४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।
बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनका अनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार फेरि कार्यदलस्तरीय छलफल हुनेछ ।
‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौं । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ । संगठनात्मक विषयमा समेत छलफल गरेका थियौं भने आज अलि यसलाई निष्कर्षमा पुर्याउने किसिमले छलफल गर्यौं,’ उनले भने, ‘आज हामीले सहमतिको एउटा ड्राफ्ट तयार पार्यौं । त्यसमा छलफल गर्यौं र त्यसलाई अन्तिम रुप दिनेगरी अर्को दिन बस्ने निर्णय गरेका छौं । साथीहरुले केही महत्वपूर्ण सुझाव समेत दिनुभएको छ । र भोलि हामी सहमतिलाई अन्तिम रुप दिन्छौं । अब एकता प्रक्रिया अब अन्तिम अवस्थातिर पुगेको छ ।’
नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए ।
प्रतिक्रिया 4