+
+
Shares

ताराखोलामा अवैध उत्खनन् भएको भन्‍दै स्थानीय युवाहरूको विरोध

पछिल्लो वर्षहरूमा अनियन्त्रित उत्खनन, अवैध निर्माण र जलविद्युत आयोजनाका कारण ताराखोलाको पर्यावरणमा चिन्ता बढेको भन्‍दै स्थानीय युवाहरू र समुदायले विज्ञप्ति जारी गरेर खबरदारी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताराखोलामा अवैध उत्खनन् र जलविद्युत आयोजनाले पर्यावरण संकट निम्त्याएको भन्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
  • स्थानीय युवाहरूले डोजर प्रयोग नगर्न र प्राकृतिक स्रोतहरूको अनियन्त्रित उत्खनन रोक्न सबै पक्षसँग अनुरोध गरेका छन्।
  • जलविद्युत् आयोजनाले नदीमा न्यूनतम प्रवाह नछोड्दा माछा जनावरको जीवनचक्र अवरुद्ध र पानी पिउने अधिकार बञ्चित भएको छ।

२ मंसिर, काठमाडौं। अवैध उत्‍खनन्‌ले ताराखोलाको भविष्य संकटमा परेको भन्‍दै त्यहाँका युवाहरूले विरोध जनाएका छन् ।

बाग्लुङमा रहेको हराभरा पहाडी भूभागमा अवस्थित ताराखोलाको अवैध उत्खनन् गरिएपछि यहाँका युवाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

पछिल्लो वर्षहरूमा अनियन्त्रित उत्खनन, अवैध निर्माण र जलविद्युत आयोजनाका कारण ताराखोलाको पर्यावरणमा चिन्ता बढेको भन्‍दै स्थानीय युवाहरू र समुदायले विज्ञप्ति जारी गरेर खबरदारी गरेका हुन् ।

ताराखोला र गलकोट क्षेत्रका स्थानीय युवाहरु पूर्ण श्रिस, डा. गिरिस कडेँल, तारा थापा, जिवन केसी प्रगती थापा , प्रकाश रोका मगर , दिल निशानी मगर, राजु कडेल जितु घर्ती, कमल घर्ती मगर, जिवन गौचन, बाबुराम सापकोटा भिम श्रीस, प्रकाश निउरे, हरी मगर, राज कुमार सुबेदी, रामु सापकोटालगायतले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन्।

उनीहरूले ताराखोला-दरमखोला भित्र डोजर प्रयोग नगर्न र आसपासका प्राकृतिक स्रोतहरूको अनियन्त्रित उत्खनन नगर्न सबै पक्षसँग अनुरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भविष्यका पुस्ताका लागि प्राकृतिक स्रोतहरूको संरक्षण सुनिश्चित गर्न हामीले आजै जिम्मेवार कदम चाल्नु पर्दछ। यसका लागि स्थानीय सरकारको अभिभावकिय भूमिका तत्कालै सुनिश्चित गर्नु आवश्यक छ। यदि हामीले ताराखोला–दरमखोला नदीको अस्वाभाविक दोहन र अनियन्त्रित उत्खनन जारी राख्यौं भने भविष्यमा हाम्रो पुस्तालाई विविध प्रकारका प्राकृतिक संकटहरू सामना गर्नुपर्न सक्छ।’

यस्तै स्थानीय युवा डा. गिरीस कडेलले व्यवहारिक रुपमा नदीमा अनिवार्य रूपमा छोडिनुपर्ने न्यूनतम प्रवाह नछोड्दा झनै ठुलो समस्या निम्तिएको बताए । उनले भने, ‘ व्यवहारिक रुपमा नदीमा अनिवार्य रूपमा छोडिनुपर्ने न्यूनतम प्रवाह (Environmental Flow/E-Flow) नछोड्दा समस्या झनै बढेको छ। नेपालका कानुन अनुसार, सुक्खा मौसमको औसत न्यूनतम बहावको कम्तीमा १० प्रतिशत नदीमा बग्ने गरी छोड्नैपर्छ। तर, उक्त कानुन नमानिदिँदा नदी सुक्ने, माछा–जनावरको जीवनचक्र अवरुद्ध हुने, र नागरिकको पानी पिउने अधिकार पनि बञ्‍चित भएका छन् ।’

ताराखोला–दरमखोलामा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, प्राकृतिक उत्खनन, र विशेषगरी अनुगमनविहीन जलविद्युत् विस्तारले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको उनको भनाइ छ ।

यस्तै ताराखोला दरमखोला संरक्षण अभियानमा लागेका अर्का युवा पूर्ण श्रिसले नदीको अस्तित्व नै नेटिने गरी कुनै पनि उत्खनन् हुन नदिने बताए। उनले भने, ‘अब डोजर जताबाट आएको हो, उतै फर्किनुपर्छ। नत्र हामीले चाल्नुपर्ने र गर्नुपर्ने सबै खबरदारी गर्न तयार छौं।’

उनका अनुसार १०/१२ वर्षअघि गाई भैंसीले सहजै पानी पिउने ठाउँ र किसानले सिँचाइ गर्ने ठाउँ तथा नदी नालाले चलेको जीवन अहिले माटो, फोहोर र अव्यवस्थित निर्माण गतिविधिले थलिएको छ । उनले भने, ‘यसले कृषि, जनस्वास्थ्य, पशुपालन र दैनिक जीवनमा पर्ने असर त छँदैछ, जैविक विविधतामा समेत तीव्र गिरावट गराएको छ। जसको कारण नदीनालाको प्राकृतिक चक्र नै कमजोर बनाउँदै लगेको छ।’

सयपत्री जलविद्युत् आयोजना निर्माणपश्चात् ताराखोलामा थप पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्।

नेपालको कानूनअनुसार, कुनै पनि जलविद्युत् आयोजना निर्माण गर्दा खोलामा वर्षभरि कम्तीमा १० प्रतिशत पानी बगाउनुपर्ने व्यवस्था छ। जलविद्युत् विधेयकको परिच्छेद–८, दफा २७ मार्फत जलस्रोत संरक्षण, सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने प्रावधान गरेको छ। तर ताराखोलामा काम गरिरहेका उत्पादक कम्पनीहरुले कुनै पनि प्राबधानको पालना गरेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?