८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताएका छन् ।
निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरी आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि उठेको सवालबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताएका छन् ।
‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?,’ उनले एक्समा लेखेका छन्, ‘मैले भने : होइन । साथीहरूले फेरी सोध्नुभयो कसरी ? मैले भनेँ– प्रष्ट छ ।’
महामन्त्री थापाले विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र निर्वाचित सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्ने लेखेका छन् ।
‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ,’ उनले भनेका छन्, ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’
महामन्त्री थापाले विशेष महाधिवेशनको विकल्प नभएको भन्दै अलमलमा नपर्न पनि भनेका छन् । ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको,’ उनले लेखेका छन्, ‘अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।’
प्रतिक्रिया 4