+
+
Shares

देश जलिरहेका बेला भाग्नेलाई जनताले किनारा लगाउने छन् : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १६:३१

७ मंसिर, धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् ।

नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् ।

अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने एकता सन्देश सभाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले २३ र २४ भदौमा राष्ट्र संकटमा भएका बेला प्रधानमन्त्रीको हैसियतमा ओली र सत्तारुढ गठबन्धन नेपाली कांग्रेसले कुनै भूमिका नखेलेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले अहंकारी भाषामा आफूलाई शक्तिशाली बनाउने गरेकोमा २३ र २४ भदौको घटनामा उपस्थिति देखाउन नसकेर भाग्नुपर्ने अवस्था बनेको रावलको टिप्पणी थियो ।

‘गठबन्धन सरकारका प्रधानमन्त्रीले बारम्बार शक्तिशाली सरकार २०८४ सम्म अटल रहन्छ भन्ने अहंकारयुक्त भनाइ सुनिन्थ्यो । तर दु:खका साथ भन्नुपर्छ २३ र २४ भदौको अकल्पनीय घटनामा न त्यो शक्तिशाली सरकारले उपस्थिति देखाउन सक्यो न त्यसले देशका व्यवस्थापिका, कार्यपालिका, शासन प्रशासनको संरक्षण गर्न सक्यो,’ रावलले भने, ‘गठबन्धन सरकार नालायक, शासन गर्न असक्षम त्यसका प्रधानमन्त्री राष्ट्र जल्दै गर्दा राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिको बैठक नगरेर गैर जिम्मेवारी किसिमले आफ्नो ज्यान बचाउन सेनाको हेलिकोप्टरबाट भागेको हामीलाई थाहा छदैछ ।’

रावलले ओलीको पछि लागेर नेपाली कांग्रेस पनि २३ र २४ भदौको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको दाबी गरेका छन् ।

‘अहिले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपनि राष्ट्रलाई संवेदनशील अवस्थामा पुर्‍याउने काममा केपी ओलीसँगै सहभागी भएको स्पष्ट देखिन्छ,’ उनले भने, ‘२३ र २४ भदौको घटनाको जिम्मेवारी नेकपा एमाले र कांग्रेसको शिर्ष नेतृत्वसँगै सरकारमा भएकाहरुले लिनुपर्छ ।’

सरकारको प्रमुख कर्तव्य सीमा सुरक्षा र जनताको सुरक्षा गर्ने हुने भएपनि तत्कालीन सरकार दुवैमा असफल देखिएको बताउँदै जनताले आम निर्वाचनमार्फत किनारा लगाउने दाबी गरेका छन् । २३ र २४ भदौको घटनाको छानविनका लागि बनेको समितिले निष्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?