६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ को चुनावका लागि भोट माग्न थालेको छ । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजीसँग संवाद कार्यक्रम राखेको थियो ।
कार्यक्रमको सुरुवातमा सांस्कृति कार्यक्रम थियो । जहाँ कलाकर, रचनाकार, संगितकार, गायक लगायतले प्रस्तुती दिएका थिए । कलाकारहरूले ‘…चम्किलो तारामा दिनुहोला भोट’ भन्दै प्रस्तुती दिएका थिए ।
जसमा नेपाली कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताहरूले थपडी बजाएर र नाचेर समर्थन जनाए ।
नवगठिन नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारा हो । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० भन्दा बढी दल समूह मिलेर बनेको पार्टी हो ।
नेपाली कम्युनिस्ट पाटी बनेपछि उनीहरूले जेनजीसँगै संवाद कार्यक्रम राखेका हुन् । उक्त कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू सहभागी थिए । जेनजीहरुले चाहेको नेपाल बनाउने उनीहरूले वाचा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता जगन्नाथ खतिवडाले आफूहरू जेनजीको आवाज सुनेर अगाडि बढ्न तयार रहेको बताए ।
मुलुकमा परिवर्तन गर्नका निम्ति भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको उनले स्मरण गरे । उक्त परिवर्तनको चाहना भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना रहेको भन्दै उनले यही संकल्पका साथ आफूहरू अगाडि बढिसकेको बताए ।
राणा शासन, पञ्चायत र राजतन्त्र ढलेर गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै उनले जेनजी पुस्ताले खोजेको पुस्तान्तरणमा समेत आफूहरू सचेत रहेको बताए ।
‘कमरेड प्रचण्ड भविष्यमा यो मुलुकलाई हाँक्ने उत्तराधिकारी खोजिरहनुभएको होला । कमरेड माधव नेपाल भविष्यमा यो मुलुकलाई हाँक्ने कम्युनिस्ट उत्तराधिकारी खोजिरहनुभएको छ । हामी पनि मुलुक हाँक्ने नयाँ कम्युनिस्ट उत्तराधिकारी खोजिरहेका छौं,’ उनले भने ।
नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी सुम्पन तयार रहेको भन्दै उनले आफ्नो पार्टीले परिवर्तनको चाहना बोक्ने भएकाले सोही अनुसार निर्णय लिन नागरिकलाई समेत आग्रह गरे ।
जनताको साथ लिएर जनताकै चाहना अनुसार नीति बनाएर भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र नेतृत्वमा पुस्तान्तरण गर्दै अगाडि बढ्न पार्टी तयार रहेको भन्दै उनले सोही अनुसार आगामी निर्वाचनमा मतदान गर्न आग्रह गरे ।
प्रतिक्रिया 4