निकाल्दै हिँड्ने, अलग–अलग निर्णय, त्यो चाहिँ मानिँदैन,’ लिङ्देनले भने, ‘बाँकी कुरा त मजस्तो सजिलो मान्छे को छ र ?’

महामन्त्री राणाले जेनजी आन्दोलनभन्दा ३ दिनअघि नै संघदेखि प्रदेशसम्मका सबै सांसदले राजीनामा दिएर आन्दोलनमा जान आग्रह गरेको बताउँदै जेनजी आन्दोलनले ३ दिनपछि राजीनामा दिने अवस्थामा पुर्‍याएको दाबी गरे । उनले राजीनामा दिएर पनि फेरि पद खाइरहेको, सुविधा लिइराखेको भन्दै नेतृत्वप्रति प्रश्न उठाए ।

‘हामीले संघबाट प्रदेशबाट राजीनामा दिएको लेखेर विज्ञप्ति निकाल्यौं । तर, आज पनि मन्त्री खाँदैछन् । प्रदेशका प्रमुख खाँदैछन् । पार्टीमा अनुशासन भनेको यही हो ? निर्णय भएको हो, खेलवाड भा होइन,’ राणाले भने, ‘कसैका जागिर जोगाउनका लागि, कसैको तलबभत्ता जोगाउनका लागि हामीले पार्टीलाई धरापमा राख्नुहुँदैन मित्रहरु ।’

लिङ्देनले सबै निर्णय अबको केन्द्रीय समितिले गर्ने बताए । अध्यक्ष, महामन्त्रीसहित अधिकांश नेताहरुले नवीन समझदारी र सर्वदलीय सरकार गठन गर्नुपर्ने समान भनाइ राखेका थिए ।

‘देशलाई निकाश दिनका लागि प्रधानमन्त्रीसँग मेरो आग्रह छ, राजा, राजनीतिक दल, जेनजीलगायतको सर्वपक्षीय सम्मेलन होस्, चुनाव अगाडि । सर्वपक्षीय बैठक बोलाउनुस्,’ अध्यक्ष लिङ्देनले भने ।

अहिलेको संविधान असफल भइसकेको बताउँदै लिङ्देनले अब त्यसलाई स्वीकार गर्न नसकिने बताए । व्यवस्था परिवर्तन नगरी भ्रष्टाचारको अन्त्य नहुने लिङ्देनको ठोकुवा थियो । उनले कांग्रेस, एमालेलाई नै बोकाएर राजसंस्था फर्काउने दाबीसमेत गरे । पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न राप्रपाले कात्तिक २७ र २८ गते बैठक बोलाएको थियो । तर, एकरुपमा ल्याएने भन्दै मंसिर २७ र २८ गतेका लागि सारिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?