+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares
ट्राभलग :

‘जुँगे हेडसर’ को मनपर्ने गन्तव्य भारदेउ, शताब्दी पुरानो घरमा होमस्टे

सातदोबाटोबाट २२ किलोमिटर यात्रापछि पुगिन्छ भारदेउ । यो गाउँ कोन्ज्योसोम गाउँपालिका–५ मा पर्छ । जुँगे हेडसर र पार्टीका केन्द्रीयस्तरका अन्य नेताको बाक्लै आवागमनपछि यो ठाउँले सञ्चारमाध्यममा पनि स्थान पाउन थालेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ मंसिर ६ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको भारदेउ गाउँलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार र युवाले सक्रिय भूमिका खेलेका छन्।
  • भारदेउमा धार्मिक पर्यटन विकास समितिले फूलचोकी डाँडामा त्रिमूर्ति निर्माण गरेको छ।
  • भारदेउमा १७ झ्याले होमस्टे, रेड हाउस, यल्लो हाउस होमस्टे र मिनी रिसोर्ट सञ्चालनमा छन्।

६ मंसिर, भारदेउ (ललितपुर) । काठमाडौं उपत्यकाभित्रको ‘कर्णाली’ उपनामले चिनिन्छ- कोन्ज्योसोम । तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा फर्किएर चुनावमा होमिएसँगै यस गाउँपालिकामा माओवादी पार्टीले जित निकाल्न थाल्यो ।

त्यसपछि ‘जुँगे हेडसर’ र उनका नेता/कार्यकर्ताको आवागमन पनि बाक्लै हुन थाल्यो । जुँगे हेडसर अर्थात् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनको भूमिका अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजकका रूपमा छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी गोपीलाल सिङ्तानका अनुसार यहाँ प्रचण्डलाई जुँगे हेडसरका नाममा चिन्छन् ।

काठमाडौं चक्रपथ (सातदोबाटो) बाट २२ किलोमिटर यात्रापछि पुगिन्छ ललितपुर भारदेउ । यो गाउँ कोन्ज्योसोम गाउँपालिका–५ मा पर्छ । जुँगे हेडसर र पार्टीका केन्द्रीयस्तरका अन्य नेताको बाक्लै आवागमनपछि यो ठाउँले सञ्चारमाध्यममा पनि स्थान पाउन थालेको छ ।

स्थानीय सरकार र पूर्वअध्यक्ष सिङ्तान स्वयं अहिले भारदेउलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सक्रिय भएका छन् । जसलाई स्थानीय युवाले खुलेर साथ दिएका छन् । फलस्वरूप भारदेउ यतिबेला पर्यटकीय गाउँका रूपमा स्थापित हुने क्रममा छ ।

भारदेउस्थित पर्यटकीय सम्भावना उजागर र प्रवर्द्धन गर्न धार्मिक पर्यटन विकास समिति गठन गरिएको छ । गाउँपालिकाको सहयोगमा समितिले फूलचोकी डाँडाकै सामुन्ने खडा फूलबारी डाँडामा भव्य त्रिमूर्ति निर्माण गरेको छ ।

त्रिमूर्ति क्षेत्र अहिले धार्मिक तथा साहसिक पर्यटक आकर्षणको केन्द्र बन्दैछ । रमाइलो डाँडाबाट पर्यटकले भगवानको दर्शनमात्र पाउँदैनन्, सामुन्ने टलक्क टल्कने हिमालको लामो शृङ्खला समेत अवलोकन गर्न सक्छन् ।

त्रिमूर्ति नजिकै गुप्तेश्वर मन्दिर र गुफा अवस्थित छ । गुफा यात्राले यात्रुलाई फरक अनुभूति दिन्छ । त्रिमूर्ति हिन्दु र बौद्ध धर्मावलम्बीबीच लोकप्रिय बन्दैछ ।

भारदेउ गाउँमा ८० प्रतिशतभन्दा बढी तामाङ जातीको बाहुल्य छ । त्यसबाहेक नेवार समुदाय छ । गाउँलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले युवाकै पहलमा अहिले होमस्टे सञ्चालनमा छन् ।

तीमध्ये सबैभन्दा आकर्षणको केन्द्र बनेको छ १ सय २७ वर्ष पुरानो घरमा सञ्चालित होमस्टे । यो घरमा १७ झ्याल छन् । सोहीकारण यस गाउँमा यो होमस्टेको पहिचान नै ‘१७ झ्याले होमस्टे’ रहेको छ ।

यसबाहेक भारदेउमा अहिले रेड हाउस, यल्लो हाउस होमस्टे र भारदेउ मिनी रिसोर्ट सञ्चालनमा छन् । पर्यटकीय गतिविधि बढेसँगै युवा होमस्टेमा आकर्षित भइरहेको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कुमार तामाङ बताउँछन् ।

‘हामी निकै आशावादी छौं,’ उनी भन्छन्, ‘भारदेउलाई माया गर्दै आउने आन्तरिक पर्यटक संख्याले उत्साहित बनाएको छ ।’

कसरी पुगिन्छ भारदेउ ?

