+
+
Shares

फोहोर व्यवस्थापनमा नेपालकै अब्बल गोदावरी नगरपालिका, बदलियो स्थानीयको जीवनशैली

५६ करोड २७ लाख ५३ हजार ५ सय ३८ रुपैयाँ लागतमा सम्पन्न आयोजनाको दैनिक १३.५१ टन फोहोर व्यवस्थापन गर्ने क्षमता छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ मंसिर २३ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोदावरी नगरपालिकाले एसियाली विकास बैंकको ऋण सहयोगमा चौकीडाँडामा ५६ करोड रुपैयाँ लागतमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ।
  • यो केन्द्रले दैनिक १३.५१ टन फोहोर व्यवस्थापन गर्दै मासिक ५ देखि ६ लाख रुपैयाँ आम्दानी गरिरहेको छ र २३ वर्षसम्म सञ्चालन हुनेछ।
  • दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नगरपालिकाको सहयोगमा फोहोर व्यवस्थापनमा सक्रिय भूमिका खेलेको छ र करिब ४ हजार ५ सय विद्यार्थी सचेत भएका छन्।

२३ मंसिर, अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजार क्षेत्र र आसपासका गाउँमा कुनै समय फोहोरको थुप्रो हुन्थ्यो । घर, होटल, विद्यालय, हाट–बजारबाट निस्केका फोहोर जंगल, खोला, खोल्सा र चौरमा समेत जथाभावी फ्याँकेर प्रदूषित र दुर्गन्धित हुन्थ्यो ।

तर, अहिले गोदावरी नगरपालिकामा सरसफाइको नयाँ अध्याय सुरु भएको छ ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीयको जीवनशैली नै  बदलिएको छ ।

गत साउनदेखि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यहाँका स्थानीयलाई अब फोहोरमैला कहाँ फाल्ने भन्ने चिन्ताले सताउन छाडेको छ ।

यो परियोजना केवल फोहोर व्यवस्थापनमा सीमित नभएर आर्थिक आत्मनिर्भरता र वातावरणीय सन्तुलनको अनुपम उदाहरण बनेको स्थानीय बताउँछन् ।

गोदावरी नगरपालिका–३ अत्तरिया बजारस्थित बसपार्क क्षेत्रमा लामो समयदेखि फलफूल पसल गर्दै आएकी शान्तादेवी बुढालाई पसलबाट निस्केको फोहोरमैला कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले दैनिक पिरोल्थ्यो । घरबाट निस्केको फोहोर पनि बारीतिर फाल्ने गरेकी थिइन् उनले ।

पाँच महिनाअघि शान्ताले प्लास्टिक, कार्टुन, फलफूलका बोक्रा लगायत फोहोर बजार नजिकैको जंगलमा एकमुष्ट फाल्थिन् । तर, चौकीडाँडामा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि उनलाई अब फोहोर व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने विषयमा सोच्नै पर्दैन ।

‘पहिले जताततै फोहोरको थुप्रो देखिन्थ्यो, दुर्गन्धले व्यापारमै असर पर्थ्यो,’ उनी विगत सम्झिन्छिन्, ‘अहिले नगरपालिकाले घर, टोल र बजारैपिच्छे फोहोर उठाउन थालेपछि सबैतिर सफा भएको छ ।’

शान्ता नगरपालिकाको यस पहललाई खुलेर प्रशंसा गर्दै फोहोर व्यवस्थापन शुल्कबापत ‘सय–दुई सय रुपैयाँ दिन पनि कुनै गाह्रो नभएको’ बताउँछिन् ।

गोदावरी नगरपालिकाका अर्का स्थानीय अर्जुन धामी पनि विगतमा जहाँतहीँ फोहोर फाल्ने बानी रहेको स्वीकार्छन् । ‘अहिले गाउँ–गाउँमा गाडीले फोहोर उठाउन थालेपछि जहाँतहीँ फोहोर फाल्ने बानी सुधार भएको छ,’ उनी भन्छन्, ‘ठाउँ–ठाउँमा गरिएको डस्टबिनको व्यवस्थाले पनि हामीलाई फोहोर व्यवस्थापनमा धेरै सहज भएको छ ।’

