+
+
Shares

मधेशमा एक्लिँदै एमाले

प्रदेश सभामा पहिलो पार्टी भएका कारण सत्ताको महत्वाकांक्षा बढाउने एमालेले प्रदेश प्रमुख, सभामुख पद र कांग्रेसको साथ गुमाएको छ । नवनियुक्त मुख्यमन्त्री संवैधानिक परीक्षणमा छन्। यता मधेश प्रवेशमै एमालेका मुख्य नेताहरुलाई अवरोध हुन थालेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर ५ गते ९:१०

४ मंसिर, जनकपुरधाम। एमाले २०७९ चुनावबाट मधेश प्रदेशसभामा २५ सिटसहित ठूलो दलको हैसियत आर्जन गर्‍यो । त्यही अंकगणितको बलमा उसले अन्य दलसँग सत्ताको तालमेल गर्दै महत्वपूर्ण पद सभामुख आफ्नो भागमा पार्‍यो । रामचन्द्र मण्डल सभामुख बने ।

एमाले संघीय सरकारमै रहँदा उसकै सिफारिसमा पार्टीको कोटामा झापाकी सुमित्रा सुवेदी  भण्डारी प्रदेश प्रमुख बनेर मधेश आइपुगिन् ।

प्रदेशमा ठूलो दलको हैसियत, सभामुख, प्रदेश प्रमुख, सरकारमा आकर्षक भौतिक पूर्वाधार मन्त्रालय सहित एमाले मधेशको शासन सत्तामा शक्तिशाली बन्यो ।

त्यही बलमा थप शक्ति विस्तार गरी प्रदेश सत्तको नेतृत्व नै हत्याउन खोज्दा एमाले अहिले मधेशमा एक्लिँदै गएको छ । अहिले मुख्य दुई प्रदेश प्रमुख र सभामुख पद गुमाइसकेको छ ।

कात्तिक २२ मा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिन भएको घटनाक्रमले एमाले एक्लो बनेको छ ।

गत कार्तिक २३ गते दिउँसोसम्म दोस्रो ठूलो दल कांग्रेस उसैको साथमा थियो । तर उसले पनि साथ छोड्यो । ६ दलको कित्तामा पुगेपछि अहिले कांग्रेससहितको सातदलीय गठबन्धन छ । जसमा जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसमेत छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालमा यसरी पहिलोपटक एमालेलाई विपत्त आइपरेको हो । यसकापछि एमालेले ठूलो दल भएको महत्वाकांक्षाले पनि काम गरेको छ । ठूलो दलको हैसियतमा एमाले सभामुख र प्रदेश प्रमुखलाई समेत प्रयोग गरर संविधानको धारा १६८ को ३ बमोजिम सत्तामा पुग्दा यो स्थिति आएको हो ।

गत कात्तिक २४ गते बिहान बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री सरोजकुमार यादवको शपथ घटनाले मधेशको राजनीति तरंगित हुन पुग्यो । पदीय गरिमा गिराएकोमा कारबाही स्वरुप सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाटै हटाइयो । उनको ठाउँमा डा. सुरेन्द्र लाभलाई प्रदेश प्रमुख बनाइएको छ ।

घटनाक्रम यतिकैमा रोकिएको छैन । सरकार गठन असंवैधानिक भन्दै सातदलीय गठबन्धन मधेश भवन अगाडि धर्ना दिँदा र आन्दोलन चर्काउँदा मुख्यमन्त्री सरोज यादवले काम गर्नै पाएका छैनन् । उनले स्वयं आफू असुरक्षित रहेको प्रतिक्रिया दिइरहेका छन् ।

सातदलीय गठबन्धनका ७४ सांसदले सर्वोच्चमा दिएको रिटमा गत मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सरकारलाई कामचलाउको अवस्थामा पुर्‍याइदिएको छ ।

सातदलीय गठबन्धनको कारबाहीमा बुधबार एमालेबाट सभामुख बनेका रामचन्द मण्डल पनि पदमुक्त भएका छन् ।

पद अनुकूलको आचरण नगरेको भन्दै गत कार्तिक २७ गते सात दलका ६४ सांसदले मण्डलमाथि महाअभियोग दर्ता गराएका थिए ।