फूलचोकी डाँडाको छेउमै उभिएको छ फुलबारी डाँडा । हाइकिङप्रेमी गोदावरीबाट पदयात्रा गर्दै भारदेउ पुग्न सक्छन् । एकदिनको पैदल यात्रामा सहजै भारदेउ गाउँ पुग्न सकिन्छ ।

फूलबारी डाँडा समुद्री सतहबाट २ हजार ५ सय ७५ मिटर उचाइमा छ । जसलाई स्थानीय रूपमा कोन्ज्योसोम डाँडाका नाममा समेत चिनिन्छ ।

सडक यात्राबाट सवारीसाधनमा जाने हो भने सातदोबाटोबाट करिब २२ किलोमिटर दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुग्न सकिन्छ । गाडीबाट यात्रा गर्दा सातदोबाटोबाट डेढ घण्टाको यात्रामा यो गाउँ पुगिन्छ ।

सातदोबाटो–ढोलाहिटी–ठेचो–सुनाकोठी–चापागाउँ हुँदै यहाँ सडक सुविधा पुगेको छ । राजधानीको नजिक भए पनि पूर्णतया ग्रामीण भेगको झल्को दिने भारदेउ गाउँमा स्थानीय मौलिकता झल्कने घर, खेतपाती र पशुपालनमा रमाइरहेका स्थानीयको दैनिकीले अतित सम्झाउँछ भने साथमा होमस्टेमा खुलाउने रैथाने परिकार र साँझ अर्डर अनुसार पस्कने सांस्कृतिक कार्यक्रमले होमस्टे बसाइ विशेष बनाउँछ ।

अहिले पनि सार्वजनिक बिदा तथा शुक्रबार र शनिबार भारदेउमा पर्यटक आगमन बढेको छ । साइक्लिङ होस् वा बाइकमा यात्रा गर्दै समेत सहजै भारदेउ पुग्न सकिन्छ ।

भारदेउ पुग्ने पाहुनाको स्वागतमा स्थानीयले पस्कने स्थानीय ट्राउट माछा विशेष परिकारका रूपमा प्रख्यात छ । स्थानीय स्तरमा उत्पादन हुने आलुका परिकार अर्को रैथाने खानामा पर्छ । तोरी फुल्ने मौसम भएका कारण यतिबेला पर्यटकले तस्वीर र भिडियोका लागि आकर्षक स्थल फेला पार्न सक्छन् ।

फूलबारी डाँडाबाट हिमालमा सूर्यको पहिलो झल्को पर्दा देखिने सुनौलो दृष्यावलोकनका लागि भने घाम झुल्कन अगाडि नै डाँडामा पुग्ने पर्छ । भारदेउबाट कच्ची सडकको करिब ६/७ किलोमिटर दूरीको यात्रापछि डाँडामा पुग्न सकिन्छ ।

बाइक र साइकल सहजै पुग्ने यो डाँडासम्म पैदल यात्रामार्फत पुग्न भने डेढ घण्टा जति लाग्छ । ग्रामीण भेगमा यातायात सुविधा लिई यात्रु डाँडासम्म पुगी सूर्योदयमा रमाउन सक्छन् ।

भारदेउबाट फूलबारी डाँडासम्म पुग्न सकिने पदमार्गलाई तामाङ पदमार्ग नाम दिइएको छ । सोही पदयात्रामा पर्ने कोन्ज्योसोम झरना समेत यस गन्तव्यको आकर्षण हो ।

स्थानीय यतिबेला संस्कृतिलाई पर्यटनसँग जोड्न कस्सिएका छन् । तामाङ संस्कृति आफैंमा धनी छ । रैथाने खाना, लवाइखवाइलाई होमस्टेका माध्यमबाट पर्यटनसँग जोड्दै भाउदेउलाई आकर्षक गन्तव्य बनाउने योजनासाथ यहाँ विभिन्न अभियान चलाइएको छ । सोही क्रममा नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी तथा भिडियो प्रतियोगिताको तयारी समेत गरिएको छ ।

‘काठमाडौं उपत्यकाकै एक भेगमा पनि ग्रामीण अनुभूति दिलाउन सक्ने सीमित ठाउँमध्ये भारदेउ एउटा गाउँ हो,’ बोर्डका सहायक प्रवक्ता सुधन सुवेदी भन्छन् ।

प्रवर्द्धन अभावले अपेक्षित पाहुना पुग्न नसकेको स्थानीयको गुनासो सम्बोधन गर्न बोर्डले यस वर्ष बजेट नै विनियोजन गरेर सहयोग गरेको छ । भाउदेउमा वैशाख पूर्णिमा र शिवरात्रिका दिन मेला लाग्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?