फोहोर फाल्नकै लागि भनेर टाढा–टाढासम्म पुगेर फर्किनुपर्ने बाध्यता अन्त्य भएको र समय पनि बचत भएको भन्दै उनले खुसी व्यक्त गरे ।

चुनौतीपूर्ण यात्राबाट नमुना केन्द्रसम्म

फोहोरमैला व्यवस्थापन केन्द्र अत्तरिया चोकबाट डेढ किलोमिटर दूरीमा रहेको चौकीडाँडामा छ ।

चौकीडाँडास्थित ५ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउनुअघि नगरपालिकाले अनेकौं चुनौती सामना गर्नुपरेको थियो ।

स्थानीयले बाटोघाटो, खोलानाला र खुला चौरमा फोहोर फाल्दा गाउँ र सहर कुरूप बन्नुका साथै वातावरण पनि प्रदूषित हुने गरेको थियो । यसको समाधानका लागि एडीबीको ऋण सहयोगमा यो केन्द्र स्थापना भएको हो ।

सहरी विकास आयोजनाका आयोजना प्रमुख तुलसीराम खर्बुजाले यस केन्द्रलाई ‘देशकै नमुना’ भएको बताए । ‘यो तोकिएकै समयावधिमा निर्माण सम्पन्न भएको परियोजना हो,’ उनले भने, ‘यसको मोडेल पनि अलिकति फरक छ, जसले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिन सक्छ ।’

निर्माणका लागि चीनको सिचुवान प्रोभिन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । असोज २०७९ मा सम्झौता भएर निर्माण कम्पनीले ठेक्का अवधिमै काम सम्पन्न गरेको थियो ।

५६ करोड २७ लाख ५३ हजार ५ सय ३८ रुपैयाँ लागतमा सम्पन्न आयोजनाको दैनिक १३.५१ टन फोहोर व्यवस्थापन गर्ने क्षमता छ ।

आयोजनाको सञ्चालन आयु २३ वर्ष छ । क्षेत्रीय सहरी विकासले दिसाजन्य पदार्थ प्रशोधन प्रणालीको दैनिक क्षमता १३ घन मिटर रहेको जनाएको छ । २३ वर्षसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको यो केन्द्र निर्माण क्रममा चौकीडाँडाका १ हजार ३ सय रुख कटान गर्नुपर्ने संवेदनशील अवस्था आएको थियो, तर नगरपालिकाले सामुदायिक वनसँगको समन्वयमा यो चुनौतीलाई सफलतापूर्वक पार गरेको नगरप्रमुख वीरेन्द्र भट्ट बताउँछन् ।

नगरप्रमुख भट्टले आगामी दिनमा यो परियोजनालाई निरन्तरता दिन चुनौती भए पनि त्यसको तयारीमा नगरपालिका जुटिरहेको बताए ।

‘हाल नगरपालिकाले ८–१० जना स्थानीय कर्मचारीलाई तालिम दिइरहेको छ ताकि ठेक्का अवधि सकिएपछि उनीहरूले नै फोहोरमैला व्यवस्थापनको जिम्मा लिन सकुन्,’ उनले थपे, ‘यो परियोजना केवल फोहोरमैला व्यवस्थापनमा मात्र सीमित छैन, यसले नगरपालिकालाई वित्तीय रूपमा आत्मनिर्भर बनाउने बाटो पनि देखाएको छ ।’

अहिले फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आइसके पनि सहरी विकासले गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको छैन । अहिले सहरी विकास आयोजनाको निगरानीमा ठेकेदार कम्पनीले केन्द्र सञ्चालन गरिरहेको छ । तीन वर्षपछि मात्रै नगरपालिकालाई केन्द्र्र हस्तान्तरण गर्ने सहमति भएको छ ।

गोदावरी नगरपालिकाले फोहोरको उचित व्यवस्थापनका लागि घर–घरबाटै फोहोर संकलन गर्ने र यसलाई छुट्याएर राख्ने प्रणाली सुरु गरेको छ । यसका साथै, समुदायमा फोहोर व्यवस्थापनबारे चेतना अभिवृद्धि गर्न विद्यालय र वडास्तरमा जनचेतना कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।

