News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा चुनावअघि नियमित महाधिवेशन गर्ने पक्षमा रहेका संस्थापन र विशेष महाधिवेशन पक्षधरले चार घण्टा छलफल गरेका छन्।
- सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि १५औं महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी शीर्ष नेताहरूलाई भेटेका छन्।
- मंसिर ११ गतेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे निर्णय गरेपछि फेरि छलफल गर्ने सहमति भएको छ।
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरले छलफल गरेका छन् ।
दुई पक्षबीच सोमबार बिहान करिब चार घण्टा छलफल भएको केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी शीर्ष नेताहरूलाई भेट्दै आएका छन् ।
सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर उनीहरूले निर्वाचन अघि नै १५औं महाधिवेशन गर्नुपर्ने माग उठाएका थिए ।
संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई आइतबार भेटेर उनीहरूले सोही मागका लागि दबाब बढाउन आग्रह गरेका थिए । उनीहरूले आज विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानको अगुवाई गर्ने नेताहरूलाई भेटेका हुन् ।
केन्द्रीय सदस्य शेर्पाले दुई पक्षको छलफलमा आफूहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने विषय राखेको जानकारी गराए । विशेष महाधिवेशन पक्षधरले भने समय धेरै घर्किसकेको हुँदा अब विशेषमै जोड दिएको शेर्पाले बताए ।
मंसिर ११ गतेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे गर्ने निर्णय प्रतीक्षा गरेर फेरि छलफल गर्ने कुरा भएको शेर्पाले जानकारी गराए । उनले भने, ‘महाधिवेशन नगरी चुनावमा जान सकिन्न भन्नेमा हामी सबै एकमत छौैं ।’
छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सना, युवराज पाण्डे लगायत सहभागी थिए ।
छलफलमा सहभागी विशेष महाधिवेशनका अगुवाई गर्ने तिमिल्सिनाले भने, ‘उहाँहरूले नियमित महाधिवेशन गर्न सकिन्छ । फास्ट ट्रयाकबाट हुने गरी कार्यतालिका ल्याउन सकिने बताउनु भयो । हामीले समय धेरै घर्किएको हुँदा अब विशेषको महाधिवेशनको विकल्प नभएको बतायौं ।’
प्रतिक्रिया 4