+
+
Shares

एक कुकुर, जो बनिरहेको छ भारतको संसदमा विवादको कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १३:५७
सांसद रेणुका चौधरीले संसद भवनभित्र लिएर गएको कुकुर । तस्बिर स्रोत : एएनआई ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय संसदको राज्य सभाकी सांसद रेणुका चौधरीले सडक कुकुरलाई आफ्नो गाडीमा लिएर संसद भवन प्रवेश गरेपछि विवाद उत्पन्न भएको छ।

भारतको संसदमा कुकुर लिएर गएको विषयले विवाद उत्पन्न भएको छ । भारतीय संसदको माथिल्लो सदन राज्य सभाकी सांसद रेणुका चौधरीले आफ्नो गाडीमा एक सडक कुकुर लिएर गएपछि उनको आलोचना भएको हो । चौधरी प्रतिपक्षी दल कांग्रेसकी सांसद हुन् ।

उनले प्रोटोकल उलंघन गरेको भन्दै सत्ता पक्षका सांसदले चौधरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

पूर्वमन्त्री समेत रहेकी चौधरी सोमबार आफ्नो गाडीमा कुकुरलाई लिएर संसद भवन छिरेकी थिइन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार गाडीको अगाडि सिटमा बसिरहेका उनका सहयोगीको काखमा कुकुर देखिएको थियो ।

सुरक्षाको कारण भन्दै संसद भवनमा पाल्तु जनावर लिएर जान निषेध गरिएको छ । संसदमा आउँदै गर्दा बाटोमा भेटिएकाले आफूले गाडीमा हालेर ल्याएको दावी उनले गरेकी छिन् ।

‘बाटोमा एक कार र स्कुटर ठक्कर खाएका थिए । त्यसको अगाडि सानो कुकुर घुमिरहेको थियो । त्यो कुनैपनि बेला गाडीको चक्कामुनि आउन सक्छ भन्ने लागेर मैले उठाएर ल्याएँ’ उनले भनेकी छिन् ।

आफू संसद भवन छिर्नेबित्तिकै कुकुरलाई घर पठाइदिसकेकाले यसबारे कुनै प्रश्न गर्नु आवश्यक नभएको उनले बताइन् ।

गाडीमा कुकुर देखिएपछि पत्रकारहरुले उनलाई यसबारे प्रश्न गरेका थिए । चौधरी धेरै रिसाएकी थिइन् । उनले आफ्नो घरमा यस्ता सडक कुकुरहरु धेरै वटा रहेको जानकारी दिइन् । प्रमाण चाहिए फोटो हेर्न भनिन् ।

उनले कुकुरलाई पशु चिकित्सककोमा लैजाँदै गरेको पनि भनेकी थिइन् ।

‘कुकुर कारमा थियो त्यसमा के समस्या भयो ? प्रश्न गर्ने पत्रकारहरुलाई उनले भनिन्, ‘के त्यसले यहाँ कसैलाई टोक्थ्यो जस्तो लाग्छ ?’ उनले सत्तापक्षका सांसदप्रति व्यंग्य समेत गरिन्, ‘बरु संसदभित्रै छन् टोक्नेहरु्, सरकारले उनीहरुलाई संरक्षण गरिरहेको छ ।’

सरकारलाई कुनै जनावर मन नपर्ने भएकाले यसलाई ठूलो विषय बनाएको आरोप उनले लगाइन् ।

सत्ता पक्षका सांसदले उनको यो व्यवहारलाई नौटंकी गरेको आरोप लगाएका छन् । उनीविरुद्ध राज्य सभामा विशेषाधिकार हनन गरेको प्रस्ताव लैजाने तयारी विपक्षी सांसदहरुले गरेका छन् । उनले आफूविरुद्ध प्रस्ताव आए त्यसैबेला मुखभरिको जवाफ दिने बताइन् ।

बुधबार संसद भवनभित्र पस्नेबित्तिकै पत्रकारहरुले संसद भवनमा कुकुर लिएर आएको विषयमा चौधरीलाई पत्रकारहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले भौ…भौ.. गर्दै अरू केही अरू बोल्न आवश्यक नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?