फोहोर व्यवस्थापनमा दुर्गालक्ष्मी नमुना माविको उदाहरणीय पहल

अत्तरिया बजार क्षेत्रमा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय पनि फोहोरमैला व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गर्दै समुदाय र विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यालयले फोहोरमैला व्यवस्थापनमा सक्रियता देखाएपछि विद्यालय परिसर मात्र नभई बजार क्षेत्रकै वातावरण स्वच्छ बनेको छ ।

सुदूरपश्चिमकै सबैभन्दा ठूलो विद्यालय दुर्गालक्ष्मी नमुना माविमा करिब ४ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस्तो ठूलो विद्यार्थी संख्या भएको विद्यालयमा फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य भए पनि विद्यालयले नगरपालिकाको सहयोग र विद्यार्थीको सक्रिय सहभागितामा यसलाई सफलतापूर्वक अगाडि बढाएको छ ।

‘विगतमा फोहोरमैला व्यवस्थापन निकै अव्यवस्थित थियो,’ प्रधानाध्यापक महताले भने, ‘जथाभावी फोहोर फाल्ने, कुनै ठाउँमा त थुप्रिएर त्यसलाई आगो लगाउने, केही कुहिएर एकदम दुर्गन्ध आउने हुन्थ्यो तर अहिले नगरपालिकाले कन्टेनर सहयोग गरेपछि यो समस्या समाधान भएको छ ।’

दुर्गालक्ष्मी विद्यालयका विद्यार्थी फोहोरमैला व्यवस्थापनमा आफैं सचेत छन् । कक्षाकोठामा जनचेतना कार्यक्रम सञ्चालन गरी उनीहरूलाई फोहोर डस्टबिनमा फाल्न र प्लास्टिक तथा अन्य फोहोर कसरी छुट्टाछुट्टै राख्ने भन्नेबारे सिकाइएको छ ।

प्रधानाध्यापक महताका अनुसार कुहिने र नकुहिने, ठोस र तरल फोहोरलाई वर्गीकरण गरी अलग–अलग ठाउँमा प्याकिङ गर्ने र कन्टेनरमा हाल्ने कार्य विद्यार्थीले गर्दै आएका छन् ।

विद्यालयको फोहोर व्यवस्थापनमा गोदावरी नगरपालिकाको पनि महत्त्वपूर्ण सहयोग छ । नगरपालिकाले कन्टेनरहरू उपलब्ध गराएको छ र नियमित रूपमा फोहोर संकलन गर्छ ।

‘नगरपालिकाले पनि हामीलाई एकदमै सहजीकरण गरेको छ र समय–समयमा नगरपालिकाबाट अनुगमन पनि हुन्छ,’ उनले थपे ।

फोहोरबाट मोहर : आर्थिक आत्मनिर्भरताको आधार

गोदावरीको यो केन्द्र केवल फोहोर व्यवस्थापनमा मात्र सीमित छैन, यसले आर्थिक उपार्जनको नयाँ बाटो पनि खोलेको छ । केन्द्रले कुहिने फोहोरबाट उच्च गुणस्तरको कम्पोस्ट मल उत्पादन गरिरहेको छ भने पुन: प्रयोग गर्न सकिने फोहोर बिक्री गरेर मासिक ५ देखि ६ लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।

अझ महत्त्वपूर्ण कुरा केन्द्रले नगरपालिकाभित्रका प्रत्येक घरको सेप्टिक ट्यांकी सफा गरेबापत निजी क्षेत्रको तुलनामा आधा कम (१५ सय रुपैयाँ) शुल्क लिई मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ । दैनिक १४ देखि २० टन फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता भएको यो केन्द्रले हाल एक टन मल उत्पादन गर्दै आएको छ । यसरी फोहोरलाई स्रोतका रूपमा परिणत गरी आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा नगरपालिका अघि बढेको छ ।

कसरी हुन्छ फोहोर व्यवस्थापन केन्द्रमा काम ?

