+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘बेबीबुमर्स’ देखि ‘जेनजी’सम्मले चिनेका केपी ओली

केपी ओलीको एक दशकको पार्टी सत्ता र शासन सत्ताको अभ्यास हेर्दा उनी संकट सिर्जनाको कारक आफैं बन्ने र त्यो संकट समाधान गर्न आफैं चाहिने भन्दै शक्तिमा बसिरहन खोजेको देखिन्छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ मंसिर २६ गते २२:३३

२६ मंसिर, काठमाडौं । पछिल्लो तीन दशकलाई नियाल्ने हो भने नेपालको सत्ता राजनीति तीन मुख्य राजनीतिक पात्रको वरिपरि घुमेको देखिन्छ ।

२०५० देखि २०६० को दशकमा कांग्रेसका गिरिजाप्रसाद कोइराला । २०६०-२०७० को दशकमा माओवादीका पुष्पकमल दाहाल र २०७१ देखियताको पछिल्लो दशकमा एमालेका केपी शर्मा ओली । नाम होस् वा बद्नाम यी तीन पात्र नेपालको राजनीतिमा हाबी रहे ।

गिरिजाप्रसाद कोइराला सत्ता राजनीतिको अनेक खेल खेल्दै पटक-पटक प्रधानमन्त्री हुँदा अनेक बदनामी खेपे । २०६२-०६३ सालको जनआन्दोलनको कमाण्डर हुँदै संविधान सभा चुनाव गराएपछि ख्याति पाएका कोइराला बितिसकेका छन् ।

शान्ति प्रक्रियामा आएपछि ६० को दशकमा माओवादीका अध्यक्ष प्रचण्ड राजनीतिमा हाबी भए । पार्टीभित्र र बाहिर समेत शक्तिशाली रहेका उनी ०७० सालको चुनावमा खुम्चिएपछि प्रभाव घट्न थाल्यो । दाहालका नाममा पनि अनेक बद्नामी छन् ।

त्यसपछि नेपालको राजनीतिको केन्द्रमा आइपुगे- एमालेका केपी शर्मा ओली ।

यो पछिल्लो दशकमा उनले  चारपटक पटक प्रधानमन्त्री बनेर करिब ६ वर्ष शासन सत्ता चलाए । अनि दुई कार्यकाल एमाले अध्यक्ष बनेर पार्टीको सत्ता पनि हाँके ।

जो अब तेस्रो कार्यकालका लागि एमालेको सत्तामा तेहेरिन खोज्दैछन् । भोलिबाट सुरु हुने एमालेको ११ औं महाधिवेशनमा उनीसँग भिड्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले मैदानमा उत्रिँदैछन् ।

केपी ओली को हुन् ? समकालीन नेपालका ‘बेबीबुमर्स’ देखि ‘जेनजी’ पुस्तासम्मलाई  चिनाइरहनु पर्दैन । एमालेका नेता र महाधिवेशन प्रतिनिधिले त झन् थाहा नपाउने कुरै भएन । तर महाधिवेशनको सरगर्मीका बीचमा ओलीको १० वर्षे पार्टी र ६ वर्ष सत्ता राजनीतिको रिपोर्ट कार्ड चाहिँ नियाल्नैपर्छ ।

पार्टी सत्तामा केपी शर्मा ओली

२०२३ सालबाट मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेपछि राजनीतिमा होमिएका पुराना नेता भए पनि ओली लामो समय पार्टीभित्र विपक्षी  कित्तामा रहे ।  झन्डै १५ वर्ष माधव नेपाल र २०६५ पछि पाँच वर्ष झलनाथ खनाल नेतृत्वमा रहँदा उनी पार्टीभित्र विपक्षी नेता जस्ता थिए । त्यसैले महत्वपूर्ण राजनीतिक घटनाक्रममा नेपाल र खनालको पछिपछि केपी ओली हुन्थे ।

तत्कालीन संस्थापनका कार्यशैलीमाथि तिखो आलोचना गर्दै पार्टीभित्र आफ्नो अलग पहिचान कायम गरेका ओली २०७० सालको चुनावपछि बनेको एमालेको संसदीय दलको नेताबाट मुख्य नेतृत्वदायी पदमा उक्लिए ।

