News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघका दुई छुट्टाछुट्टै संस्थाबीच दश बुँदे सहमति गर्दै एकता टुंगिएको छ।
- एकताको औपचारिक घोषणा प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा आइतबार गरिनेछ।
- दुवै पक्षले १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन गर्ने र कार्यसमितिको पारदर्शिता सुनिश्चित गर्ने सहमति गरेका छन्।
१२ मंसिर, काठमाडौं । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच एकता टुंगिएको छ ।
पछिल्ला केही वर्षदेखि महेशकुमार श्रेष्ठ र डा. बद्री केसीको नेतृत्वमा दुई छुट्टाछुट्टै संस्था क्रियाशील छन् । यी दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास भएका थिए । तर, सफल भएको थिएन ।
मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । एकताको औपचारिक घोषणा आइतबार गरिने एनआरएनका एक नेताले जानकारी दिए ।
एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमितिको समेत अस्तित्व स्वीकार गर्दै श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान दुवै पक्ष तयार भएका छन् ।
महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति भएको छ ।
‘लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ । एकताको मूल सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको घोषणा हुनेछ,’ ती नेताले भने, ‘अब विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ ।’
यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।
१० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ ।
१० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सवै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।
सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा। बद्री केसीको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा। शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ ।
सहमतिको दोस्रो बुँदामा गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्ममा सम्पन्न गर्ने र त्यसका लागि महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने भनिएको छ ।
विभिन्न समयमा एनआरएनको नेतृत्व गरेका डा। बद्री केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित यसअघिका कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गर्ने भनिएको छ ।
यस्तै, आगामी १२औं महाधिवेशनका अवसरमा, ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी अनुमोदन गराउने, त्यसलाई ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा। बद्री केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने सहमति गरिएको छ ।
गैरआवासीय नेपाली संघका दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने तथा १०बुँदे सहमति पत्रको कार्यान्वयन र १२औं अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निश्पक्षताको सुनिश्चितता गर्ने सहमति पत्रको अभिन्न अङ्ग हुने गरी पुरक सहमति गरिने पनि उल्लेख छ।
सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4