लन्डन । अवार्ड विजेता चर्चित ब्रिटिश र्यापर क्लार्क स्यामुएल ( गेट्स)ले उत्तर–पूर्वी लन्डनमा आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।
ग्राइम कलाकार गेट्सले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई गत १८ अक्टोबरमा लन्डनको इल्फोर्डमा ठक्कर दिएको थियो । त्यसपछि गेट्स घटनास्थलमा मोटर नरोकी फरार भएका थिए ।
प्रहरीका अनुसार उनले ३० माइल प्रतिघण्टा क्षेत्रमा ६० माइल प्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविनलाई ठक्कर दिएका थिए ।
आफ्ना बाबा–आमाका एक्ला छोरा नेपाली युवक युविन उच्च शिक्षाका लागि गत वर्ष सेप्टेम्बर बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोश्रो वर्षमा अध्ययनरत थिए ।
पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा ४१ वर्षीय गेट्सले जोखिमपूर्ण ड्राइभिङका कारण तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा आफू दोषी भएको स्वीकारेका छन् ।
उक्त घातक दुर्घटना स्थानीय समयअनुसार राति ११:३० बजे इल्फोर्डको रेडब्रिज लेनमा युविनले सडक काट्दै गर्दा भएको थियो । ठक्कर लागेको दुई दिनपछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो ।
प्रहरीले भोलिपल्ट बिहानै वुडफोर्डस्थित गेट्सको घरमा खोजतलास गरेको थियो । उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अदालतले क्लार्क–स्यामुएल (गेट्स)लाई आगामी फेब्रुअरी १२ मा सजाय सुनाइने जनाएको छ । पहिलो मुद्दा मादक पदार्थको सीमा नाघेर लापरवाहीपूर्वक गाडी चलाउँदा मृत्यु गराएको भन्ने हो । सो आरोपअनुसार उनले १८ अक्टोबरमा ११९ माइक्रोग्राम अल्कोहलसहित गाडी चलाएका थिए, जुन कानुनी सीमाभन्दा धेरै माथि हो ।
दोस्रो मुद्दा सोही दिन पूर्वी लन्डनको रेडब्रीज क्षेत्रमा विशेषगरी वर्सेस्टर क्रेसेन्ट र वरपरका सडकमा जोखिमपूर्ण रूपमा गाडी चलाएको आरोपसँग जोडिएको छ ।
बीबीसीका अनुसार पेन्टनभिल जेलबाट भिडियो लिंकमार्फत अदालतमा हाजिर भएका क्लार्क–सामुएल अहिले हिरासतमा छन् र न्यायाधीशले उनलाई कैद सजाय भोग्नुपर्ने स्पष्ट पारेका छन् । तर, सजायको अवधि कति हुने भन्ने भने तय भएको छैन ।
उनी सवारी चलाउन पनि अयोग्य घोषित गरिएका छन्, तर प्रतिबन्ध अवधि भने पछि निर्धारण गरिनेछ ।
ओल्ड बेलीमा सोमबार सुनुवाइ हुँदा युबिनका बुबा–आमा विकास तामाङ र शर्मिला मगर तामाङ, उनको परिवारका अन्य सदस्य एवं एनआरएनए यूकेका प्रतिनिधिहरु पनि सहभागी थिए ।
बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले युविनको परिवारलाई चन्दा संकलन गरी आर्थिक सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया 4