+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘केपी ओलीलाई धुरी मानेर सर्वसम्मत नेतृत्व चयन गरौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २२:३३

नेकपा एमालेको एघारौं महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न ठूलो संख्यामा दाबी देखिएको छ ।

पदाधिकारीमै ७० भन्दा बढी नेताहरूको दावी देखिएको एमालेमा झण्डै आधा प्रतिनिधि केन्द्रीय सदस्य हुने चाहनामा छन् ।

त्यसै मध्येका एक हुन्, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल । गुल्मीको राजनीतिमा सक्रिय अर्याल यसपटक आफ्नो दाबीबाट पछि हट्ने पक्षमा छैनन् । उनै अर्यालसँगको संक्षिप्त वार्ता:

एघारौं महाधिवेशनलाई कसरी लिनु भएको छ ? यसले कस्तो सन्देश दिनुपर्दछ ?

नेकपा एमालेको ११ औं महाधिवेशन राजनीतिक रुपमा संक्रमणकालको समयमा हुँदैछ । भदौ २३ र २४ को विध्वंसपछि संविधान आधा च्यातिएको छ । दलहरूलाई निषेध गर्ने कोशिस भइरहेको छ । नेताहरूलाई स्थान हद तोकिएको छ । देशमा बहुदलीय व्यवस्था भनिएपनी दलविहीन सरकार छ । महाधिवेशन भएकाले देशैभरीबाट प्रतिनिधिहरू काठमाडौं आउछन् । आफ्ना आफ्ना क्षेत्रको पार्टीको अवस्था पनि शेयर गर्छन् । भोलि उद्घाटन सत्रमा उपस्थित हुने मानव सागरले देशैभर एमालेका नेता कार्यकर्ता र मतदातामा उच्च मनोबल बनाउनेछ । त्यति मात्र हैन एमालेको महाधिवेशनका कारण अरु पार्टीले पनि पुनर्जीवन प्राप्त गरेको महशुस गर्नेछन् ।

यस्तो बेला आयोजना भएको एमालेको महाधिवेशनले मुख्यत देशको राजनीतिक संक्रमणलाई निकास दिने भूमिका निर्वाह गर्नेछ । देश रहे पार्टी रहने हो । अहिलेको अवस्थामा नेपालको सार्वभौमिकता माथि प्रहर गर्ने चौतर्फी प्रयास छ । त्यसलाई जोगाउने मुख्य दायित्व एमालेको नै हो । त्यसैले एकताबद्ध एमाले अहिलेको आवश्यकता हो । एमालेले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा त्यो एकताको सन्देश दिन्छ नै ।

नेतृत्वका लागि प्रष्ट दुई लाइन संघर्ष देखियो । यसबारेमा के भन्नुहुन्छ ?

स्वभाविक रुपमा नै महाधिवेशनमा धेरै नेताका आकांक्षा देखिन्छ, प्रकट हुन्छन् र सुनिन्छन् । यी सबै आकांक्षाहरूलाई व्यवस्थापन गर्नकै लागि महाधिवेशन आयोजना गरिएको हुन्छ । अहिले केही नेताहरूले केही पदमा आकांक्षा राखेको सुनिएको छ । महाधिवेशनको हलमा पुग्दा यो अवस्था रहन्छ कि सेटल भइसक्छ म भन्न सक्दिन । मलाई लाग्छ, पार्टीमा सकेसम्म सर्वसहमत हुन्छ, प्रतिनिधि  र आम कार्यकर्ताको चाहाना र भावना पनि यहि रहेको देखिन्छ ।

