News Summary
Generated by OK AI. Editorially reviewed.- इटाली क्रिकेट फेडेरेसनले जो बर्न्सलाई टोलीमा नसमेट्दै वेन म्याड्सनलाई सन् २०२६ को टी-२० विश्वकपका लागि कप्तान बनाएको छ।
- म्याड्सन जनवरीमा आयरल्याण्डसँगको द्विपक्षीय सिरिज र फेब्रुअरीमा भारत र श्रीलंकामा हुने विश्वकपमा इटालीको नेतृत्व गर्नेछन्।
- इटाली समूह 'सी' मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेशसँग परेको छ र पहिलो खेल फेब्रुअरी ९ मा बंगलादेशसँग हुनेछ।
२ पुस, काठमाडौं । अस्ट्रेलियाका पूर्वखेलाडी जो बर्न्स इटालीको टी-२० विश्वकप टोलीमा समावेश नहुने भएका छन् । इटाली क्रिकेट फेडेरेसनले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा वेन म्याड्सनले इटालीको नेतृत्व गर्ने पुष्टि गरेको हो।
फेडेरेसनले जारी गरेको विज्ञप्तिमा म्याड्सनलाई नै कप्तानका रूपमा निरन्तरता दिइएको उल्लेख छ। उनी जनवरीमा आयरल्याण्डसँग हुने द्विपक्षीय सिरिज र फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा इटालीको नेतृत्व गर्नेछन्। इटालीका लागि यो क्रिकेटको कुनै पनि स्तरमा पहिलो विश्वव्यापी प्रतियोगिता हो।
म्याड्सनसँग अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटको राम्रो अनुभव भएको र उनी पहिले नै इटालीका लागि टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकाले कप्तानी दिइएको फेडेरेसनले जनाएको छ । टिमभित्रको नेतृत्व समूहमा उनी महत्वपूर्ण भूमिकामा रहेको जनाइएको छ।
यसअघि जो बर्न्सकै कप्तानीमा इटाली पहिलोपटक टी-२० विश्वकपमा छनोट भएको थियो । जो बर्न्सलाई टोलीमा नसमेट्नुको कारणबारे स्पष्ट पार्दै फेडेरेसनले उपलब्धता र सम्झौतासम्बन्धी छलफल भएपनि अन्तिम सहमति नजुटेको र औपचारिक सम्झौता नभएको जनाएको छ।
साथै, टिमको स्थायित्व, सामञ्जस्य र निरन्तरताका लागि म्याड्सनलाई कप्तान बनाउने निर्णय गरिएको बताइएको छ।
इटाली क्रिकेटका लागि खेलाडी र कप्तान दुवै रूपमा योगदान पुर्याएकोमा जो बर्न्सप्रति फेडेरेसनले आभार पनि व्यक्त गरेको छ।
विश्वकपमा इटाली समूह ‘सी’मा नेपालसँगै परेको छ । समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश पनि छन् ।
इटालीले टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी ९ मा बंगलादेशसँग कोलकातामा खेल्ने छ ।
-आईसीसीबाट
प्रतिक्रिया 4