बुधबारको प्रदेशसभा बैठकले उक्त प्रस्ताव दुई तिहाई (७६ सांसदको हस्ताक्षर) बहुमतले पारित गर्दै पदमुक्त गरिएको छ ।

सभामुखविरुद्धको महाअभियोग फेल हुन नदिन समेत सभामुखले पाँच सांसदलाई बर्खास्त गरेका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद यथावत रह्यो । र अन्ततः सभामुख पद पनि एमालेको गुमेको छ ।

सभामुख मण्डलको पद जोगाउन दुई तिहाइ बुहमत नपुगोस् भनेर एमालेले कांग्रेसहितका केही दललाई आन्तरिक रुपमा गुहारेका थिए । तर कसैले सहयोग गरेन । सभमुख मण्डल आफूमाथिको महाअभियोग दार्ता र पारित अवैधानिक रहेको प्रतिक्रिया दिइरहेका छन् । यद्यपी उनी कानुनी उपचारको लागि अघि नबढ्ने घोषणा गरेका छन् ।

‘सभामुख नियुक्ति तथा पद मुक्त विशुद्ध अंक गणितीय खेल हो । गणितसँग आचरण दाज्नु पाखण्डीपना हो । नियमावली विपरीत दर्ता र पास हुनु कानुनी राज्यको उपहास हो तथापि म कानुनी उपचार खोज्ने पक्षमा छैन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्रोतका अनुसार उनी सर्वोच्च जाने तयारीमा थिए । तर लगतै बारामा भएको घटनाले एमाले सशंकित बनेको छ । बुधबार नै यता सभामुख जस्तो गरिममामय पद गुम्यो भने शीर्ष नेतालाई निषेध गर्ने क्रम पनि सुरु भएको छ ।

बुधबार सिमरामा एमाले शीर्ष नेता आउने भएपछि उत्ता अहिलेसम्म जेनजीको आन्दोलनले अशान्त छ । बाराको पुरवानीपुरमा युवा संघले राखेको जनजागरण कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र एमाले नेता महेश बस्नेत आउने भएपछि जेनजीले रोक्न खोज्दा पटक पटक झडप भएको छ ।

एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । उता शीर्ष नेतृत्व आउन पाएन । यसले एमालेलाई झन् झस्काएको छ ।

हुन त २०७२ मा संविधान घोषणाको मुखमा भएको लामो मधेश आन्दोलनमा एमालेका सांसदसहित शीर्ष नेतृत्वलाई प्रवेश निषेध गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलिले मधेश र मधेशीप्रति दिएको तिक्ततापूर्ण टिकाटिप्पणीले सो अवस्था आएको थियो । पछि मेचीमहाकाली अभियान सुरु गरेर २०७३ फागुन २३ मा मधेशको सप्तरी प्रवेश गर्दा प्रतिरोध भएको थियो । सप्तरीको मलेठमा भएको प्रतिरोधमा प्रहरीले गोली चलाउँदा पाँचजनाले ज्यान नै गुमाएका थिए ।

यद्यपि, अवस्था सहज हुँदै जाँदा पछिल्लो चुनावमा संसदीय र स्थानीय निर्वाचनमा एमाले ठूलो पार्टीको रुपमा अगाडि आयो । प्रतिनिधि सभामा १० र प्रदेशसभामा २५ सिट जितेर ठूलो पार्टी बन्यो ।

तर पछिल्ला घटनाक्रमले मधेशमा एमालेलाई ठूलो धक्का लागेको र पार्टीको सार्वजनिक छविमा प्रश्न उठेको मधेशका इन्चार्जसमेत रहिसकेका एमालेका सचिव योगेश भट्टराईको स्वीकारोक्ति छ ।

‘आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ’ उनले बिहीबार लेखेका छन्,’ मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीब्र बनेको छ । यो सबै किन र कसको कारणले भयो ?’

भट्टराईले मधेशमा पार्टी भित्र कसले केका लागि खेल गरेका हुन् लगायतको प्रश्न उठाउँदै नेतृत्वलाई गम्भीर हुन आग्रह समेत गरेका छन् ।

‘मधेसमा स्वयं पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यि तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ?’ उनको प्रश्न छ ।

भट्टराईले अगाडि नेतृत्वलाई आग्रह गर्दै लेखेका छन् ‘पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भिर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?