पार्टीभित्रको समीकरणमा निर्णायक मानिएका नेता वामदेव गौतमले साथ दिएपछि ओलीको जित सहज भयो । संसदीय दलको नेता बनेपछि पार्टीको शक्ति ओलीतर्फ सोझियो । त्यही बलमा उनी २०७१ सालको असारमा भएको एमालेको नवौं महाधिवेशनबाट पार्टीको अध्यक्ष बने ।

पार्टीभित्र बहुपदीय संरचना कायम गर्नुपर्ने, संगठनभित्र सामूहिक नेतृत्व प्रणाली भित्राउनुपर्ने र त्यसको आधारमा पार्टी चलाउनुपर्ने अवधारणा केपी शर्मा ओलीले सातौं महाधिवेशनमै सारेका थिए ।  उक्त महाधिवेशनले उनको प्रस्ताव अघि नबढाएपनि पार्टीको आठौं महाधिवेशनले त्यो प्रस्ताव स्वीकार्‍यो ।

राष्ट्रपति भएर पनि पार्टी राजनीतिमा फर्किन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी समेत ओलीको कार्यशैलीमा गम्भीर प्रश्न उठाएकी छन् ।

नवौं सम्म आइपुग्दा ओली आफैं अध्यक्ष बने । तर जब उनी पार्टीको नेतृत्वमा आए त्यसपछि उनले पार्टीभित्र अत्यधिक शक्ति केन्द्रित गरेका छन् ।

पार्टीलाई लोकतान्त्रिकरण गरेको जस पाउने ओलीलाई यतिबेर पार्टीभित्र नेतृत्वको निरंकुशता लादेको आरोप लागिरहेको छ । उनको कार्यशैली माथि नै प्रश्न उठाउनेहहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भिम रावल देखि घनश्याम भूसालसम्मले पार्टी विभाजन गरेर हिंडिसकेका छन् ।

२०७४ सालको चुनावमा माओवादीसँग भएको बाम गठबन्धनले बहुमत ल्याएपछि ओलीले २०७५ सालमा पार्टी एकता नै गरेर नेकपा बनाए । त्यस बेला माओवादीसँगको एकताबारे पार्टीमा पर्याप्त छलफल नगरी नै उनी शक्ति आर्जन गर्नेगरी नेकपा बनाउने निर्णयमा पुगे । दुईजना अध्यक्ष हुने प्रणाली ल्याए । तर उक्त एकता दुई वर्षमै भत्कियो ।

नेकपा र एमाले पार्टी विभाजनका पछाडी अनेक कारणहरू छन् तर एउटा मुख्य कारण चाहिँ अध्यक्ष ओलीको कार्यशैली पनि हो । अहिले महाधिवेशनको संघारमा पनि ओलीमाथि उनको कार्यशैलीमा प्रश्न गर्दै ईश्वर पोखरेलले समूहले दस्तावेज नै पेश गरेको छ ।

राष्ट्रपति भएर पनि पार्टी राजनीतिमा फर्किन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी समेत उनको कार्यशैलीमा गम्भीर प्रश्न उठाएकी छन् ।

२०७७ सालमा संसद् विघटनका दुई श्रृंखला पार गरेपछि सत्ताबाट बहिर्गमित भएका ओली २०७८ सालको दशौं महाधिवेशनबाट पुन अध्यक्षमा दोहोरिए । चितवन महाधिवेशनमा उनीविरुद्ध उम्मेदवारी दिएका भिम रावललाई पछि एमालेले पार्टीबाटै निष्कासन गर्‍यो ।

एमालेलाई सामूहिक नेतृत्वमा चलाउने अवधारणा ओलीले ल्याएपनि पछिल्लो दुई कार्यकाल एमालेमा करिब ओली एकल रुपमा हाबी भए । पार्टी बैठक र छलफलहरु करिब ओली वक्ता अरु स्रोता हुने प्रवचन सभा जस्ता बने ।

