काठमाडौं । विश्वभर जलवायु परिवर्तनसँग लड्न बर्सेनि आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कन्फ्रेन्स अफ द पार्टिज’ (कोप) को उद्देश्य वातावरणको रक्षा गर्नु हो । तर एक नयाँ अध्ययनले वातावरण संरक्षणको बहस हुने त्यस्ता सम्मेलनहरूका वेबसाइट आफैं कार्बन उत्सर्जनको स्रोत बन्दै गएको खुलासा गरेको छ ।
यो अध्ययनको निष्कर्ष बेलायतको युनिभर्सिटी अफ एडिनबराका अनुसन्धानकर्ताले निकालेका हुन् । ‘प्लोस क्लाइमेट’ पत्रिकामा प्रकाशित अध्ययन रिपोर्ट अनुसार १९९५ देखि २०२४ सम्म कोप वेबसाइटहरूको कार्बन उत्सर्जन १३ हजार प्रतिशतभन्दा बढी रहेको निष्कर्ष छ ।
शोधकर्ताले वेबसाइटहरुको पुरानो अभिलेख (वेब आर्काइभ) विश्लेषण गरेका थिए । यी अभिलेखमा वेबसाइटका पुराना संस्करणहरू सुरक्षित रहने भएकाले, ३० वर्षको अवधिमा कोप वेबसाइटको आकार, संरचना र उनीहरूले उत्पन्न गरेको कार्बन उत्सर्जन कति परिवर्तन भयो भन्ने मापन गरेका थिए ।
सो अध्ययनले १९९५ देखि २००८ (कोप–१४) सम्मका वेबसाइटहरू हल्का थिए । त्यसबेलाको एउटा वेबपेज हेर्दा औसत ०.०२ ग्राम कार्बन उत्सर्जन भएको पाइएको थियो ।
तर २००९ (कोप–१५) पछि वेबसाइटको आकार र डिजिटल प्रभाव तीव्र गतिमा बढ्न थाल्यो । सन् २०२४ को कोप–२९ वेबसाइटको एउटा पेज हेर्दा करिब २.४ ग्राम कार्बन उत्सर्जन भएको अनुमान छ । यो अरु सामान्य वेबसाइटको पेज (०.३६ ग्राम) भन्दा झन्डै सात गुणा धेरै हो ।
हाल ब्राजिलमा कोप–३० सम्मेलन जारी छ ।
कार्बन उत्सर्जनमा विस्फोटक वृद्धि
१९९७ को कोप–३ सम्मेलन (इन्टरनेट डेटा उपलब्ध भएको पहिलो वर्ष) मा वेबसाइटमा भएका सबै भिजिटबाट जम्मा ०.१४ किलोग्राम कार्बन उत्सर्जन भएको अनुमान छ । यो एउटा परिपक्व रूखले दुई दिनमा शोस्ने कार्बनको परिमाण हो ।
तर २०२४ मा कप–२९ वेबसाइटबाट ११६.८५ किलोग्राम कार्बन उत्सर्जन भएको देखिएको थियो ।
करिब २७ वर्षको अवधिमा कोप वेबसाइटको डिजिटल कार्बन उत्सर्जन ८३ हजार प्रतिशतभन्दा बढी बढेको अध्ययन रिपोर्टमा उल्लेख छ ।
अध्ययन रिपोर्टमा उनीहरुले प्रयोग गरेका विश्लेषणात्मक कोड पनि सार्वजनिक गरिएको छ ताकि अरू संस्थाले पनि आफ्नो वेबसाइटको डिजिटल प्रभाव नाप्न सकून् ।
शोधकर्ताहरुको अनुसार वेबसाइटहरूको डिजिटल कार्बन फुटप्रिन्टलाई प्राय: बेवास्ता गरिन्छ, त्यसमा पनि वातावरण संरक्षणका संगठनले नै यो पक्षलाई अनदेखा गरेको पाइएको छ ।
आज इन्टरनेटले वैश्विक कार्बन उत्सर्जनको करिब ३ प्रतिशत हिस्सा ओगट्छ । त्यसैले डिजिटल क्षेत्रको स्थिरता ऊर्जा, यातायात वा उद्योगजत्तिकै महत्वपूर्ण भइसकेको छ ।
कोप वेबसाइटहरूको यो अध्ययनले यही जलवायु परिवर्तनसँगको लडाइँ केवल भौतिक संसारमा होइन, डिजिटल संसारमै पनि लड्नुपर्ने आवश्यकता देखाएको छ ।
किन बढ्यो वेबसाइटहरूको कार्बन उत्सर्जन ?
बढ्दो कार्बन उत्सर्जनमा निम्न कारण जिम्मेवार मानिएको छ–
१. भिडियो, एनिमेशन, हाई–रेजोल्युसन फोटो र इन्फोग्राफिक्सको अत्यधिक प्रयोग ।
२. आधुनिक डिजाइन र फ्रेमवर्कले साइट आकर्षक त बन्छ, तर डेटा लोड धेरै हुन्छ ।
३. धेरै वेबसाइटहरू नवीकरणीय ऊर्जा प्रयोग गर्ने सर्भरमा चल्दैनन् ।
४. कोप सम्मेलन अत्यन्त चर्चित हुने भएकाले लाखौं प्रयोगकर्ताले एकैचोटि वेबसाइट हेर्छन् ।
समाधान र सिफारिस
शोधकर्ताहरुले यो समस्या समाधानका केही व्यावहारिक उपाय सुझाएका छन् । ती यस्ता छन्–
१. वेबसाइटको पेज साइज घटाउने, अनावश्यक फोटो–भिडियो हटाउने।
२. कोड र डिजाइन अनुकूल बनाउने, साइट हल्का बनाउने ।
३. नवीकरणीय ऊर्जामा चल्ने सर्भर प्रयोग गर्ने ।
४. वेबसाइटको डिजिटल कार्बन फुटप्रिन्ट नियमित मापन गर्ने ।
प्रतिक्रिया 4