News Summary
Generated by OK AI. Editorially reviewed.- यान लेकुनले मेटाबाट बाहिरिएर नयाँ कम्पनी स्थापना गर्ने घोषणा गरेका छन् जसले एआई उद्योगमा नयाँ बहस सुरु गरेको छ।
- लेकुनले मेटामा १२ वर्ष बिताए र पाँच वर्ष FAIR प्रयोगशाला नेतृत्व तथा सात वर्ष मुख्य एआई वैज्ञानिकको रूपमा काम गरे।
- उनले LLM मा आधारित एआईलाई सीमित ठानेर भिजुअल लर्निङमा आधारित एडभान्स्ड मेसिन इण्टेलिजेन्स विकास गर्ने लक्ष्य राखेका छन्।
७ मंसिर, काठमाडौं।कृत्रिम बुद्धिमत्ता (एआई)का प्रमुख अग्रणी वैज्ञानिक अर्थात गडफादरमध्येका एक यान लेकुनले फेसबुकको मातृ कम्पनी मेटाबाट बाहिरिएर आफ्नो नयाँ कम्पनी स्थापना गर्ने घोषणा गरेपछि विश्वभरको एआई बहस फेरि तातेको छ।
केही हप्ताअघि मात्र बेलायती राजा चार्ल्सबाट सम्मानपत्र ग्रहण गरेका लेकुन अहिले एआईको भविष्य कता जाँदैछ भन्ने विषयमा आफ्नै अलग दृष्टिकोणसहित चर्चामा छन्। लेकुनको यात्रा, दर्शन र औद्योगिक मतभेदहरूको कथा अहिले प्रविधि क्षेत्रकै एउटा महत्वपूर्ण समाचार सामग्री बनेको छ।
मेटामा १२ वर्ष : उपलब्धि, बहस र अलग बाटो लेकुनले १२ वर्ष मेटामा बिताए, जसमा पाँच वर्ष त उनी कम्पनीको Fundamental AI Research (FAIR) प्रयोगशाला नेतृत्वमा रहे । त्यसैगरी सात वर्ष उनी कम्पनीमा ‘मुख्य एआई वैज्ञानिक’का रूपमा रहे।
यस अवधिमा उनले ट्यूरिङ अवार्डजस्ता उच्च सम्मान पाएका मात्र होइनन्, एआईमा भएका धेरै क्रान्तिकारी उतार–चढावलाई नजिकबाट नियाले। सन् २०२२ मा च्याट जिपिटी बजारमा आएसँगै जेनरेटिभ एआईको क्षेत्रमा देखिएको विश्वव्यापी उछाल उनले मेटाभित्रै रहँदा देख्न पाए।
तर पछिल्ला महिनामा मेटाले आफ्नो एआई अनुसन्धानलाई च्याट जिपिटीजस्ता प्लाटफर्मको आधारभूत प्रविधि लार्ज ल्याङ्ग्वेज मोडेल (LLM)मा मात्रै केन्द्रित गरेकोमा लेकुनलाई चित्त बुझिरहेको थिएन। उनले यस प्रविधिको सीमाबारे बारम्बार चासो व्यक्त गरे। उनका अनुसार, “मानव सरह बुद्धिमत्ता” बनाउने लक्ष्य पूरा गर्न केवल LLM मात्र पर्याप्त हुँदैन।
एडभान्स्ड मेसिन इण्टेलिजेन्स : लेकुनको नयाँ लक्ष्य लेकुन अब आफ्नो नयाँ कम्पनीमार्फत अत्याधुनिक मेसिन बुद्धिमत्ता अर्थात् एडभान्स्ड मेसिन इण्टेलिजेन्स विकास गर्नेबारे पूर्ण रूपमा समर्पित छन्। उक्त अवधारणाको आधार नै दृश्य सिकाइ अर्थात भिजुअल लर्निङ हो।
उनका अनुसार बच्चा वा कुनै प्राणीले जस्तै, संसारलाई हेरेर, त्यससँग ठोक्किएर चलायमान रूपमा सिक्ने प्रणाली नै भविष्यको वास्तविक एआई हो। तर LLM को जस्तो विशाल डेटाले तालिम दिएर सिकाइने मोडेलले मानवको जस्तो उच्चस्तरको तर्क, पहिचान र संसार बुझ्ने क्षमता विकास गर्न सक्दैन भन्ने उनको ठहर छ।
एआईले संसार कब्जा गर्छ भन्ने डर पूर्णतः हास्यास्पद रहेको तर्क लेकुनले गर्दै आएका छन् ।
एआईलाई मानव अस्तित्वका लागि खतरा भनी गरिने दाबीलाई उनी बेतुकको कल्पना भएको बताउँछन् । अर्थात एआईको खतराको विषयमा अरू दुईजना एआई गडफादर, जेफ्री हिन्टन र योशुआ बेंगियो, भन्दा उनी नितान्त भिन्न छन् ।
‘एआई बबल’ फुट्ने चिन्ता र लेकुनको निर्भिक निर्णय एआई उद्योग अहिले विशाल लगानी, तीव्र खर्च र अर्बौँ डलर मूल्यांकनको बिन्दुमा उभिएको छ।
गुगलका सीईओ सुन्दर पिचाई लगायत यस क्षेत्रका कैयन् विज्ञहरुले एआई उद्योगमा भईरहेको व्यापक लगानीलाई दृष्टिगत गर्दै भविष्यमा यदि ‘एआईको यस्तो फोका फुट्यो भने त्यसले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने बताउँछन् ।
यस्तो संवेदनशील घडीमा मेटाबाट अलग हुने लेकुनको निर्णयले एआई उद्योगमा थप बहस जन्माएको छ। आखिर लेकुनको दृष्टिकोण एआईलाई नयाँ दिशातर्फ लैजाने खालको हो वा उनी एआईको मूलधारको विकासबाट निरास भएका हुन् ? यो प्रश्न स्वभाविक रुपमा उठेको छ। बीबीसीबाट
प्रतिक्रिया 4