माधव नेपाल लगायतका नेताहरू हिँडेपछि त पछिल्लो कार्यकालमा ओलीमाथि प्रश्न गर्ने कोही पनि भएनन् । अहिले उनको विपक्षी कित्तामा उभिएका ईश्वर पोखरेल समेत केही महिना अघि सम्म ओलीसँगै थिए ।

उनका कार्यशैलीमाथि एकथरीले प्रश्न उठाए पनि यो १० वर्षको अवधिमा ओलीले आफ्नो एउटा यस्तो समूह निर्माण गरेका छन् जसले ओलीका कुनै पनि निर्णयहरुमाथि अन्ध समर्थन गर्छ । कम्युनिस्ट पार्टीभित्रको ‘कमरेड कल्चर’ अहिले ‘बा कल्चर’ मा रुपान्तरित भएको छ ।

यसको अर्थ ओलीले पार्टी सत्ताभित्रको आफ्नो पकड जमाएका छन् । त्यसैको बलमा उनी तेस्रोपटक एमालेको अध्यक्ष बन्न खोज्दैछन् । तेस्रोपटक अध्यक्ष बन्न खोज्ने उनको यो प्रयास उनले नै विगतमा अघि सारेको दुई कार्यकाल र ७० वर्षे उमेर कायम गर्ने मान्यतासँग मेल खाँदैन ।

किनकी दुई कार्यकाल मात्र नेतृत्वमा रहने, ७० वर्षपछि पदमा नरहने लगायतका अवधारणा उनले नै विगतमा अघि सारेका थिए । तर नेकपा कार्यकालमा उक्त अवधारणा भत्केपछि उनी अहिले भन्दैछन्- क्षमता छ र दौडिन सक्छ भने सात पटक भएपनि फरक पर्दैन ।

शासन सत्तामा केपी ओली

२०७१ सालमा पार्टीको संसदीय दलको नेता बनेपछि केपी ओलीका लागि शासन सत्ताको बागडोर सम्हाल्ने अवसर आयो । यो एक दशकको अवधिमा उनले चारपटक प्रधानमन्त्री बन्ने अवसर पाए । तर ती सबै कार्यकालमा उनको सहज बहिर्गमन भएन ।

२०७२ मा संविधान जारी भएपछि कांग्रेसले तत्कालीन गठबन्धन छोड्यो । संविधान जारी गर्दाको सहमति भंग गरेर कांग्रेस नै संसद्मा प्रधानमन्त्रीको प्रतिस्पर्धामा आउने भएपछि उनले माओवादी लगायतका दल मिलाए आफैं प्रधानमन्त्री बने ।

२०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री चुनिँदै गर्दा केपी शर्मा ओलीले संसद्को ‘रोस्ट्रम’ मा उभिएर भनेका थिए, ‘मतदान गर्नेलाई किन गरिछु भनेर पछुतो हुन दिने छैन, मतदान नगर्नेलाई किन गरिएनछ भनेर सम्झीसम्झी बाडुली लाग्ने अवस्था सिर्जना गर्छु ।’

उनको पहिलो नौमहिने कार्यकाल लगभग उनले भनेजस्तै भयो । किनकी त्यो कालखण्डमा संविधान जारी गरेका कारण भारतले नाकाबन्दी लगाएको थियो । उक्त नाकाबन्दीको उनले डटेर सामान गरेका थिए । भारतसँगको परनिर्भरता तोड्नका लागि उनले चीनसँग पारवहन सन्धी गरेका थिए ।

भारतले हस्तक्षेपलाई चुनौती दिने ओलीको उक्त कदमलाई धेरै राष्ट्रवादीहरुले प्रसंशा नै गरेका थिए / छन् ।  तर उनीमाथि दुई ठूला छिमेकीबीच राख्नुपर्ने सन्तुलित सम्बन्धलाई उनले बिगारेको आरोप पनि लाग्यो ।

तर नौ महिने अवधिमा संभवत: कुनै दिन बाँकी रहेन, जुन दिन उनले विकास र समृद्धिका सपना नसुनाएका हुन् । हरेक दिन विकासका नयाँ-नयाँ मोडल र कार्ययोजना उनका भाषणबाट सार्वजनिक भए ।

