३ मंसिर, विराटनगर । १० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा माेरङ कारागार चलान भएका एक व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो ।
जिल्ला कारागार माेरङका सूचना अधिकारी तुलसी पाैडेलका अनुसार अभद्र व्यवहार मुद्दामा लिम्बू थुनामा थिए ।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले उनीविरुद्ध १० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी गत ४ भदाैमा कारागार चलान भएका थिए ।
उनको मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ ।
सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति उनलाई कारागार प्रशासनले विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
पथरीशनिश्चरे नगरपालिका ४ का वडाध्यक्ष लाेकनाथ न्याैपानेका अनुसार लिम्बुमाथि झै-झगडा गरेका कारण अभद्र व्यवहार मुद्दा चलेकाे थियाे । मृत्यु भएकाे खबर आएपछि परिवारलाई जानकारी गराइएकाे उनले बताए ।
कात्तिक पहिलो साता मोरङ कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको थियो भने ७ कात्तिकमा सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो ।
उनीहरू दुवैमा पनि शरीर सुनिने र सास फेर्न गाह्रो हुने समस्या थियो ।
प्रतिक्रिया 4