५ मंसिर, काठमाडौं । जेनजीका अगुवा सुनद गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनका कारण बाराको सिमरा घटना भएको बताएका छन् । गुरुङले बारा पुगेर पनि गृहमन्त्री अर्यालमाथि असन्तुष्टि पोखेका हुन् ।
बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा प्रशासन र जेनजीबीचको वार्तामा सहभागी हुँदै उनले सरकार जेनजीको भए पनि गृहमन्त्री आफूहरूको नभएको बताए ।
उनले भने, ‘सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन । हामी आफैं पनि गृहमन्त्रीको विरोधमा आएका छौं । यो लाचारपन अब सहन सक्दैनौं हामीहरू । हतियारधारीहरू बाटै भरि घुमिरहेका छन् । बोतल उठाएर हाम्रा केटाहरूलाई हानिरहेका छन् ।’
देशका लागि लडेका जेनजीहरूले नै अन्याय सहनु पर्ने भन्दै बाराका प्रशानसँग उनले प्रश्न गरे, ‘हामीले कहिलेसम्म सहनु पर्ने ? हामीले कहिले पार्टीको झण्डा उठाएर हिँडेका छौं र ? हाम्रो लागि पहिलो कुरा देश हो, त्यसपछि मात्रै बाँकी कुरा हो । देश बन्नुपर्छ भनेर हामीहरू चुप लागेर बसेका हौं ।’
नेकपा एमालेप्रति संकेत गर्दै उनले अगाडि भने, ‘प्रहरी र हामीलाई उनीहरूले भिडाइ दिए ।’
सरकारले जेनजीमाथि गोली हानेकै कारण २३ भदौपछि २४ भदौको घटना भएको उनले बताए ।
प्रतिक्रिया 4