नाकाबन्दीले चुलो नबलेका बेला ग्याँसका पाइप जोडिदिनेदेखि एउटा भएको नेपाल बायुसेवा निगमलाई सरकारले राम्ररी सञ्चालन गर्न नसकिरहेका बेला समुद्रमा पानीजहाज चलाउनेसम्मका कुरा उनका भाषण बारम्बार आए । तत्कालको प्राथमिकता के हो ? त्यसमा फोकस भएनन् तर विकास दृष्टिकोण ल्याएर बहस भने गराए ।

भारतीय नाकाबन्दीको सामना र राष्ट्रवादी अडान राखेका कारण ओलीलाई दोस्रोपटक सत्तामा आउने बाटो खुल्यो । त्यसको आधार चाहिँ २०७४ सालमा बनेको माओवादीसँगको चुनावी गठबन्धनले निर्माण गर्‍यो ।

२०७४ सालको चुनावमा बामगठबन्धन बहुमत ल्याएपछि ओली दोस्रोपटक शक्तिशाली प्रधानमन्त्रीको रुपमा शासनसत्ता फर्किए । उनले सत्तामा आर्जन गरेको शक्तिलाई २०१५ सालको निर्वाचनपछि बीपी कोइरालापछिको सबैभन्दा शक्तिशाली भनेर समेत दाँजियो । उनको समर्थनमा संसदको दुई तिहाई समर्थन हासिल भएको थियो । पछि उनले माओवादीसँग पार्टी एकता गरेर आफ्नै पार्टी सत्ताको शक्ति पनि बढाए । तर त्यो दुई तिहाईले ओलीमा दम्भ पनि झांगियो । जुनकुरा प्रचण्ड र माधव नेपालका लागि सह्य भएन । उनीहरुले पार्टीभित्र नयाँ समूह खडा गरेपछि ओलीले एकपछि अर्को जबरजस्ती गर्दै अघि बढे ।

सुरुमा उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए । त्यही अध्यादेशको पार्टीभित्रैबाट विरोध भएपछि फिर्ता लिए । कोरोना विपत्तिका बेला ओलीले अर्को कुनै दल विभाजन गर्ने र आफ्नै दललाई पनि भविष्यमा फुटाउन सक्ने अध्यादेशको अस्त्र अगाडि सारेका थिए ।

अर्को दल फुटाउन भनेर ल्याएको अध्यादेशले ओलीको बदनामी त गरायो नै, महिनौंदेखि मिल्न नसकेका दुई दल समाजवादी र राजपालाई पनि रातारात जुटाइदियो । यता यही कारण नेकपाको फाटो झन् बढ्यो ।

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमन भएका ओली अहिले त्यही आन्दोलनलाई आरोपित गर्दै पुन: पार्टी सत्तामा फर्किने तयारीमा छन् ।

यहीँबाट चुलिँदै गएको विवादका कारण ओलीले ०७७ सालमा संविधानमा नै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरे । ०७७ साल पुसमा गरेको विघटनविरुद्ध प्रचण्ड र माधव नेपाल नै सडकमा उत्रिए ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि ओलीले तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई प्रयोग गरेर पुन प्रधानमन्त्री बने । शेरबहादुर देउवाको पक्षमा बहुमत सदस्यहरुले हस्ताक्षर बुझाउँदा बुझाउँदै पनि उनलाई तत्कालीन राष्ट्रपति भण्डारीले पुन: प्रधानमन्त्री नियुक्त गरिन् ।

जबरजस्ती फेरि प्रधानमन्त्री बनेका ओलीले दोस्रोपटक पनि संसद् विघटन गरे । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ओली हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । ओलीको दोस्रोपटक सत्ताबहिर्गमन भयो । यद्यपी संसद् विघटनलाई ओलीले एमालेले जोगाउन आफूले चालेको कदमको रुपमा व्याख्या गर्ने गरेका छन्  । एमालेको एउटा पंक्तिले उनको यो तर्कलाई विश्वास पनि गरेको देखिन्छ ।

