१९ मंसिर, बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङमा लाच हजार जनामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ ।
दाङ थारु समुदायको बाहुल्य जिल्ला भएको र सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग भएकाले दाङमा पहिलोपटक वृहत रूपमा यो परीक्षण गर्न लागिएको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिएपछि ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
प्रतिष्ठानले सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।
जसमा एक बर्षदेखि ६५ बर्ष सम्मका सिकलसेल एनिमियाका बिरामी भेटिएका छन् भने एकै घरका चार जना परिवारमा पनि देखिएको छ । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने अन्य जातिमा पनि देखिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए ।
सिकलसेल एनिमिया रोगको परिक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता भएता पनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उनले बताए ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले बालबालिकादेखि वृद्धसम्मको चेकजाच गरेर जिल्लामा यो रोगको अबस्था थाहा हुने र त्यसकै आधारमा नीति तथा कार्यक्रम बनाइने र थप अनुसन्धान गरिने बताए ।
२०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा सिकलसेल एनिमिया चेकजाँच कार्यक्रम दाङमा सुरू भएको थियो । त्यो बेला देशभरका स्याम्पलमा परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङ जिल्लाका मात्रै २६ केश देखिएका थिए । विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको नि:शुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमितता दिन भने सकिएको छैन ।
प्रतिष्ठानका निमित्त निर्देशक प्राध्यापक डा. पन्थीले दाङ जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आइतवारदेखि चेकजाँच सुरू हुने छ । चेकजाँच मङ्सिर १९ देखि शुरू भइ वैशाखसम्म निरन्तर जारी रहने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका फिजिसियन डा अजयराज गौतमका अनुसार कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको नि:शुल्क औषधी उपचार गरिने जानकारी दिए ।
सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवम् उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनु पर्ने पनि डा गौतमको भनाइ छ । सिकलसेल एनिमिया भइसकेपछि त्यस्ता व्यक्तिका रक्तकोषको आकार हसिया जस्तो हुने पनि चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया 4