तीन महिना अघि बिधान महाधिवेशनले पास गरेको विधान कार्यान्वयन हुन्छ । भदौ २३ र २४ को घटनालाई देखाएर पार्टीमा विवाद गर्नु जरुरी छैन । त्यो एउटा घटना हो । आन्दोलन होइन । हरेक घटनाबाट पार्टी बिचलित हुने, नेता विचलित हुने हो भने एमाले कसरी बलियो हुन्छ ? त्यसैले गोदावरीको हलबाट निस्कदै गर्दा जुन प्रकारको समझदारी भएको थियो । त्यो कार्यान्वयन गर्नुपर्दछ । केही नेताहरूले नेतृत्वको आकांक्षा राख्दैमा त्यसलाई लाइन संघर्षको लेपन लाउनु उचित होइन ।

फेरि जेनजीका नाममा भएको विध्वंसकारी आन्दोलन वा घटना बारेमा केन्द्रिय कमिटीले एक मतका साथ धारणा अघि सरिसकेको छ । त्यो नै पार्टी धारणा र निर्णय हो । विभिन्न कारणले गर्दा देशमा देशको यो संकटपूर्ण स्थितिमा सहमतिबाट नेतृत्व निर्माण होस् भन्ने छ ।

आमपार्टी पंक्तिको मुड देखिएकै सकेको छ कि यो संकटपूर्ण अवस्थामा चाहिँ हामीलाई अझ केही समय केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ भन्ने उहाँकै नेतृत्वमा सबै नेताहरूको ब्यवस्थापन होस् भन्ने प्रतिनिधिहरू र आम कार्यकर्ताको भावना र चाहाना रेहेको देखिन्छ । केन्द्रीय कमिटीले पनि एक ढंगले त्यो व्यक्त गरेकै छ । विधान महाधिवेशनमा पनि त्यो प्रकट भएको छ । अहिले प्रतिनिधि चयनमा पनि त्यो देखिएको छ । यद्यपि अन्तिम फैसला त फेरि महाधिवेशनले नै गर्ने हो ।

परिवर्तित परिस्थितिमा केन्द्रीय कमिटीमा आउनेहरू कस्तो हुनुपर्छ ? को आउनु पर्छ ?

यो परिवर्तित परिस्थिति भनेको के हो ? एमालेको जीवनमा धेरै कुरा परिवर्तन भएको छैन । तपाईंले भदौको आन्दोलनतर्फ संकेत गर्न खोज्नु भएको होला । अनि युवाका मुद्दाको कुरा गर्न खोज्नु भएको होला ।

‘युवा सहभागीका लागि नेकपा एमाले देशको ट्रेन्ड सेटर पार्टी हो ।’ किनकि हामीले दुई वर्ष अघि देखि नै हरेक कमिटीमा युवाको सुनिश्चितता गर्दै आएका हौं । हाम्रा वडा कमिटीमा ३३ प्रतिशत ४० वर्ष भन्दा मुनिका युवाहरू हुनुहुन्छ । पालिका कमिटीहरूमा २५ प्रतिशत युवाहरू हुनुहुन्छ । जिल्ला र प्रदेश कमिटीमा १५ प्रतिशत युवाहरू हुनुहुन्छ । अब केन्द्रीय कमिटीलाई पनि युवामैत्री बनाउन अण्डर फोर्टीको आरक्षण गरेर प्रतिनिधि ल्याइएको छ । अब केन्द्रमा पनि ठुलो संख्यामा युवाको सहभागीता तपाईंले देख्नुहुनेछ । अनि एमालेमा महिलाको सहभागिता, युवाको सहभागिता, जनजाति, दलित, अल्पसंख्यकको सहभागिताका विषयमा एमालेबाट अरु पार्टीले सिक्नु पर्दछ ।

हाम्रो पार्टीमा सबै भन्दा ठूलो संख्या ४ देखि ५० वर्ष उमेर समुहको छ । यो उमेर समुह तल्ला कमिटीमा काम गरेर आएको बयस्क उमेर हो । त्यसैले यो उमेर समुहमा नयाँ जिम्मेवारी लिने जोश र त्यसलाई फत्ते गर्ने अनुभव पनि हुन्छ । त्यसैले युवा, बयस्क, ज्येष्ठ सबै उमेरका मान्छे एमालेमा हुनुपर्दछ । हावाका भरमा पार्टी जति सबै युवाले कब्जा गर्नुपर्दछ भनेर हामी भन्दैनौ । तर भविष्यमा पार्टी कमाण्ड विकासका लागि युवाहरूलाई केन्द्रीय कमिटीमा लैजानु पर्दछ । अघिल्लो पुस्ताको अनुभव,हाम्रो पुस्ताको जोश र हामी भन्दा तल्लो पुस्ताको आधुनिक सोचाइबाटै एमालेले हाइट लिन सक्छ ।