दोस्रो र तेस्रोत प्रधानमन्त्रित्व कार्यउकालमा उनले भारतले मिचेको नेपालको भूमि लिम्पियाधुरा, कालपानी र लिपुलेकलाई नेपालको नक्सामा समेट्ने निर्णय गरे । राष्ट्रवादी मुद्दाहरुमा ओलीले लिएको अडानलाई केही प्रशंसा गर्छन् । केही यही घटनाका कारण छिमेकीसँगको सम्बन्ध बिग्रेको भनेर ओलीलाई आरोप पनि लगाउँछन् ।

सत्ताबाट बाहिरिए पनि २०७९ को चुनाव एमालेका लागि धेरै प्रतिकूल भएन । ७८ सिटसहित दोस्रो दलको रुपमा एमाले प्रतिनिधि सभामा उदायो ।

ओलीले चुनाव लगत्तै प्रचण्डलाई आफ्नो साथमा लिएर सुरुमा सत्तामा एमालेलाई प्रवेश गराए । पछि तत्कालीन माओवादीसँगको गठबन्धन तोडेर प्रतिनिधि सभाको ठूलो दल कांग्रेससँग मिलेर चौथोपटक ओली प्रधानमन्त्रीको रुपमा सत्तामा फर्किए ।

तर पछिल्लो १४ महिने कार्यकाल ओलीको विगतको कार्यकालभन्दा पनि विवादित बन्यो । शासकीय अव्यवस्था चुलिँदै गए । त्यसकै कारण गत भदौ २३ र २४ गते जेनजी युवाहरूले शासकीय अव्यवस्थाविरुद्ध विद्रोह गरे । नेपालको इतिहासमै नभएको घटना भयो । नेताका घर आगजनी भए । राष्ट्रिय धरोहरहरुमा आगजनी भयो । त्यत्ति मात्र होइन, प्रधानमन्त्री कै रुपमा ओलीलाई बालुवाटाबाटै सेनाले भगाएर सुरक्षित स्थानमा लैजानुपर्‍यो ।

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमन भएका ओली अहिले त्यही आन्दोलनलाई आरोपित गर्दै पुन: पार्टी सत्तामा फर्किने तयारीमा छन् । युवाहरुले अव्यवस्था र पुराना राजनीतिक दलका बृद्ध नेताहरुले गरिरहेको शासनमाथिको विद्रोहलाई ओलीले षड्यन्त्रको आँखाबाट मात्र हेरेका छन् । ७६ जनाको ज्यान जाने गरी भएको विद्रोहलाई ओलीले देशी-विदेशीहरुको खेलको रुपमा मात्र चित्रण गरेका छन् । आफैं प्रधानमन्त्री भएका बेलामा भएको घटनालाई उनले कति पनि महसुस गरेका छैनन् ।

जेनजी आन्दोलनपछि नै पार्टी भित्र सुरु भएको नेतृत्व परिवर्तनको बहस र मागलाई निष्कर्षमा पुर्‍याउनका लागि अहिले एमालेले निर्धारित समय भन्दा एक वर्ष अगावै महाधिवेशन गर्न लागेको हो । तर यो महाधिवेशनमा उनै ओलीले फर्किने तयारीमा छन् । उनी कुनै पनि हालतमा आफ्नो औचित्य स्थापित गर्न चाहन्छन् । त्यसैले युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा उनले सुन्न चाहेका छैनन् ।

केपी ओलीको एक दशकको पार्टी सत्ता र शासन सत्ताको अभ्यास हेर्दा उनी संकट सिर्जनाको कारक आफैं बन्ने र त्यो संकट समाधान गर्न आफैं चाहिने भन्दै शक्तिमा बसिरह्न खोजेको देखिन्छ । उनले आफू शक्तिशाली बन्न नेकपा बनाए पछि त्यही नेकपा विभाजन भयो । त्यसपछि एमालेमाथिको घेराबन्दी तोड्नका लागि आफैं चाहिने भन्दै दशौं महाधिवेशनमा दोहोरिए । उनकै कारण समेतले जेनजी आन्दोलन भयो तर त्यसपछिको संकट पार लगाउन आफू बाहेक अन्यले सक्दैन भन्दै उनी फेरि पार्टीको शक्तिमै रहन चाहिरहेका छन् । जसलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गर्छन्  कि गर्दैनन् हेर्नुपर्नेछ ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?