News Summary
Generated by OK AI. Editorially reviewed.- आइवर्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता मंसिर १ गते सम्पन्न भएको छ।
२ मंसिर, काठमाडौं । आइवर्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मंसिर १ गते चलचित्र विकास बोर्डमा सम्पन्न गरिएको हो ।
महोत्सवमा अन्तर्राष्ट्रिय भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्रम द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’ प्रदर्शन गरिएको थियो । साथै केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो।
छैटौँ लघुचलचित्र प्रतियोगितामा अन्तिम छनोटमा परेका ९ लघुचलचित्रमध्ये पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’ प्रथम भयो । सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भयो ।
प्रतियोगितामा आकांक्षा जिसी भुजेलले खोजमूलक पत्रकारितामा आधारित भएर निर्माण गरिएको वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ विशेष अवार्डबाट सम्मानित गरिएको थियो ।
विजेताहरूलाई पुरस्कार, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेटभित्रका थिए । प्रतियोगिताको निर्णायकहरूमा चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट रहेका थिए।
महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी पहिलो महिला कुलपति निशा शर्माले गरेकी थिइन । कार्यक्रममा रास्वपाका पूर्वसांसद तथा चलचित्र निर्माता अशिम शाह, निफका अध्यक्ष केपी पाठक, निफका कार्यक्रम संयोजक शिव पुरी, प्रेस काउन्सिलका मदनकृष्ण सिलवाल, आइवर्ट इन्टरनेशनलकी सचिव मन्दिरा राउतको उपस्थिति थियो ।
त्यसैगरी आइयुसिएन क्षेत्रीय परिषद् सदस्य रोशनी अधिकारी पाठक, फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, रेडियो सगरमाथाका स्टेशन म्यानेजर उर्वशी बस्न्यात, अन्नपूर्ण नेटवर्ककी रिता अधिकारी, अर्थर अवार्डकी अध्यक्ष शिला खड्का, वरिष्ठ सर्जन डा. उत्सवमान श्रेष्ठलगायतको पनि उपस्थिति थियो।
आइवर्ट नेपाल (इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपाल च्याप्टर) सन् २००७ मा स्थापना भएको हो। यसमा टेलिभिजन, रेडियो तथा विभिन्न सञ्चारमाध्यममा सक्रिय महिला पत्रकार तथा सञ्चारकर्मीहरू सदस्यका रूपमा आवद्ध छन् । संस्थाले महिला सञ्चारकर्मीहरूको क्षमता विकासका लागि कार्यशाला, चलचित्र प्रतियोगिता, प्रशिक्षण तथा सचेतना कार्यक्रमहरू संचालन गर्दै आएको छ।
प्रतिक्रिया 4