News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र जर्मनीबीच प्राविधिक सहयोग सुरुवातको ५० वर्ष पुगेको छ र यसलाई विश्वास, सहयोग र साझा आकाँक्षाका रूपमा हेरिएको छ।
- जर्मनीले सन् ७० को दशकमा भक्तपुरको सम्पदा संरक्षणमा प्राविधिक सहयोग सुरु गरेको थियो र अहिले ऊर्जा, स्वास्थ्य र दिगो आर्थिक विकासमा केन्द्रित छ।
- जीआईजेड नेपाल कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल र जर्मन राजदूत उदो युजेन भोल्जले ५० वर्ष लामो साझेदारीको महत्त्व बताउनुभयो।
२२ मंसिर, काठमाडौं । नेपाल र जर्मनीबीच प्राविधिक सहयोग सुरुवातको ५० वर्ष पुगेको छ । जर्मनीले सन् १९७० दशक सुरुवातदेखि नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
यसै सन्दर्भमा ललितपुर खुमलटारमा रहेको जर्मन सहयोग नियोग जीआईजेडको नेपाल कार्यालयमा नेपाल सरकार, विकास सरोकारवाला तथा सहयोगीबीच विशेष कार्यक्रम गरी मनाइयो ।
जर्मनीले सन् ७० को दशकमा भक्तपुरको सम्पदा संरक्षणमा उपलब्ध गराएको प्राविधिक सहयोगलाई नेपाल प्रवेशको कोशेढुंगा मान्दै आएको छ ।
यस्तो प्राविधिक सहयोग पछिल्लो पटक पूर्वाधार तथा सहरी विकास, औद्योगिक र उद्यमशीलता विकास, कृषि र वन व्यवस्थान, शान्ति स्थापना, भूकम्पपछिको पुनर्निर्माण लगायतमा केन्द्रित रहेको जीआईजेडले जनाएको छ ।
अब जर्मन प्राविधिक सहयोग नेपालका ऊर्जा, स्वास्थ्य र दिगो आर्थिक विकासमा केन्द्रित रहेको उसको भनाइ छ ।

जर्मन विकास सहयोग जीआईजेड, केएफडब्लू, पीटीबी लगायत संस्थामार्फत भइरहेको र सबैले पारस्परिक सम्मान, सहकार्य र नेपालको साझा प्रगतिमा साझेदारी गर्न समान दृष्टिकोण राख्ने जीआईजेडले जनाएको छ ।
जीआईजेडको नेपाल कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले नेपाल र जीआईजेडबीचको ५० वर्ष लामो साझेदारीलाई विश्वास, सहयोग र साझा आकाँक्षाका रूपमा हेरिएको बताए ।
‘जीआइजेडले गरेको समर्पित सेवाको ५० वर्षको उत्सव मनाउन पाउनु हाम्रा लागि सौभाग्य हो,’ अर्थमन्त्री खनालले भने, ‘यो कोशेढुंगा दीर्घकालीन सहयोग, पारस्परिक सम्मान र साझा दृष्टिकोणबाट हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो ।’
कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उदो युजेन भोल्जले ५० वर्षअघिको भक्तपुर सम्पदा संरक्षणमा गरिएको सहयोग स्मरण गरे ।

‘त्यो बेला गरिएको सहयोगका अर्थ नेपालको सम्पदा महत्त्वपूर्ण छ र जर्मनी नेपाललाई यसको संरक्षण गर्न मद्दत गर्न सदैव तयार छ भन्ने थियो,’ राजदूत भोल्जले भने, ‘सम्पदा संरक्षणबाट सुरु भएको प्राविधिक सहयोग अब डिजिटल समाधानसम्म पुगेको छ ।’
त्यसैगरी जीआइजेड नेपालकी देशीय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्टेरोसले प्राविधिक विशेषज्ञता र व्यावहारिक समाधान गर्दै सरकार, नागरिक समाज, निजी क्षेत्र र स्थानीयसँग सधैं हातेमालो गर्नै प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया 4