जेन जी आन्दोलनपछि पार्टीले सैद्धान्तिक निष्कर्षहरू बारे केही गर्नुपर्छ ?

मैले अघि पनि भनिसके । अहिले जेनजीहरू ले उठाएका माग एमालेले धेरै अघि देखि उठाइरहेको छ । सुशासन एमालेको माग हो । भष्ट्राचार नियन्त्रण एमालेको माग हो । राजनीतिमा युवा सहभागिता एमालेको माग हो । संविधानमा किटान गरेर राज्यका सबै अंगमा ३३ प्रतिशत सहभागिता एमालेको माग हो ।

प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्दछ भन्ने जनताको बहुदलीय जनवादको अनुशरण गर्ने पार्टी हो एमाले । मार्क्सवाद–लेलिनवादलाई अनुशरण गर्ने पार्टी हो, एमाले । त्यसैले कुनै एउटा घटनाबाट उत्तेजित भएर सिद्धान्त बदल्ने कुरा एमाले जस्तो विरासत भएको पार्टीमा संभव छैन । बरु एमालेले जनजीविकाका सवाललाई थप बलियो बनाउनु पर्दछ । कृषिको आधुनिकिरण, किसानलाई मल बीउको व्यवस्था, युवालाई रोजगारी, उद्यमीलाई उद्यमको वातावरण, विद्यार्थीलाई आफूले चाहे जस्तो पढ्ने वातावरण एमालेका सैद्धान्तिक प्राथमिकताका विषय हुन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई सफल पार्ने कुरा एमालेको सैद्धान्तिक विषय हो । यसलाई कार्यन्वयन गर्ने दायित्व हामी आम पार्टी सदस्यहरूको हो ।

तपाईले आफ्नोबारे केही सोच्नु भएको छ ?

म पनि आम मानिस नै हुँ । त्यसैले आम मानिससँग मेरो स्वभाव मिल्छ । म मोही माग्ने ढुंग्रो लुकाउने कुरा पनि गर्दिन । राजनीति गरेको ३५ वर्ष हुन लाग्यो । विभिन्न जिम्मेवारीमा बसेर कुशलतापूर्वक निवार्ह गरेर आएको छु । पार्टीको प्रवक्ताको रुपमा रहेको प्रेस चौतारी नेपालको सफल अध्यक्ष भएर बाहिरिएको हुँ । भूगोलमा मसिनो गरी काम गरेको छु ।

बेला मौकामा पार्टी र अध्यक्षले अघि सारेका नीति र बिचारको व्याख्या गरेर आलेखहरू मार्फत पार्टी कार्यकर्ता र आम जनतामा पार्टी सन्देश प्रवाह गरेकै छु । अहिले केन्द्रीय कमिटीमा भएका कतिपय कमरेड हिजो मेरा कार्यकर्ता नै हुन् । उहाँहरूको भूमिका भन्दा मेरो भूमिका कुनै मानेमा कमी छैन । जागिर वा व्यापारतिर नलागी राजनीतिलाई सबै समय दिइरहेको छु । यस्तो बेलामा अब मैले केन्द्रीय सदस्यको दाबी स्वभाविक रुपमा रहन्छ । पार्टी नेृतत्वले मेरो दाबीलाई अन्यथा मान्छ जस्तै मलाई लाग्दैन । हामी जस्ता युवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्नु भनेको नेतृत्वलाई नै सहयोग नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?