सिचुवानका कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर अशोक पाण्डेका अनुसार फोहोर प्रशोधन केन्द्रमा अत्याधुनिक पूर्वाधार निर्माण गरिएका छन् । जसमा गार्ड हाउस, जेनेरेटर हाउस, कार्यालय भवन, सार्वजनिक शौचालय, बोरिङ सहित ओभरहेड पानी ट्यांकी, सवारीसाधन धुने तथा मर्मत गर्ने शेड, ३० टन क्षमताको धर्मकाँटा, स्टाफ क्वार्टर र प्रयोगशाला भवन छन् ।

दैनिक १३.६५ टन फोहोर केन्द्रमा संकलन हुने गरेको छ । जसलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरिन्छ । कुहिने फोहोरलाई विन्डो यार्डमा राखेर कम्पोस्ट मल बनाइन्छ, जसबाट हाल दैनिक करिब १ टन मल उत्पादन भइरहेको छ ।

पुन: प्रयोग गर्न मिल्ने सामग्री (कवाडी) लाई रिसेप्सन शेड र रिसाइक्लिङ एरियामा छुट्याइन्छ, जसको दैनिक परिमाण ६–७ टन रहेको छ ।

यी कवाडीलाई रिसाइक्लिएबल स्टोरेज शेडमा भण्डारण गरिन्छ । कुहिन नसक्ने फोहोरलाई २३ वर्षका लागि डिजाइन गरिएका ६ वटा ल्यान्डफिल सेलहरूमा सुरक्षित तरिकाले व्यवस्थापन गरिन्छ ।

जमिनमा फोहोरको पानी (लिचेट) नमिलोस् भन्नका लागि ल्यान्डफिलको तल्लो भागमा जियोमेम्ब्रेन प्लास्टिकको तह राखिएको छ । लिचेट संकलनका लागि जालीदार पाइपहरू जडान गरिएको छ, जसबाट छारिएको लिचेटलाई प्रशोधन पोन्डमा जम्मा गरी थप प्रशोधन गरिने उनी बताउँछन् ।

तरल फोहोर र मानवजन्य दिसापिसाब (स्लज) व्यवस्थापनका लागि ‘फेकल स्लज ट्रिटमेन्ट प्लान्ट’ सञ्चालनमा छ । घर–घरबाट स्लज संकलनका लागि दुइटा सक्सन मेसिन प्रयोग गरिन्छ । संकलित स्लजलाई ६० वटा एनारोबिक डाइजेस्टर ट्यांकी (जसमध्ये एक सेट ८ सय घनमिटर र अर्को ५ सय घनमिटर क्षमताको छ) प्रशोधन गरिन्छ ।

प्रशोधित स्लजलाई ३० वटा स्लज ड्राइङ बेडमा सुकाएर मल उत्पादन गरिन्छ । यसबाहेक परियोजनामा फोहोर संकलनका लागि ट्याक्टर, टिपर, ब्याकलोडर, कम्प्याक्ट गर्नका लागि चेन डोजर र कम्पोस्टको थुप्रो बनाउन स्किड स्टियर लोडरजस्ता मेसिनरी पनि प्रयोग भइरहेका छन् ।

परियोजना सञ्चालनमा आएको चार महिना अवधिमा करिब १५–१६ लाख रुपैयाँ आम्दानी भइसकेको छ । जसको औसत मासिक आम्दानी ५ लाख रुपैयाँ छ । मल र पुन: प्रयोगयोग्य सामग्री बिक्रीबाट यो आम्दानी भएको हो ।

परियोजनामा ड्राइभर, लेबर, स्टाफ, कुक र सुपरभाइजर गरी कुल ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसमध्ये २०–२२ जना महिला कर्मचारी छन्, जो फोहोर वर्गीकरण, तथ्यांक संकलन र अन्य व्यवस्थापकीय कार्यमा सक्रिय छन् ।

हाल फोहोर घर–घरबाट छुट्याउने प्रणाली सुरु भइसकेको छैन, तर केन्द्रमा ल्याएपछि कर्मचारीहरूले नै यसलाई वर्गीकरण गर्छन् । आगामी दिनमा घरघरबाटै फोहोर वर्गीकरण गरेर प्रशोधन केन्द्रसम्म ल्याइने योजना रहेको नगरपालिकाको भनाइ छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?